Comments Add Comment

एक रंगकर्मीको जिन्दगी: नाटक गर्दागर्दै झन्डै डिभोर्स भयो

Sushil Pokhrel (1)

सुनील पोखरेल, रंगकर्मी

जीवन कति हदसम्म नाटक हो र नाटक कति हदसम्म जीवन हो ? यो प्रश्नको जवाफ दिन म आजसम्म असमर्थ छु, अन्योलमा छु । नाटक र जीवनबीच मसिनो धर्सो देख्छु, त्यो धर्सोलाई कहिले यता, कहिले उता नाघिरहेको हुन्छु । नाटक गरिसकेपछि नाटकका चरित्रले मेरो जीवनलाई लात्ताले हिर्काएका पनि छन् । म कुनै नाटकको चरित्र निभाउँछु, त्यो चरित्रले मेरो जीवन-चरित्रसँग जोरी खोज्छ । कहिलेकाहीँ त नाटकको चरित्रले मेरो जीवन-चरित्रलाई नै जित्न खोजेको छ ।

इब्सनको नाटक ‘अ डल्स हाउस’ अर्थात् पुतलीको घर, १९ अगस्ट २००३ मा पहिलो प्रदर्शन भयो गुरुकुलमा । जसमा मेरो निर्देशन थियो । र, मेरी श्रीमती निशा मुख्य चरित्र नोराको भूमिका थिइन् । यो नाटकको चरित्रमा डुबेरै हाम्रो सम्बन्ध-विच्छेद हुनै लागेको थियो । किनभने, यो नाटक नै यस्तै छ । यसबारे मैले एउटा आलेख नै लेखेको छु ।

यो नाटक र जीवनको कुरा भयो । त्यस्तै, शासकलाई रिझाउने नाटक गर्न सकिन्छ । वा, शासकलाई ऐना देखाउने नाटक पनि गर्न सकिन्छ, आ-आफ्नो आइडियोलजीअनुसार ।

नक्कली नाटककार बनेँ

विराटनगरमा नाटक राम्रै चल्थ्यो । त्यतिबेला प्रताप सुब्बाको ‘रातको प्रथम प्रहर’ नाटक धेरै दिनसम्म चलेको थियो, मैले पनि हेरेँ । त्यो बेला रमेश बुढाथोकी (अभिनेता) विराटनगरमा रंगकर्मीको रुपमा चिनिएको थियो । रमेश र म कलासमेट, दश कक्षा सँगै पढेका हौँ । आईएमा पनि हामी कलेजमेट हौँ । बद्री अधिकारी स्थापित रंगकर्मी हुनुहुन्थ्यो । रमेशले बद्रीदाइसँग मेरो चिनजान गरायो । एउटा नाटक चाहिएको रहेछ ।

साहित्यमा रुचि थियो मेरो । ९-१० पढ्दा स्कुलमा हुने साहित्यिक प्रतियोगितामा कथा, कविता लेखेर म प्रथम हुन्थेँ । महेन्द्र मोरङ क्याम्पसमा भएको कथा प्रतियोगितामा पनि प्रथम भएको छु, तर कथाको शीर्षक बिर्सें ।

खैर, मैले कथा-कविता लेख्छु भन्ने रमेशलाई थाहा थियो । उसले मलाई एउटा नाटक लेख्न भन्यो । तर, मैले नाटक लेखेकै थिइनँ, मलाई नाटकबारे त्यति ज्ञान पनि थिएन । विजय मल्लको ‘पर्खाल’ नाटक कोर्समा पढ्नुपर्थ्यो । मैले त्यसैको नक्कल गरेर लेखेँ । त्यो नाटक रमेशले बद्रीदाइ देखाएछ ।

बद्रीदाइले भेट्न बोलाउनुभयो । मैले नाटक नक्कल गर्नुभएको उहाँले थाहा पाउनुभएछ । भन्नुभयो, ‘यो नाटक त हामी गर्दैनौँ । तिमीले नक्कल गरेका हौ । तर, हाम्रो ग्रुपमा आऊ ।’

उहाँहरूको दियालो समूह थियो, नाटकका कलाकारको । म उहाँको समूहमा गएँ । उहाँहरूले देखाउने नाटकमा सानो भूमिका पाउँथे, केटाकेटीको । यो म १० कक्षा पढ्दाको कुरा हो । त्यति बेला त्यस्तै १३ वर्ष हाराहारीको थिएँ । दियालो समूहमा मैले दुई-तीनवटा एकांगी नाटक गरेँ ।

Sushil Pokhrel (4)

गोरखापत्रको सूचनाले मोड्यो जिन्दगी

०३६ सालको उत्तरार्द्धतिर प्रज्ञा प्रतिष्ठानमा नाटकको एकवर्षे तालिम खुल्यो । गोरखापत्रमा सूचना थियो, ठेगानासहितको, इच्छुकले निवेदन पठाउन सक्थ्यो । मैले र बद्री अधिकारी (अहिलेका चलचित्र निर्देशक) ले हुलाकबाट निवेदन पठायौँ र अन्तर्वार्ता दिन काठमाडौं आयौँ ।

म रंगमञ्चमा लाग्न खोजेको मेरो बुवालाई मन परेको थिएन । काठमाडौं जाने नै भइस्, बिग्रने भइस् भनेर तीन सय रुपैयाँ दिनुभयो, काठमाडौं आउन-जान पुगेको थियो ।

अन्तर्वार्ताको रिजल्ट गोरखापत्रमै छापियो, म उत्तीर्ण भएँ, बद्रीदाइ हुनुभएन ।

ओछ्यानमा खाना

बद्रीदाइ नाटकमा लागेको उहाँको बुवाले पनि मन पराउनुभएको थिएन । उहाँको स्वाभाविक चाहना हुँदो हो, छोरो पढे-लेखेर समाजमा गन्यमान्य भइदियोस्, तर नाटकमा नलागोस् ।

म नाटक क्षेत्रमा लागिसकेपछि थुप्रैपटक बद्रीदाइको घरमा बास बसेको छु । कहिलेकाहीँ हामी राति अबेर घरमा पुग्थ्यौँ । बद्रीदाइको बुवाले थाहा पाउनुहुन्छ कि भनेर हामी लुसुक्क छिथ्र्यौं । थाहा पाउनुभयो भने उहाँ कराउनुहुन्थ्यो । बद्रीदाइकी आमाले भने सुत्ने कोठामै खाना राखिदिनु हुन्थ्यो, छोराले सुटुक्क खाना खाएर सुतोस् भनेर । आमाको माया यस्तै हुन्छ सायद । थुप्रैपटक बद्रीदाइ र मैले खाना बाँडेर खायौँ ।

रंगमञ्च एक संयोग

Sushil Pokhrel (12)संयोग हो, रमेशको संगतले म रंगमञ्चमा आएँ । साँचो भन्दा मैले स्कुल र कलेजमा कहिल्यै अभिनय प्रतिभा देखाइनँ । मधेसतिर के चलन छ भने, सरस्वती पूजाको दिन विद्यालयमा नाटक देखाइन्छ । १० कक्षामा पढ्दा ‘कोही किन बर्बाद होस्’ नाटक देखाइने कुरा भयो, हेडमास्टर भोला सापकोटाले मलाई ध्रुवको भूमिका गर्न भन्नुभयो । लजाएर मैले खेल्दिनँ भनेँ ।

तर, १२-१४ वर्षको उमेरमा सबैले आफूलाई अभिव्यक्त गर्न खोज्दो रैछ । मैले धेरै साथीहरूको प्रेम-पत्र लेखिदिएको छु, ९-१० कक्षामा पढ्दा । यो पनि आफूलाई अभिव्यक्त गर्ने एउटा तरिका रैछ । मैले प्रेम-पत्र लेखेर धेरैको प्रेम परेको छ । कसै-कसैले कुटाइ पनि खाएका छन् । प्रेम नस्विकार्नेले त कुट्ने नै भए ।

नौलादेखि नाटकसम्म

खोटाङको नौला गाउँमा जन्मेको हुँ, जिम्मावाल खान्दानमा । मेरो जन्म २०२० सालको हो । पहाडमा चामलको भात खान पुग्ने जग्गा थियो हाम्रो । हजुरबुवा विष्णुप्रसाद पोखरेल जिम्मावाल हुनुहुन्थ्यो । बुवा एकनाथ पोखरेल पनि जिम्मावाल हुनुहुन्थ्यो ।

खै के कारणले हो, पछि बुवाले जिम्मावालको जिम्मेवारी छोडेर प्राथमिक विद्यालयको हेडमास्टर हुनुभयो । पछि फेरि हाइस्कुलको शिक्षक हुनुभयो ।

मेरा दुई भाइ र दुई बहिनी छन् । भाइ सुशील पत्रकारितामा छ, सुगम गायनमा ।

मैले आठ कक्षासम्म खोटाङकै भगवती माविमा पढेँ । मेरो परिवार खोटाङबाट बसाइँ सरेर विराटनगरको बर्गाछी आयो । त्यहाँ हाम्रा थुप्रै आफन्त हुनुहुन्छ- मामा, फूपूहरू । विराटनगरको गोगराह माविबाट एसएलसी गरेँ, ०३४ सालमा । एसएलसी त १३ वर्षकै उमेरमा, ०३३ सालमा दिएको हुँ, फेल भएँ । पाँच कक्षामा स्कुल फस्र्ट भएकाले एकैचोटि सातमा भर्ना लिइयो । तर, अंग्रेजीमा कमजोर भएकाले पहिलोपटक एसएलसीमा फेल भएँ । आईए महेन्द्र मोरङ कलेजबाट गरेँ । ०३५ सालमा कलेज ज्वाइन भएँ । पढ्दापढ्दै काठमाडौं आएँ, नाटकको तालिम लिन । जाँच दिन मात्रै विराटनगर जान्थेँ ।

घरबेटीले निकालिदिए

अन्तर्वार्तामा उत्तीर्ण भएर नाटकको तालिम लिन काठमाडौं आएँ । प्रज्ञा प्रतिष्ठानले छात्रवृत्तिस्वरुप तीन सय रुपैयाँ दिन्थ्यो । सुरुमा एकजना चिनेको दाइ, भरत सुवेदी, जो सरकारी जागिरे हुनुहुन्थ्यो, उहाँको डेरामा बसेँ ।

लोकबहादुर क्षेत्री, लोकगायक, उनी पनि प्रतिष्ठानमै म्युजिकको विद्यार्थी थिए, अम्बर गुरुङसँग संगीत थिए । मनबहादुर गुरुङ, प्रतिष्ठानमै नृत्यका विद्यार्थी थिए । अहिले उनी बुढानीलकण्ठमा स्पोर्टस् टिचर छन् ।

तीनैजना प्रतिष्ठानमै फरक-फरक विधाका विद्यार्थी, चिनजान भयो । सँगै बस्ने कुरा भयो, पाटनमा डेरा लिएर बस्न थाल्यौँ । लोकबहादुरले बिहानै रियाज गर्नुपर्ने, हार्मोनियममा । यो हाहाहुहु चल्दैन भनेर घरबेटीले भोलिपल्टै निकालिदिए । त्यही दिन पाटनमै अर्को घरमा सर्यौँ ।

तालिम सकिएपछि मैले प्रज्ञा प्रष्तिठानमा देखाइने नाटकमा तीन वर्षजति अभिनय गरेँ, ज्यालादारीमा । सुरुमा दिनको १५ रुपैयाँ दिन्थ्यो, त्यो पनि छुट्टीको दिनको काटिन्थ्यो । प्रज्ञामा नाटक मञ्चन भइरहन्थ्यो । पञ्चायतकाल, पहिलो सो राजालाई देखाइन्थ्यो, त्यसपछि सर्वसाधारणलाई । राजाले नाटक हेर्ने समय निकाले भने कहिलेकाहीँ तीन दिनमै नाटक तयार गर्नुपथ्र्यो ।

लोकबहादुरले पनि प्रतिष्ठानमै ज्यालादारीमै काम गर्थे । हामी दुई वर्षजस्तो सँगै बस्यौँ ।

त्यसपछि विराटनगरबाट बद्रीदाइ काठमाडौं आउनुभयो । म उहाँसँगै बस्न थालेँ । अर्को साथी समन्त कंशाकार, प्रतिष्ठानमै संगीत क्षेत्रमा काम गथ्र्यो, उसको प्याफलको घरमा पनि बस्यौँ ।

दिनमानको देन

‘कहाँ से आ रहे हो ? रिहर्सल से । कहाँ जा रहे हो ? रिहर्सल मे,’ हिन्दी पत्रिका दिनमानमा छापिएको रंगमञ्च समीक्षाको सुरुवात हो ।

यसमा जवाफ दिने टीकादाइ हुनुहुन्थ्यो । टीका पहारी, जो अहिले नेपालमा अभिनेता हुनुहुन्छ, उहाँले पुना फिल्मस् इन्स्िटच्युटबाट अभिनयमा ग्राजुयसन गर्नुभएको हो । टीकादाई त्यो बेला बम्बईमा चर्चित रंगकर्मी हुनुहुन्थ्यो ।

बद्रीदाइ र मैले भारतीय पत्रिका निकै पढ्थ्यौ । त्यो बेला धर्मयुग, दिनमान पत्रिका आउँथ्यो । दिनमानको अन्तिम पेजमा रंगमञ्चबारे समीक्षा हुन्थ्यो, नेमी चन्द्र जैनले लेख्नुहुन्थ्यो । नेमी चन्द्र भारतीय कवि, समीक्षक, रंगकर्मी पनि हुनुहुन्थ्यो, अहिले बितिसक्नुभयो । एउटा समीक्षामा टीका पहारीको बारेमा पनि थियो ।

त्यो समीक्षामा भारतको नेसनल स्कुल अफ ड्रामा ‘एनएसडी’को बारेमा पनि चर्चा गरिएको थियो । त्यहाँ भर्ना भएर पढ्ने इच्छा भित्रभित्रै जाग्न थाल्यो । तर, कसरी जाने थाहा थिएन ।

मैले प्रतिष्ठानमा काम गर्दा कस्टम र मेकअपको हाकिम भनेर एकजना आउनुभो- तीर्थ शेरचन, पोखराको, अहिले बितिसक्नुभो ।

नाटकका लागि मेकअप गर्दागर्दै ‘एनएसडी’बारे कुरा उठ्यो । उहाँले एनएसडीमै छात्रवृत्तिमा पढ्नुभएको रहेछ । उहाँ एनएसडीमा पढ्ने पहिलो नेपाली हुनुहुँदो रहेछ । अनि, मैले सोधिहालेँ, ‘ए दाजु, एनएसडी कसरी जाने ?’

उहाँले भन्नुभयो, ‘एनएसडीको र्फम खुलेको हुन्छ । त्यो र्फम भर्न दुई रुपैयाँ आईसी खाममा हालेर पठाउनुपर्छ ।’ उहाँले एनएसडीको ठेगाना पनि दिनुभो । तीर्थदाइले भनेअनुसार नै बद्रीदाइ र मैले खाममा दुई-दुई आईसी राखेर पठायौँ । पहिलो वर्ष र्फम आएन, चार रुपैयाँ आईसी गयो । अर्को वर्ष फेरि पठायौँ, र्फम आयो । र्फम भरेर अन्तर्वार्ता दिन हामी दाजुभाइ दिल्ली जाने भयौँ, यो ०४० सालतिरको कुरा हो ।

Sushil Pokhrel (10)

चन्दा उठाएर दिल्ली-यात्रा

दिल्ली त जाने भयौँ, बद्रीदाइ र म तर दुवैसँग पैसा थिएन ।

एनएसडी पढ्दा मैले कसैलाई मन पराउँथे, उनी कर्नाटककी थिइन् । झन्डै-झन्डै कुम्लो कसी सकेको थिएँ ।

सूर्यप्रसाद उपाध्याय, कांग्रेस नेता, उहाँ जागरण पत्रिकाका प्रकाशक पनि हुनुहुन्थ्यो । उहाँसँग चिनजान थियो । हामीले उहाँलाई भेट्यौँ । र, दिल्ली जान लागेको, तर पैसा नभएको बतायौँ । उहाँले १५ सय भारतीय रुपैयाँ दिनुभयो । यसरी नै विजय मल्ललाई भेट्यौँ, उहाँले पाँच सय रुपैयाँ दिनुभयो । यसरी नै चन्दा उठाएर हामी दिल्ली जाने भयौँ ।

गोरखपुरबाट रेलको थर्ड कलास सिटमा उभिएर हामी दिल्ली पुग्यौँ, एउटा हातले झोला, अर्को हातले डन्डी समाएर । सेकेन्ड कलास सिट पनि हुन्छ, पहिले नै टिकट काट्नुपर्छ भन्ने थाहा थिएन ।

यहाँ एकजना मान्छेले भनेको थियो, ‘दिल्ली पुगेपछि बिरला मन्दिर धर्मशालामा गएर बस्नू, ५० पैसामा सुत्न पाइन्छ । खान पनि पाइन्छ, छुट्टै पैसा लाग्छ, तर सस्तो छ ।’ इन्डियामा ठग्छन् भन्ने हामीलाई थाहा थियो ।

हामी नयाँदिल्लीको रेल स्टेसनमा औल्र्यौं । एउटा टेम्पुलाई रोक्यौँ र भन्यौँ, ‘बिरला मन्दिर धर्मशाला चलो ।’

उसले लगेर एउटा सानदार महलको अगाडि रोकिदियो र भन्यो, ‘बिरला मन्दिर धर्मशाला यही हे ।’

हामी महलभित्र छिर्यौँ । सुन्दर छ, सजावट छ । कोही मान्छे देखिँदैनन् । आइतबारको दिन थियो, भारतमा सार्वजनिक बिदाको दिन । भित्र छिर्दाछिर्दै राइफल बोकेर एउटा आर्मी आयो र सोध्यो- कहाँ जा रहे हो ? हामीले भन्यौँ, ‘बिरला मन्दिर धर्मशाला ।’

मोरो टेम्पुवालाले त राष्ट्रपति भवनमा लगेर छाडिदिएको रहेछ । आर्मीले गाली गरेर निकाल्यो । त्यसपछि सोध्दैसोध्दै एक घन्टाजति हिँडेर बिरला मन्दिर पुग्यौँ ।

दिल्लीमा अन्तर्वार्ता लिने मैले चिनेका थिए

बिरला मन्दिर धर्मशालामै बसेर अन्तर्वार्ता दिन गयौँ । एनएसडीमा इन्टरभ्यु दिने पाँच हजार रहेछन्, मेरो पालो नै राति १ बजे आएको थियो । अन्तर्वार्ता लिनेहरूले मलाई इन्डियन नाटकबारे सोध्थे, मैले सबै भनिदिन्थेँ । उनीहरू छक्क परे, कसरी थाहा भो भनेर सोधे । मैले भनेँ, ‘हामीकहाँ भारतीय लाइब्रेरी छ, त्यही पढेको हुँ ।’

विजय तेन्डुलकरको कुन नाटक पढेका छैनौँ भनेर सोधे । मैले भनेँ, ‘भर्खरै आएको फलानो (नाम बिर्सें) नाटक पढेको छैन । किनभने, त्यो हामीकहाँ पुगेकै छैन । अरु पढेको छु ।’
अन्तर्वार्ता लिनेहरू एकछिनसम्म मुखामुख गरे । फेरि सोधे, ‘यहाँ बस्ने को-कोलाई चिन्छौ ?’ मैले नेमी चन्द्र जैनलगायत केहीको नाम लिएँ । त्यहाँ नेमी चन्द्र जैन पनि थिए, जसलाई मैले भारतीय पत्रिका ‘दिनमान’मा पढेको थिएँ ।

नेमी चन्द्रले सोधे, ‘मलाई कसरी चिन्छौ ?’ मैले दिनमान पढ्ने बताएँ ।

भारतीय लाइब्रेरीको भोक

Sushil Pokhrel (3)मैले प्रतिष्ठानमा एकवर्षे तालिम लिँदा भारतीय लाइब्रेरीमा गएर खुब पढ्थेँ । रत्नपार्कमा रिमझिम भोजनालय निकै चर्चित थियो, त्यो बेला, सस्तो पनि थियो । प्रतिष्ठानमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म कक्षा लिनुपथ्र्यो । कक्षापछि म रिमझिममा गएर खाना खान्थेँ । दिनभरि के गर्नु ? प्रायः भारतीय लाइब्रेरी पुग्थेँ र पढ्थेँ । लाइब्रेरीमा एउटी मोटीमोटी दिदी कर्मचारी हुनुहुन्थ्यो, नाम बिर्सें, उहाँले लाइब्रेरीमा सदस्य बने घरमा किताब लगेर पढ्न पाइने बताउनुभयो । सदस्य बन्न पनि सस्तै थियो । सदस्य बनेर डेरामा किताब ल्याएर पढ्न थालेँ । त्यही बेलामा मैले मोटो किताब पनि मैले छिटै फिर्ता गर्थें । यसरी नै मैले थुप्रै हिन्दी नाटक, उपन्यास पढें ।

पोस्ट बक्स नम्बर १२८१९ मा दिल्लीबाट पत्र आयो

एनएसडीमा अन्तर्वार्ता दिएर फक्र्यौं । हामीले आरोहणको पोस्ट बक्स नम्बर- १२८१९ दिएका थियौँ, अन्तर्वार्तामा उत्तीर्ण भए एनएसडीले पत्र पठाउनका लागि । त्यो पोस्ट बक्स नम्बर हामी नै खोल्न जान्थ्यौँ । एक दिन मेरो नाममा दिल्लीबाट पत्र आयो । पत्र देख्दाबित्तिक्कै मलाई आशा लागिसकेको थियो, यसमा मेरो सपनाको अंश छ भनेर । खोलेर हेरेँ, म एनएसडीको अन्तर्वार्तामा उत्तीर्ण भएको रहेछु, स्वर्ग पुगेजस्तो भयो । तर, बद्रीदाइका नाममा चिठी थिएन, म एक्लै दिल्ली जाने भएँ ।

१४ हजार भारुको ब्याज तिर्छुः मुकेश मल्ल

अन्तर्वार्तामा उत्तीर्ण भएको पत्र त आयो । अर्को समस्या थियो- यो मान्छे पढेर फेल भयो, पढ्दापढ्दै भाग्यो भने १४ हजार भारतीय रुपैयाँ ब्याजसहित तिर्छु भनेर अञ्चलाधीशले एनएसडी दिल्लीलाई पत्र लेखिदिनुपथ्र्यो । चिठी कसलाई लेखाउने ? यता, भर्ना हुने समय घर्कंदै थियो । बाटोमा हिँडिरहेका बेला चित्रकार मुकेश मल्ल, अशेष मल्लको दाजु, लाई भेटेँ । उहाँ शिक्षा मन्त्रालयमा अफिसर हुनुहुन्थ्यो । म अन्तर्वार्तामा पास भएको उहाँले पनि थाहा पाउनुभएको रहेछ । उहाँले नै ‘ढिला भइसक्यो, दिल्ली किन नगएको’ भनेर सोध्नुभयो । मैले समस्या बताएँ । अञ्चलाधीशकहाँ आफू जमानी बसेर उहाँले कागज बनाइदिनुभयो ।

फेरि दिल्ली पुग्ने खर्च चाहिन्थ्यो । दिल्लीबाट पढेर नर्फकंदासम्म यो छोरो नाटकमा लागेर बिगि्रयो भन्ने थियो, घरमा । पहिलोचोटि काठमाडौं आउँदा बुवाले तीन सय रुपैयाँ दिनुभएको थियो, त्यसपछि मैले अहिलेसम्म घरबाट पैसा लिएको छैन । तर, भाइसँग लिएको छु ।

दिल्ली जान मेरो माइलो भाइले अलिकति खर्च दियो । उसले परिवार नियोजनमा काम गथ्र्यो । त्यस्तै, प्रदीप श्रेष्ठ, जो आरोहणको संस्थापक छ, उसले अलिकति खर्च दियो । र, कक्षा सुरु भइसकेको १०-१२ दिनमा दिल्ली पुगेँ ।

लेप्चादाइले मुख छोडेपछि

उहाँ पुगिसकेपछि खर्चको समस्या हुँदैनथ्यो । होस्टेलमा बस्ने, एनएसडीले छात्रवृत्ति स्वरुप मासिक केही रकम पनि दिन्थ्यो । त्यो पैसाले खाएर, किताब किन्न, फिल्म हेर्न पनि पुग्थ्यो ।

मेरो रुम पार्टनर सिक्किमका नेपालीभाषी दाइ थिए, आरडी लेप्चा । हामी तिनै वर्ष सँगै रह्यौँ । आरडी लेप्चा निकै रमाइला र हरामी थिए, एक दिन उनले कलासमा मलाई नेपालीमा मुख छाडे । त्यो दिन हामीलाई पढाउने महिला टिचर थिइन् । उनले हिन्दीमा सोधिन्, के भनेको भनेर । मैले भनेँ, ‘ कति राम्रो पढाउनुभएको भन्दै छ ।’

तीन वर्ष बस्दासम्म लेप्चादाइले कसैलाई एक कप चिया खुवाएनन् । रक्सी भनेपछि उनी तातिहाल्थे । भन्थे, ‘ए, सुनील मेरो तकियामुनि पैसा छ, जा एक बोतल लिएर आ ।’
हामीलाई पढाउनेमा रामगोपाल बजाज, मोहन महर्षी, बिएम साह लगायत हुनुहुन्थ्यो ।

एनएसडीमा बलिउडका थुप्रै हस्तीले पढेका छन् । अहिलेका बलिउड अभिनेता इरफान खान, उनकी श्रीमती सुदपा, आलोक चटर्जी, जो भोपालमा काम गर्छन्, स्कुल खोलेर बसेका छन्, मेरा ब्याजका हुन् । यिनीहरू मेरा निकट साथी थिए, छन् ।

इरफान अचम्मको थियो

इरफान त मेरो बेस्ट फ्रेन्ड हो । ऊ काठमाडौं मेरोमा आएर बसेको छ, म पनि उसको घरमा गएर बसेको छु । हामी होस्टेलबाट निस्केर राति बाहिर चिया पिउन जान्थ्यौँ । इन्दिरा गान्धी हत्याको बेला थियो । समय खराब थियो, सुरक्षा बढाइएको थियो । इरफान, मलगायत साथी थियौँ । एकजना मानिसले इरफानसँग सोध्यो, ‘भाइसाहेब, टाइम क्या हुवा हे ? इरफानले घडी नहेरी भन्यो, ‘टाइम बहुत खराब हे भाइसाहेब, घर जाइए ।’ इरफान वास्तविक जीवनमा पनि निकै गम्भीर भएर र काण्ड पुर्याएछ बोल्छ । अभिनय गरेजस्तो पनि लाग्छ ।

कर्नाटकतिर मायाले तान्दै थियो

एनएसडीबाट मैले बेस्ट अलराउन्डरको अवार्ड पाएँ । तीन वर्षे कोर्स सकिएपछि म कर्नाटकतिर जाने सोचमा थिएँ । झन्डै-झन्डै कुम्लो कसी सकेको थिएँ । कर्नाटकतिर मलाई कसैको पवित्र प्रेमले तानेको थियो । २२-२४ को जवान, कुनै मायाले तान्नु नौलो थिएन । एनएसडी पढ्दा मैले कसैलाई मन पराउँथे, उनी कर्नाटककी थिइन् । यसबारे धेरै भन्न चाहन्नँ ।

जहोस्, कर्नाटक गएर थियटर गर्ने विचार बनाएको थिएँ । कर्नाटकका लागि टिकट काटिसकेको थिएँ । ठीक त्यही बेला नेपालबाट चिठी आयो । चिठीमा लेखिएको थियो, ‘…सुनिल, भूटान हाम्रा लागि सानो मुलुक हो, भारत ठूलो मुलुक हो र नेपाल ठिक्कको मुलुक हो, नेपाल र्फक । जे पाक्छ त्यही खाउँला…।’ चिठी शैलेसदाइ (आचार्य)को थियो । जसले पछिल्लो समय खग्रास फिल्म बनाउनुभएको छ ।

मेरो कोर्स सकिएको शैलेसदाइलाई थाहा थियो । उहाँलाई लाग्यो होला- अब सुनील बम्बई वा कतै भासिएला, ठूलो देशमा कतै हराउला, छायामा पर्ला । मलाई शैलेसदाइको त्यही चिठीले नेपाल फर्कायो ।

शैलेसदाइ जागरण पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । ०४९ सालतिर हामीले आरोहण नाट्य समूह खोलेका थियौँ । म, बद्रीदाइ, समन्त कंशाकार, प्रदीप श्रेष्ठ, चन्द्रमाला शर्मा आरोहणका फाउन्डर हौँ, पछि अरु पनि इन्भल्भ भए । जागरणको कार्यालयमा हामीले आरोहणबारे छलफल गथ्र्यौ । यसैले सम्बन्ध घनिष्ठ थियो ।

नेपाल फर्केपछि रंगमञ्चमा लागिरहेँ । आरोहण गुरुकुल खोलेँ । केही फिल्म पनि खेलेँ, फिल्म म निकै कम खेलेको छु । अहिले केही विद्यार्थी भाइबहिनीलाई अभिनय पढाउँदै छु ।

पहिलोपटक देख्दा निशा थोती र फुच्ची थिइन्

मेरो विवाह ०४७ सालमा भयो, निशा शर्मासँग, दिल्लीबाट फर्केपछि । म दिल्ली सन् १९८४ मा गएर १९८७ मा फर्केको हुँ ।

निशासँगको चिनजान पुरानो हो । प्रतिष्ठानमा अभिनय तालिम लिनेमा निशाकी दिदी चन्द्रमाला शर्मा पनि थिइन् । उनी ०३७ साल अन्ततिर तालिम लिन आएकी हुन् । हामी साथी भयौँ । अहिले त म उहाँको बहिनी ज्वाइँ भएँ । फेरि पनि हामीबीच ‘तिमी-तिमी’ चल्छ । श्रीमतीलाई भन्न नसकेको कतिपय मैले उनलाई भन्न सक्छु ।

साथी भएपछि म उनको घरमा पनि जान थालेँ । सुरुमा मैले चिन्दा उनीहरूको घर नगलमा थियो । पछि केशरमहलमा बस्न थाले । त्यति बेला निशा भर्खर दाँत झरेकी थोती, फुच्ची थिइन् । दिल्लीबाट फर्केपछि हामी नजिकियौँ । उनी जवान र यति राम्री भइसकेकी थिइन् कि मैले काठमाडौं सहरमा उनैलाई देखेँ । (विवाह प्रसंग ‘मेरी श्रीमती’ स्तम्भमा आउनेछ ।)

Sushil Pokhrel (7)

एनएसडी पढेको भन्दा खुट्टा छोए

भारतीय अभिनेता मनोज बाजपेयी एनएसडी पढ्ने मभन्दा पछिल्लो ब्याचका हुन् । उनी तीनपटक अन्तर्वार्तामा फेल भएका थिए, पछि अन्तर्वार्तामा भनेका हुन् ।

एनएसडी पढेकालाई भारतमा कति रंगकर्मीले खुट्टा छुन्छन् । सन् २००४ तिरको कुरा होला, म नर्वेबाट र्फकंदै थिएँ, दिल्लीमा एयरपोर्ट आइपुगेँ । त्यहाँ एकजना भारतीय भेटिए, नाम बिर्सें ।

हामीबीच कुरा हुन पुग्यो । उनले मेरोबारे सोधेँ । मैले थियटर गर्छु भनेँ । उनले अति नै चासो दिए । मैले एनएसडी पढेको बताएँ । एनएसडी पढेको भनेपछि उनले मेरो खुट्टा छोए । कुरा हुँदै जाँदा थाहा भयो- उनको पनि रंगमञ्चमा रुचि रहेछ, उनी एनएसडी पढ्न अन्तर्वार्ता दिएर फेल भएका रहेछन् । उनले मलाई नेपाल र्फकन एयरपोर्टभित्र गर्नुपर्ने सहयोग पनि दिल खोलेर गरे ।

प्रस्तुतिः ध्रुवसत्य परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment