Comments Add Comment

नेवानि भन्छ- तेल बोक्ने ठेक्का होइन, आयल निगम भन्छ- बोक्नैपर्छ

Nepal-Airlines

नविन अर्याल
४ मंसिर, काठमाडौं । विमानबाट हवाइ इन्धन ओसार्नेबारे सरकारका दुई निकाय नेपाल वायुसेवा निगम र नेपाल आयल निगमवीच विवाद सुरु भएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेवानि) ले नेपाल आयल निगमसँग हवाइ इन्धन बोक्ने सम्झौता नभएको दाबी गरेको छ । संकटको बेलामा अत्यावश्यक आन्तरिक उडान सुचारु राख्न निगमलाई सक्दो सहयोगमात्र गरेको उसको भनाइ छ ।

आयल निगमका हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादव भने नेपाल एयरलाइन्सले दैनिक ३ उडान गरेर हवाइ इन्धन बोकिदिने सम्झौता गरेको दाबी गर्छन् । इन्धन ल्याउनका लागि नेपाल एयरलाइन्सलाई १३ करोड एडभान्स रकम बुझाए पनि विभिन्न बाहाना गरेर सम्झौता अनुसार इन्धन नबोकिदिएको उनको आरोप छ ।

तर, वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार भने पायक परेका बेलामा बढीमा ४ वटासम्म उडान गरेर इन्धन बोकिदिने कुरामात्र भएको बताउँछन् । जहाज ग्राउन्डेड भएको वा व्यस्त भएका बेलामा पनि इन्धन बोकिदिनुपर्छ भन्ने आयल निगमको भनाइ गलत भएको उनको भनाइ छ ।

‘आयल निगमले हवाइ इन्धन बोकिदिन अनुरोध गर्‍यो, हामीले संकटको बेला सहयोग गरेका हौं’ नेपाल एयरलाइन्सका महाप्रबन्धक कंशाकारले अनलाइनखबरसँग भने- ‘हामीले यति नै इन्धन बोकिदिने भनेर कुनै सम्झौता गरेका छैनौं ।’

निगमसँग चारवटा जहाज भए पनि एयरबसमा धेरै इन्धन नअटाउने हुँदा दुईवटा बोइङले मात्र बोक्न सक्छन् । एकपटकको उडानमा २२ हजार लिटर इन्धन ल्याउन मिल्छ । अहिलेसम्म नेपाल एयरलाइन्सले ६०/६२ वटा उडान गरी इन्धन बोकिसकेको छ ।

‘करिव ३ हप्ता अगाडिको एउटा मिटिङमा आयल निगम र वाणिज्य सचिवलाई इन्धन बोक्ने वैकल्पिक व्यवस्था गर्नुस, सधै हामीले मात्र बोक्न सक्दैनौं भनेर स्पष्ट भनेको थिएँ’ कंशाकारले भने- ‘अहिलेसम्म उहाँहरुले बैकल्पिक व्यवस्था गर्न सक्नुभएको छैन, हामीलाई मात्र दोष दिएर हुन्छ ?’

महाप्रबन्धक कंशाकारले नियमित उडान कटौती गरेर हवाइ इन्धन बोक्न नसक्ने स्पष्ट पारे । ‘इन्धन बोइङले मात्र बोक्न सक्छ, अहिले एयरबसका पाइलट ट्रेनिङमा गएका छन्, एयरबस उड्ने गन्तव्यमा बोइङ उडाउनु परेको छ’ उनले भने- ‘हामीले सकेको २/३ वटा उडान गरेर इन्धन बोकिदिएकै छौं, हामीमाथि पूर्ण निर्भर भएर हुन्छ त ?’

एयरबसको पाइलट ट्रेनिङमा गएका र बैंगलोरमा बोइङ उडाउनुपरेको हुँदा तेल बोक्न नसकेको नेपाल एयरलाइन्सका प्रवक्ता शर्माले बताए । शुक्रबार भने दुर्इवटा उडान गरेर इन्धन बोकिदिने तयारीमा नेपाल एयरलाइन्स रहेको छ ।

‘हामी तेल बोक्ने ट्यांक नहुँदा नहुँदै राष्ट्रमा संकट परेको भन्दै इन्धन बोकिदिएका छौं, दशैं तिहार जस्तो महत्वपूर्ण चाडपर्वमा हामीले इन्धन बोकेर अान्तरिक उडान सुचारू राख्न मद्दत गर्‍यौं’ प्रवक्ता शर्माले भने- ‘अहिले हामीलार्इ , आयल निगमले इन्धन ल्याउने तिमीहरूले ठेक्का लिएका हौ, नल्याइ हुन्न भनेजस्तो गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment