Comments Add Comment

अब भारतलाई हेर्नेबारे नेपालको संसदमा बहस गर्ने हो कि ?

Rajya-Sava-India

समाचार टिप्पणी

२२ मंसिर काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा सोमबार नेपाल मामिलालाई लिएर मोदी सरकारको कडा आलोचना भयो, जसलाई धेरै नेपालीहरुले स्वाद माने । मंगलबार बिहान राजधानीका चिया पसलसमेत यही गफ भयो कि मोदी सरकारलाई त उसैको संसदमा राम्रै विरोध भो । झट्ट हेर्दा र सुन्दासम्म भारतीय संसदमा देखिएको पनि त्यही हो ।

झण्डै चारघण्टा लामो राज्यसभाको बहसमा भारतीय सांसदहरुले केही भावनात्मक कुरा गरे । नेपालमा मानवीय संकट आएको छ, ग्यास छैन, औषधि छैन, तेल छैन इत्यादि मात्रै भनेनन्, बोल्ने सांसदहरुले नेपाल सार्वभौम देश हो भने । यद्यपि भारतीय संसदहरुको सबैभन्दा ठूलो चिन्ता अर्कै थियो । जुन नेपालका लागि निकै अर्थपूर्ण छ ।

भारतीय हस्तक्षेप बढाउनुपर्ने साझा निश्कर्ष

भारतीय संसदमा मोदी सरकार र नाकाबन्दीको विरोध हुँदैमा नेपालीहरुले खुशी हुनुपर्ने स्थिति देखिएन । किनभने संसदमा बोल्ने १४ सांसदमध्ये अधिकांशको राय एउटै थियो कि नेपालमा भारतीय हस्तक्षेप र प्रभाव अरु बढाउनुपर्छ ।

केही अपवादलाई छाड्ने हो भने सबै भारतीय सांसदको साझा चिन्ता थियो, नेपालको राजनीति अहिलेसम्म भारतको ‘नियन्त्रणमा’ थियो, नेपालमा कुनै समस्या भए हामीले मिलाइदिने गरेका थियौं । तर, योपटक किन भएन ? अर्थात नरेन्द्र मोदी सरकारलाई उनीहरुको प्रश्न थियोः नेपालको आन्तरिक मामिलामा हाम्रो -भारतको) हस्तक्षेपले किन काम गरेन ? किन भारतको भूमिका र हस्तक्षेप कम हुँदै गयो ?

जनता दल युनाइटेडका सांसद पवन बर्माले राज्यसभामा नेपाल-भारत सम्वन्धबारे बहस सुरु गरे । झण्डै २० मिनेट बोलेका उनले मोदीमाथि १० आरोप लगाए, केही भावनात्मक कुरा गरे । तर, भुटानका लागि पूर्व राजदूत रहेका उनको निष्कर्ष थियो-‘हाम्रो हस्तक्षेप शान्ति, स्थिर नेपालका लागि हुनुपर्छ । नेपाल तेस्रो पक्षको हातमा नजाओस् ।’

कांग्रेस नेता करण सिंहले आफूलाई नेपालको ज्वाइँका रुपमा प्रस्तुत गरे । र, नेपाल सार्वभौम मुलुक हो भनेपनि उनको चिन्ता नेपालमा भारतको भूमिका किन असफल भयो भन्ने मात्र थियो ।

राणा शासन अन्त्य गर्ने बेला राजा त्रिभुवन भारतीय दूताबासमा आएको भन्दै उनले यो पटक भारतीय हस्तक्षेपले किन काम गरेन ? हाम्रो सरकारको एजेन्सीहरु कहाँ छन् ? भन्ने प्रश्न गरे । नेपालमा संविघान घोषणा गर्नु दुई दिनअघि मात्र विशेष दूतलाई पठाउनु गैरकूटनीतिक बताएका उनले समेत जयशंकर जानुभन्दा पहिले नै नेपालमा गएर हस्तक्षेप गर्नुपथ्र्यो भन्ने आशय व्यक्त गरे । उनले भने-सत्तारुढ पार्टी र सरकारलाई भन्नुपर्छ, अन्तरिम संविधान भन्दा पछाडि कसरी जान सकिन्छ ?’

सांसद सलिम अन्सारीले त नेपाल सानो भाइ र भारत ठूलो दाइ हो भने । नेपालसँग सम्वन्ध विगि्रयो भने हामीले एक भाइ गुमाउँछौं भन्दै उनले अब मधेसीहरु उच्चपदमा जान नसक्ने दाबी गरे । सांसदले उठाएको प्रश्नको जवलाफ दिने बेलामा विदेशमन्त्री सुष्मा स्वराजले पनि ठुल्दाजु नभएर जेठो दाजुको संज्ञा दिइन् । सांसद भूपेन्द्र सिंहले भने कि आजसम्म पनि नेपाललाई भारतको भाग नै सम्भिmरहृयौं । खुला सीमा छ, जान भिसा लाग्दैन ।

भारतले होइन, मोदी सरकारले नाकाबन्दी गरेको भनेका सांसद मणिशंकर अथ्यरले पनि हस्तक्षेपकारी भूमिकामै जोड दिए । उनले करण सिंहलाई नेपाल पठाउन सुझाव दिए, जो दोस्रो जनआन्दोलन उत्कर्षमा पुगेका बेला राजा र दलहरुबीच सम्झौता गराउन नेपाल आएका थिए ।

यो सबै हेर्दा भारतीय सांसदहरुको चासो नेपाल सर्बभौम मुलुक हो, हस्तक्षेप गर्नुहुँदैन भन्ने होइन । किन हस्तक्षेप भयो भन्ने देखिन्छ ।

मोदीको आलोचनामा खुशी हुनु बेकार

भारतीय विपक्षी दलका सांसदहरुले मोदीको नेपाल नीति असफल भएको र नाकाबन्दी एवं मानवीय संकट सिर्जना गरेर नेपालमा भारतविरोधी भावना बढाएको भने पनि त्यहाँको बहसलाई हेर्दा नेपालीले खुशी हुनुपर्ने कारण देखिँदैन । सबैभन्दा ठूलो कुरा नाकाबन्दी र मानवीय संकट कम गर्नेतिर मोदी सरकारले पाइला चाल्यो भने त्यसले नेपाललाई सामान्य राहत दिन सक्दा ।

तर, यो पनि विचारणीय छ कि भारतीय सत्तापक्ष र विपक्षी दलका सांसदहरुले साझा विदेश नीतिको वकालत गरिरहेका छन् । विदेश नीतिको सवालमा राष्ट्रिय सहमतिको हुनुपर्ने भारतीयहरुले जोड दिँदै आएका छन् । नेपालको सन्दर्भमा पनि उनीहरु यस्तै साझा नीतिको खोजीमा छन् भन्नेकुरा मंगलबारको राज्यसभाको बहसले स्पष्ट पारेको छ । त्यो साझा नीति भनेको नेपाललाई फकाउने र भारतको समर्थन एवं प्रभाव कायमै राख्ने भन्ने नै हो ।

भारतीयहरुले आफ्नो संसदमा बहस गरेजस्तै अब हामीले पनि भारतलाई हेर्ने र उसित व्यवहार गर्ने साझानीति बनाउन सक्दैनौं ? भारतलाई मध्यस्थकर्ता बनाउँदै दिल्ली दौडमा लागेका सत्तापक्ष र आन्दोलनरत मधेसी मोर्चा दुबै पक्षले अब नेपालको संसदमा उभिएर त्यसैगरी भारतलाई हेर्नेबारे बहस पो गर्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment