+
+

फेसबुकमा भेटिएकी चेलीले ‘आइ लभ यु’ भनेपछि…

‘मिस्टर युग, अनफ्रेन्ड हुने प्रयास नगर्नुस्, एउटा आइडी अनफ्रेन्ड भए पुनः रिक्वेस्ट पठाउछु । ब्लक भए अर्को आइडी छँदैछ ।’ फ्रेन्ड रिक्वेस्टसँगै आएकोे म्यासेजले झस्किएको छु । आखिर के कारण फेरि रिक्वेस्ट पठाउँदैछिन् ? अझ भन्दैछिन् मिस्टर युग । आजसम्म मलाई कसैले भनेको थिएन मिस्टर युग ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २८ गते १७:०१

facebook-mobile-more-than-desktopयुग लामिछाने

‘मिस्टर युग, अनफ्रेन्ड हुने प्रयास नगर्नुस्, एउटा आइडी अनफ्रेन्ड भए पुनः रिक्वेस्ट पठाउछु । ब्लक भए अर्को आइडी छँदैछ ।’ फ्रेन्ड रिक्वेस्टसँगै आएकोे म्यासेजले झस्किएको छु । आखिर के कारण फेरि रिक्वेस्ट पठाउँदैछिन् ? अझ भन्दैछिन् मिस्टर युग । आजसम्म मलाई कसैले भनेको थिएन मिस्टर युग ।

मैले उनलाई पहिले नै भनेको थिएँ ‘राम्रोसँग पढ, लब-सबको चक्कर छाड, तिमी बच्चै छ्यौ ।’

आज उनैको फेसबुकबाट पुनः रिक्वेस्ट आएको देखेर म सोच्न बाध्य भएँ । के गराैं यो फेसबुकलाई ? सारा संसार रमेको फेसबुकमा म पनि रमेकै छु । कुनै दिन छैन, फेसबुकमा हाजिरी नलगाइएको होस् । जसोतसो चलेकै छ । समय गुजार्ने बाटो फेसबुक छँदैछ ।

सारा दुनियासँग रम्दै गर्दा कहिलेकाहीँ नसोचेको पनि हुँदोरहेछ । जया केसी फेसबुकमा नै भेटिएकी थिइन् । दसैंपछिको काठमाडौंको बिहान केही चिसो लाग्दैथ्यो । छतको कोठाबाट भर्खर उठेर हातमुख धोई चियाको सुर्की लिएसँगै हातमा मोबाइल बोकेर घाममा निस्किएको थिएँ ।

फेसबुक खोलेर म्यासेज बक्स हेर्दै थिएँ । कुनै नयाँ नामबाट म्यासेज आएको रहेछ, ‘मे आई क्यान बी योर फे्रन्ड ? जया केसी ।’
नौलो अनुहार भएकी फुच्ची केटीको रिक्वेस्टसहित आएको म्यासेज हेरें, फ्रेन्ड रिक्वेष्ट एक्सेप्ट गरेँ अनि फोटो खोलेँ । बिलकुल अपरिचित अनुहार थियो । १४-१५ वर्षको लाग्ने अनुहार भएको प्रोफाइल पिक्चर । कल्कलाउँदो उमेरमा जस्तो मान्छे पनि राम्रो हुन्छ रे । केही थेप्चो नाक, मोटो अनि गोलो अनुहार, पुक्क उठेका राता गाला, गहुगोरो वर्ण, ओठ रातै देखिने गरी लिपिस्टिक, काला आँखामा हल्का गाजल, केही कैलो कपाल, अनि त के चाहियो ? उनको रुप राम्रो मात्र होइन, अत्यन्तै सुन्दर देखिन्थ्यो । तुरुन्तै फोटो लाइक गरें ।
मैले लाइक गर्नासाथ म्यासेज आयो, ‘हाइ, हाउ आर यु ?’
रिप्लाई गरेँ, ‘एम फाइन, एन्ड यु ?’
‘म पनि ठीक छु, चिया पिउनु भो ?’
‘पिएँ, कसरी चिन्नु भो मलाई ?
‘कस्तो कसरी चिन्नु नि, फेसबुक छैन ?’
‘हैन, न कहीँ चिनेर रिक्वेस्ट पठाउनु भो कि भनेर नि ।’
‘नचिनेको भए नबोल्ने हो ?’
यसले त प्रश्नमाथि प्रश्नको खात थुपार्दै छे । झ्याउ लागेर फेसबुक बन्द गरें । तर, मन थिगि्रएन । बेचैन भएर फेरि लग इन गरेँ ।
लग इन गर्नासाथ पुन उताबाटै आयो, ‘कता बेपत्ता ?’
मैले सोधेँ, ‘तपाईको घर कहाँ ?’
‘धादिङ’
‘कहाँ बस्नु हुन्छ ?’
‘भक्तपुर ।’
अब उनले सोधिन्, ‘तपाईको चाहिँ घर कहाँ हो त ?’
ढाँटेरै भनिदिएँ, ‘काठमाडौं ।’
‘के गर्नु हुन्छ ?’
‘पढ्छु ।’
केहिबेर दुवै जना मौन भयौं ।
एकछिनमा उताबाट आयो, ‘स्याङजाली फटाहाले घर काठमाडौं भन्ने !’
लौ फर्साद पर्‍यो । प्रोफाइल हेरि छ ।
‘होम टाउन स्याङजा, करेन्ट सीटी काठमाडौं’ भनिदिएँ । अनि सोधें, ‘कतिमा पढ्छेउ ?’
‘८ कक्षामा ।’
मैले मन मनै सोचेँ, ८ कक्षामा पढ्ने केटी यत्रोबेर किन फेसबुकमा झुण्डिएर बसेकी होली ? यसका बाबुआमा पनि कस्ता हुन् ?
त्यसपछि भनेँ, ‘ए ल ल, राम्रोसँग पढ । धेरै फेसबुक मा नझुन्डिउ ।’

सोचेँ, आफ्नो पनि त मंसिरमा परीक्षा आएको थाहा हुँदा हुँदै फेसबुकमै बरालिएको छु नि । आफैसँग भनेँ, ‘तँ पनि नझुण्डी फेसबुकमा, घरबाट बुवाआमाले जेनतेन पठाएको पैसाले काठमाडाैंमा पढ्न बसेको छस् । अनि फेसबुकमा टाइमपास ?’ आफैंसित झोक चलेर फेसबुक बन्द गरेँ र कोठामा छिरेँ । पढ्न बसेँ, मनमा त्यही फुच्चीका कुरा खेल्दै थिए । तर, पनि ध्यान पढाइमा मोड्ने प्रयासरत रहेँ ।

बेलुका खाना खाएर बिस्तारामा पल्टेपछि पुनः फेसबुक खोलेँ । फेरि उनको म्यासेज देखेँ, ‘तपाई पढ्नु न मेरो टेन्सन किन ?’ म अफलाइन भइसकेपछि पठाएको म्यासेज रहेछ ।

अहिले पनि उ अनलाइनमै थिई । म्यासेज गरी, ‘खाना खानु भो ?’
‘अँ खाएँ, अनि तपाईले ?’ तिमी भनेको भए पनि हुन्थ्यो जस्तो लाग्यो ।
‘खाएँ मैले पनि ।’
म अलिकति जिस्किने मुडमा आएँ । सोधेँ, ‘के गर्दैछ त सुपर ब्युटी फुच्ची ?’
‘वाउ ! ब्युटी फुच्ची रे । दाइले छुच्ची भाइले फुच्ची, खुसी लाग्यो, रियल्ली हो ?’ उ एकाएक उत्साहित भई ।
‘रियल्ली भनेको, यती राम्री डल्ली-डल्ली फुच्ची छौ ।’
‘निद्रा लागेको छैन ?’ उसले विषय परिवर्तन गर्न खोजी ।
‘लागेको छ नि । म सुतेँ भने तिमीसित कसले कुरा गरिदिन्छ ?’
‘ल सुत्नुस् फेरि निन्द्रादेवी भागेर रातभर निन्द्रा नपर्ला ।’
म नजानिँदो गरी रोमान्टिक हुँदै गएँ । लेखेँ, ”के भो त, छल देवी आए तिम्रो काखमा सुत्न आउला नि ।’
फुच्चीको रिप्लाई आएन । फेरि आफैंले भनेँ, ‘टन्न काखमा निदाउन पाउँछु, टाइट एन्ड वार्म हग, एन्ड ………’ अलि बढी लेखेँ कि झैं पनि लाग्यो । तर, मेरो ‘एन्ड’ ले काम गर्‍यो ।
उताबाट प्रश्न आयो, ‘एन्ड….?’
‘एन्ड… आफैं सोच न ।’
उसले भनी, ‘दाजुभाइ नै उस्तै इडिएट्स रैछन् ।’
हैन, को दाजुभाइ भन्दै छे यो भनेर चकित परेँ । उसको प्रोफाइल हेरँे, गाउँका कुनै लामिछाने बन्धु पनि म्युचुअल फ्रेन्ड रैछन् । उनी अनलाइनमै थिए ।
बन्धुलाई सोधेँ, ‘को हो बन्धु यो जया भन्ने ?’
उनले भने ‘खै उतैबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो, एक्सेप्ट गरिदिएँ ।’
अनि गफ पनि भयो ?
अँ ।
के-के सोधी ?
‘युगलाई चिनेको छौ ? भन्थी, मैले मेरो भाइ हो भनिदिएँ ।’
अच्छा, कुरा बुझियो । यतिबेला उ मसित मात्रै होइन, बन्धुसँग पनि गफ गर्दै रैछे । गफैगफमा बन्धुले छुच्ची भनिदिएछन् ।
फेरि फुच्चीको म्यासेज आयो, ‘कता बेपत्ता ?’
मैले भनेँ, ‘बेपत्ता छैन । साथीको फोन आएको थियो ।’
‘ए ए, तपाईको मोबाइल नम्बर दिनु न । तपाईलाई भेट्न मन छ ।’
उफ् के भन्छे यो । ठीकै छ । उ भेट्न चाहन्छे भने मलाई के छ । नम्बर लेखिदिएँ ।
उसको म्यासेज आयो ‘तपाईंको नम्बर फ्ल्यास गर्दिउँ ?’
झसँग भएँ । ‘हेई डन्ट बी सील्ली’ भनेँ । मनमनै सोचेँ, के तालकी केटी रैछे ।
अनि आफैंले भनेँ, ‘भोलि भेट्न आउँछु, कुन ठाउँ आउँ ?’
भनी, ‘भोलि हैन, पर्सि । म कल गर्छु । अनि सूर्यविनायक आउनु ।’
०००
सूर्यविनायक बसस्टप गाडीबाट झर्दै गर्दा देखेँ, उही चुटुक्कको अनुहार । हातमा व्यागसहित रातो ज्याकेट र नीलो जिन्समा सजिएकी थिई । अगाडि हात बढाउँदै हाई भनी । म मस्किएँ । उसले सोधी, ‘बाइक खोइ त ?’

म ट्वाँ परेँ ।
‘गाडीमा पो आएको ?’
मैले मुन्टो हल्लाएँ ।
मैले सोधेँ, ‘कहाँ जाने त ?’
‘कहाँ लान बोलाएको ?’ प्रतिप्रश्न गरी ।
म अघि लागेँ । फुच्ची मेरो पछिपछि आई । गणेश मन्दिरनेरको उकालो पुग्नै लाग्दा भनी, ‘चकलेट खाने ।’
खल्तीमा हात हालेँ । १०० को नोट निस्कियो । उसको हातमा थमाएर भने, ‘आफैं किनेर ल्याउ ।’
खै, कतिको डेरी मिल्क किनी, चानचुन पैसा हातमै ल्याएर फिर्ता दिई ।
०००
गणेश मन्दिर माथिको चौतारो । म चौतारामा बसेको छु, उ मेरो अगाडि उभिएकी छे । गफको विषय पनि खासै केही छैन । सोधेँ, ‘के गर्ने त अब ?’
‘के गर्न बोलाएको हो त ?’ पो भन्छे ।
मैले भने, ‘तिमीले नै भेट्न मन त भनेको होइन ?’
उ बिस्तारै नजिक आई । बोलेकी छैन । एउटा हातले मेरो चिउँडो समातेर उठाई । नाकै ठोकिएला जस्तो गरी उसको अनुहारलाई मेरो अनुहार नजिक ल्याई । अनि, मधुरो स्वरमा भनी, ‘आइ लभ यु ।’
उसको अप्रत्याशित शब्दले म फतक्कै गलेँ । जीवनमा पहिलोपटक कुनै केटीले आई लभ यू भनेकी थिई । त्यो पनि पहिलो भेटमै । मनभित्र आँधी हुरी चलेझैं भयो । तर, सोचें, भर्खर आठ कक्षामा पढ्ने फुच्ची पो हो त यो ।
उ मेरो साइडमा बसी, सायद जवाफको प्रतिक्षामा ।
मैले सोधेँ, ‘परिवारमा को को छौ ?’
‘मम्मी, बाबा, भाइ र म ।’
‘कति वर्ष भयौ ?’
‘१५ बर्ष ।’
‘१५ बर्षमै लबको कुरा गर्ने हो त ?’
‘मेरा साथीहरुका त २/४ जना ब्वाई फ्रेन्ड छन् । म मात्रै हो सिंगल ।
‘भनेपछि साथीको देखासिखी गरेको ?’
‘होइन, हार्टली माया गर्छु हजुरलाई’ पो भन्छे ।
‘अरु कतिजनालाई हार्टली माया गर्छेउ ?’
‘कोही छैन । हजुर मात्रै हो ।’
म आजित भएँ । अझै नजिक टाँसिएर उसलाई अंगालो मारेँ । उसले मुन्टो निहुर्‍याई ।
मैले सम्झाएँ, ‘अहिले सानै छ्यौ । राम्रोसँग पढ । अलि ठूली भएपछि लभ गर्ने । हुन्छ ?’
उसले अनुहार अँध्यारो बनाई । उधुमै माया लागेर आयो । स्नेहपूर्वक उसको गाला सुम्सुम्याइदिएँ । उनको आँखामा आँशु भरिएको थियो ।
‘परिवारमा केही समस्या छ हो ?’
‘होइन । सबैले माया गर्नुहुन्छ । बस, हजुरको माया पाउन चाहन्छु । सधैंलाई हजुरको हुन चाहन्छु ।’
उ मेरो घुँडामा घोप्टो परी । मैले कपाल चलाइदिएँ ।
‘जाउँ अब,’ मैले भने । उ प्रतिक्रियाविहीन भई ।
०००
बेलुकी उनै लामिछाने बन्धुसँग फेसबुकमा भेट भयो । उनले सुनाए, ‘त्यो केटीले त मलाई भेट्न बोलाई यार ।’ मनमनै बन्धुको जय होस् भन्दै जया केसीको प्रोफाइल खोलेर अनफ्रेन्ड गरिदिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?