कृष्णप्रसाद भुसाल
यस समयमा देशभर विभिन्न प्रकारका महोत्सव र मेलाहरु चलिरहेका छन् । व्यापार मेला, कृषि महोत्सव, पर्यटन महोत्सव, सडक महोत्सव आदिले स्थानीय स्तरमा बजार प्रवर्द्धन र मनोरञ्जन प्रदान गरिरहेका छन् । तर यही फागुन ७ र ८ गते कास्की जिल्लाको सिक्लेस गाउँमा भने लाटोकोसेरो महोत्सव गरिँदै छ ।
अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर अन्नपूर्ण संरक्षण क्षेत्र व्यबस्थापन समिति, पार्चे तथा प्रकृतिका साथीहरु नामक गैरसरकारी संस्थाको आयोजनामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७२’ को आयोजना गर्न लागिएको हो । यसअघि धादिङ, चितवन, नवलपरासी र गोरखामा सम्पन्न भैसकेको महोत्सव पाँचौ वर्षमा सिक्लेस गाउँमा हुदैछ ।
लमुजुङ हिमालको काखमा अवस्थित गुरुङ जातिको उदगमस्थल सिक्लेसमा हुन गैरहेको यस उत्सवमा चरा अवलोकन प्रतियोगिता, प्रकृतिको फोटो खिच्ने, लाटोकोसेरो सम्बन्धी लघु म्युजियम प्रदर्शनी, ठेलो प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, झिल्भिmली खेल, भाले जुधाई प्रतियोगिता, घुर-घुमाई प्रतियोगिता, ह्याकुचे जस्ता स्थानीय लोपोन्मुख खेलहरुको समेत प्रतियोगिता हुँदैछ ।
लाटोकोसेराकोे महत्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी, संरक्षण, संस्कृति तथा लाटोकोसेराको अन्य सामग्री सम्बन्धी प्रदर्शनी, स्थानीय घाँटु, भजन, गुरुङ नाच, लाटोकोसेरो संरक्षण सम्बन्धि नाटक, अनुहार पेन्टीङ आदिले महोत्सवलाई थप रमाईलो तथा प्रभावकारी बनाउन सक्दछ ।
नेपालमा पाइने ८७६ प्रजातिका चराहरुमध्ये २२ प्रजाति लाटोकोसेराहरु पर्दछन् । शिकारी चरा समूहअन्तर्गत पर्ने यी सबै चराहरु हाम्रो देशमा लाटोकोसेराको नामले मात्र नभई कोचलगाँडे, हुचिल, कोइरालो, उल्लु, डुन्डुल आदि विभिन्न नामले चिनिन्छन् ।
प्रकृतिको साथी
ठूला खाले लाटोकोसेराहरू सबैभन्दा बढी आयु भएका चरा प्रजातिमा पर्दछन् । यिनीहरू ७० वर्ष र त्योभन्दा बढी बाँच्न सक्ने विभिन्न अध्ययन तथ्यांकले देखाएको छ । प्राय राति तथा बिहान सक्रिय हुने र शिकार गर्ने लाटोकोसेराहरु खासगरी हाम्रो वरिपरी पाइने कतिपय हानिकारक किराफट्यांग्रा, साना जीब र मुसाहरुलाई आहार बनाई पारिस्थितिक प्रणाली सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशिल बनाउन महत्वपूर्ण भूमिका निर्बाह गरेका हुन्छन् । लाटोकोसेराको खाद्यचक्रमा सम्पूरकको भूमिका हुने हुँदा यिनीहरुको अभावमा आश्रित श्रृखंलामा रहेका अन्य प्राणीको जीवन पद्धतीमा समेत गम्भीर प्रभाव पर्दछ ।
कृषिप्रधान देश नेपालमा यी चरा कृषकको उपयोगी साथि र कल्याणकारी पंक्षी हुन् । एक जोडी बयस्क लाटोकोसेराले चार महिनाको समयावधिमा तीन हजार मुसाहरु खाने एक अध्ययनले देखाएको छ ।
लाटोकोसेराको बढ्दो व्यापारले धेरै वर्ष अघिदेखि हुँदै आएको दुर्लभ गैंडा र बाघको अवैध कारोबारको आँकडा छुन खोज्दैछ
मांसाहारी चराको रुपमा रहेका लाटोकोसेरा पुराना जंगलका सूचक पनि हुन् । पुराना वन जंगलसँग सम्बन्धित धेरै लाटोकोसेराहरुलाई प्राकृतिक स्रोत व्यवस्थापनमा संलग्न संस्थाहरुले त्यस्ता वनजंगलहरुको स्वास्थ्य तथा भाग्यको सूचना दिने चराको रुपमा लिने गरेका छन् । उदाहरणका लागि भारतीय उपमहाद्वीपका वन क्षेत्रमा बस्ने चश्मे उलूक धेरै पुराना र मान्छेको आवतजावत एकदमै कम भएका सालका जंगलमा बस्दछ ।
लाटोकोसेरो पर्यावरणीय दृष्टिले मात्र नभई साँस्कृतिक र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । संसारका धेरै सभ्यताहरुमा लाटोकोसेराले अन्धकारमा देख्ने शक्तिको अज्ञानता चिर्ने विद्धता र ज्ञानको प्रतिनिधित्व गर्दछ । जापानका घरहरुमा अनिकाल र महामारी जस्ता प्राकृतिक विपत्तीहरुलाई टाढा भगाउन लाटोकोसेराका तस्वीर राख्ने चलन छ । मध्य एसियातिर हाप्सिलोको छाति र पेटको प्वाँखले बच्चा र गाईबस्तुहरुलाई दुष्टात्मा विरुद्ध रक्षा गर्ने जनविश्वास पाइन्छ ।
हिन्दु सँस्कृतिमा पनि लाटोकोसेराको स्थान सम्मानजनक छ । धनकी देवी लक्ष्मीको बाहनको रुपमा लाटोकोसेरोलाई पुजिन्छ । यसको स्वरलाई पौराणिक साहित्यमा गायनकलाको स्वरसाधनाको निम्ति सहयोगी हुने कुरा पुराणमा जनाइएको पाइन्छ । इसाई धर्ममा लाटोकोसेरोलाई प्रभु येसुको ज्ञानको प्रतिनिधि पात्रको रुपमा हेरिन्छ ।
संरक्षणमा चुनौति
नेपालका लाटोकोसेराहरू खासगरी बासस्थान विनाश, आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल र विषादीको बढ्दो प्रयोग, अवैध चरा व्यापार र मौसम परिवर्तन जस्ता कारणहरूले गर्दा लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेराको व्यापार सबैभन्दा बढी भएको पाइन्छ । लाटोकोसेराको बढ्दो व्यापारले धेरै वर्ष अघिदेखि हुँदै आएको दुर्लभ गैंडा र बाघको अवैध कारोबारको आँकडा छुन खोज्दैछ । अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेराहरू (हुचील, हाप्सिलो, महाकौशिक, भासोलूक, उलूक र कालपेचक) लोप हुने अवस्थामा छन् । नेपाल पंक्षी संरक्षण संघको एक अध्ययन अनुसार ८ प्रजातीका लाटोकोसेराहरु नेपालमा दुर्लभ मानिएका छन् ।
लाटोकोसेरा अशुभ भविश्यको संकेत होइनन् यिनीहरु त वातावरणीय सन्तुलनका व्यारोमिटर र सूचक हुन् ।
लाटोकोसेराको कुनै पनि अंगको औषधीय उपयोग र अदृष्य तान्त्रीक शक्तिबारे कुनै वैज्ञानिक आधारहरु छैनन् र यसखाले प्रयोगको धारणा जनमानसमा विधमान अन्धविश्वास र भ्रम मात्र हो । अरब मुलुकहरूमा घरपालुवा पंक्षीको रुपमा र केही प्रयोगशालामा राति मात्र आँखा देख्नसक्ने क्षमताबारे अध्ययन अनुसन्धानको लागि यसको माग बढीरहेको संकेत देखिए पनि यस जातिसम्बन्धी वैज्ञानिक वा प्रयोगात्मक अध्ययन गर्ने कुनै संस्था पनि हालसम्म आधिकारिक रुपमा आएको छैन । यसरी द्रुतगतिमा लाटोकोसेराहरूको व्यापार के-के र कुन कारणले भइरहेको छ र यसको सन्जाल विस्तार कहाँ-कहाँ छ भन्ने खोज्नु नितान्त जरुरी छ ।
देशमा राजनीतिक अस्थिरता रहेकोले बन्यजन्तु सम्बन्धी अवैध कालोबजारी देशमा बढीरहेको छ र यसमा ठूलै राजनैतिक, प्रशासनीक पहुँचवालाहरूको हात रहेको पाइन्छ । बढ्दो अवैध व्यापारसँगै वनजंगलको फँडानी र खण्डिकरण, बुढा रुखहरुका हाँगा कटानी, आवास निर्माण, सहरीकरण आदि लाटोकोसेरा विनासका प्रमुख समस्याको रुपमा रहेका छन् ।
निष्कर्ष
नेपाल र भारतमा सर्वसाधारण लाटोकोसेरोलाई अपवित्र, नराम्रो भविष्यको सूचक, खराब भाग्यको प्रवाहकर्ता तथा मरेर गएकाहरुको सन्देशवाहकको रुपमा लिन्छन् जसले संरक्षण अभियानमा अप्ठ्यारो पारेको छ । उदाहरणका लागि एउटा मुर्ख मान्छेलाई सामान्यतया ‘उल्लू’को संज्ञा दिने गरिन्छ ।
यस्ता व्याप्त नकरात्मक गलत मान्यताका कारण पनि कतिपय अवस्थामा लाटोकोसेराहरु मानिसबाट नै असुरक्षित हुँदै आएका छन् । लाटोकोसेरा अशुभ भविश्यको संकेत होइनन् यिनीहरु त वातावरणीय सन्तुलनका व्यारोमिटर र सूचक हुन् । लाटोकोसेराको बासस्थानको संरक्षण, यिनको ओसारपसारको नियमित निगरानी र प्रमुख नाकाहरूमा प्रहरी प्रशासन तथा संरक्षणकर्मीहरूको समन्वयात्मक क्रियाशिलताको नितान्त आवश्यक देखिन्छ ।
यी विषेश र ठूला प्रजातिहरू हुने हुनाले सजिलै पहिचान गर्न सकिने र सरकारी निकायहरूबाट ओसारपसारमा कडा निगरानी र दोषिलाई कडा कारबाही भएमा यसको अबैध व्यापार बेलैमा नियन्त्रण गर्न सकिन्छ । यसर्थ लाटोकोसेरो खाद्य श्रृंखलाको संयोजक र जैविक विविधताको महत्वपूर्ण सूचक मात्र होइन लाखौं मानिसहरुको धार्मिक र साँस्कृतिक आस्थाको पुञ्ज पनि हो ।
अतः पारिस्थितिक मात्र होइन धार्मिक र साँस्कृतिक महत्व बोकेका प्रकृतिको अभिन्न अंग लाटोकोसेरा संरक्षणमा सबैले हातेमालो गरी जैविक सन्तुलन कायम गरौ । संरक्षण सचेतना र संकटका कारणहरु स्थानीय समुदाय, क्लब, विद्यार्थी, संरक्षणकर्ता र सरकारी निकाय माझ प्रभावकारी ढंगले सञ्चालन गरी संरक्षणमा साझेदारी गर्ने उद्देश्यले सञ्चालन गर्न थालिएको लाटोकोसेरो तथा हुचिल उत्सव सफलताका लागि सहकार्य गरौं ।
(लेखक नेपाल पंक्षी संरक्षण संघका परीयोजना अधिकृत हुन् ।)
प्रतिक्रिया 4