+
+
Shares

यी हुन् बैंक लकरबारे बेलायतबाट सिक्नुपर्ने कुरा

हालै नेपालको बैंकको लकरमा छापा मार्दा गोली भेटिएको खबरले चर्चा पायो । सुरक्षाका लागि आफ्ना मूल्यवान सामान तथा कागजात राखिने लकरको दुरुपयोगमाथि रोक लगाउनैपर्छ । बैंकको लकरमा हात-हतियार तथा अवैध सम्पत्ति राखिएको उदाहरण अरु देशमा पनि प्रशस्त छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते १२:३४

विकलचन्द्र आचार्य

हालै नेपालको बैंकको लकरमा छापा मार्दा गोली भेटिएको खबरले चर्चा पायो । सुरक्षाका लागि आफ्ना मूल्यवान सामान तथा कागजात राखिने लकरको दुरुपयोगमाथि रोक लगाउनैपर्छ । बैंकको लकरमा हात-हतियार तथा अवैध सम्पत्ति राखिएको उदाहरण अरु देशमा पनि प्रशस्त छन् ।

Bikal-Chandra-Acharyaसन् २००१ मा अमेरिकामा भएको आतंककारी गतिविधि भएपछि गैरकानुनी रूपमा आर्थिक कारोबार निस्तेज पार्न सम्पत्ति सुद्धीकरण (मनी लाउन्डरिङ) नियमको कानुन अरु सशक्त रुपले विकास हुन थाल्यो । यसपछि बैंकको लकरमा जासुसी गरी छापा मार्न पश्चिमी देशमा पनि थालियो ।

अक्टोबर २००९ मा बेलायती पुलिसले ६ हजार सात सय १७ डिपोजिट बक्समाथि छापा मारेको थियो । विवादित कानुन ‘प्रोसिड अफ क्राइम याक्ट’ २००२ मा लागू गरिएको थियो । यो कानुनको मुख्य उद्देश्य गैरकानुनी रूपमा कमाइएको सम्पत्ति सरकारले बरामद गर्न सक्ने प्रावधान छ ।

यो सम्पत्ति शुद्धीकरणका लागि ल्याइएको विशेष नियम हो । यही कानुनका आधारमा पुलिसले जासुसी अध्ययन गरी छापा मार्दा गैरकानुनी रूपमा राखिएको बन्दुक, गोलीलगायत अनेकौं गहना र नगद बरामद गरेको थियो । छापा मारिएको लकरमा करिब २० प्रतिशत गैरकानुनी रूपमा राखिएको सम्पत्ति भएको प्रमाणित भएको थियो । यसपछि बेलायतमा लकरमा सम्पत्ति राख्ने र सम्पत्ति सुद्धीकरणका लागि अरु निकै पहल गरिरहेको देख्न सकिन्छ ।

यस्तो छ लकरको इतिहास

परापूर्व कालदेखि नै आफ्नो सम्पत्ति सुरक्षितसँग राख्ने लकरको चलन चलिआएको देख्न सकिन्छ । कागजको नोटको विकास सँगसँगै अमेरिकी बैंकहरूले सन् १८१४ अघिदेखि खासगरी सुनको भण्डारण गर्नका लागि ‘विशेष निक्षेप’ राख्न सुरुवात गरेका कागजी प्रमाण भेटिन्छन् ।

पहिले आधुनिक निजी सुरक्षित डिपोजिट बक्स गर्ने कम्पनीको सुरुवात १ मे १८६५ मा न्युयोर्कमा गरिएपछि यसको लोकपि्रयता अरु बढेको पाइन्छ । लन्डनमा पहिले निजी कम्पनी सन् १८७२ मा खोलिएको थियो । बढ्दो प्रविधिको विकासले मानिससँग धन-सम्पत्ति प्रशस्त हुन थालेपछि २०औं शताब्दीमा लकरको संसारमा विकास झन् बढ्यो ।

अमेरिकामा करिब दुई करोड २५ लाख डिपोजिट बक्स रहेको अनुमान गरिन्छ । त्यस्तै, स्विडेनमा तीनजनामा एकको डिपोजिट बक्स छ । फ्रान्समा ५ जनामा एकले डिपोजिट बक्स भाडामा लिएका छन् । युरोप, अमेरिकामा डिपोजिट बक्स दिनचर्यासँग जोडिएको छ ।

बैंकको तल्लो तलामा ठुल्ठूला पक्की सेफ (बाकस) भित्र बैंक र आफ्ना खास ग्राहकको सम्पत्ति र मूल्यवान कागजात राख्ने प्रचलनअनुरुप सुरक्षित डिपोजिट बक्स या लकरको विकास भएको हो ।

बैंकहरूले यी डिपोजिट बक्स आफ्ना ग्राहकलाई सुरक्षित तबरले सम्पत्ति राख्न दिनका लागि बैंकहरूको होडबाजी चल्यो । यसपछि बैंक मात्र नभएर हुलाक, होटेललगायत निजी कम्पनीले पनि डिपोजिट बक्स राख्न थाले । अहिलेसम्म आइपुग्दा ठूलाठूला बेलायती बैंकले भने डिपोजिट बक्सको सेवालाई निरन्तर नगर्ने नीति अपनाएका छन् । फलस्वरुप धेरै निजी कम्पनीहरू यस क्षेत्रमा निकै नै क्रियाशील छन् ।

हालै प्राप्त तथ्यांकअनुसार एसियाली मूलका मानिसले अरुले भन्दा निकै नै बढी डिपोजिट बक्सको उपयोग गरेको पाइएको छ । यसको प्रमुख कारणमा यी मूलका मानिसले प्रयोग गर्ने गरगहना र बचत गर्ने बानी हुन सक्ने कुरा पनि जनाएको छ ।

बेलायतमा लकरको तरिका

सुरक्षाका लागि डिपोजिट बक्स या लकरमा महत्त्वपूर्ण र मूल्यवान् सामान गहना, कानुनी कागज, महँगा पेन्टलगायत राखिने गरिन्छ ।

मूल्यवान सामान लकरमा राख्दा सुरक्षाका लागि उत्तम ठानिन्छ । लकरको ग्राहकलाई साँचो या स्वाएप गर्ने कार्ड दिइन्छ र आफ्ना सामान राखेको लकरमा बैंक खुलेको समयमा जहिले पनि जान सकिन्छ ।

लकरमा सामान राख्नुअघि ग्राहकले लागुऔषध, बन्दुक, गोली या सम्पत्ति शुद्धीकरण नगरिएको अवैधानिक पैसा राख्न नपाउने भन्ने कागजमा दस्तखत गर्नुपर्छ । अर्को महत्त्वपूर्ण कुरा आफूले राख्ने सामानको बिमा गर्नु अनिवार्य हुन्छ । लकरको आकारअनुरुप शुल्क वार्षिक पनि एक सय २० देखि ४८० पाउन्ड पर्छ । खर्च बचाउने अभिप्रायले धेरै बैंकले लकरको सुविधालाई क्रमशः हटाउँदै गएका छन् । बढ्दो आपराधिक तथा आतंककारी क्रियाकलापले सामान राखिने समस्याका कारण लकर योजना चालू राख्न गाह्रो भएको बैंकहरूले जिकिर पनि गर्छन् ।

बेलायतमा लकरको प्रावधान

जहाँ मूल्यवान चिज राखे पनि बिमा गर्नुपर्छ । यस्ता मूल्यवान सामानको घरको बिमाअन्तर्गत व्यक्तिगत सामानको कभर हुने गरी गर्नुपर्छ । १५०० पाउन्डभन्दा माथिको सामानको अलग-अलग टिपोर्ट गर्नुपर्ने हुन्छ ।

बिमाका साथै सामान किनेको बिल, सामानको मूल्यांकन प्रमाण, सामानको सत्यताको आधार, सामानको फोटो आदि आफूले राख्नुपर्छ । लकरमा राखिएको सामानको बिमाशुल्क प्रायः कम हुने गर्छ, किनकि यो बिमा कम्पनीका लागि सुरक्षित मान्छन् । लकरबाट झिक्नेबित्तिकै भने बिमा कम्पनीलाई जानकारी गराउनुपर्छ ।

प्रायः बैंकले आफ्नो चल्ती खाताको ग्राहकलाई चाहेमा डिपोजिट बक्सको सुविधा प्रदान गर्ने गर्दथे । बैंकको अलावा धेरै निजी कम्पनीले पनि लकर या डिपोजिट बक्सको सेवा प्रदान गर्दछन् । कुनै कम्पनीले सामान चोरी भए १५ हजार पाउन्डसम्म पैसा दिने ग्यारेन्टी गरेका हुन्छन् । यस्ता कम्पनीले वार्षिक शुल्क १३२ देखि २,१८० पाउन्डसम्म हुन्छ ।

बैंक या निजी कम्पनी जहाँ राखे पनि बिमा कम्पनीलाई लकरबारे जानकारी गराई आफ्नो सामानको बिमा गराउनुपर्छ । आफ्नो लकरमा जान अरु तेस्रो व्यक्तिलाई अनुमति दिन सकिन्छ, यदि तेस्रो व्यक्तिलाई एटोर्नी पावर दिइएको छ भने । एटोर्नी पावर पाउने व्यक्तिको सम्पत्ति एन्टी मनी लाउन्डरिङ चेक गरिन्छ र प्रचलित कानुनअनुसार मन्जुरीनामामा सही गर्नुपर्दछ ।

तेस्रो व्यक्तिलाई अधिकार प्रत्यायोजन गरेपछि सबै कार्य मूल व्यक्तिले गरेको ठहर्ने र कुनै सामान तल-माथि भए लकरको जिम्मा लिने कम्पनी जिम्मेवारी हुँदैन । कोही-कसैलाई पनि लकरमा जान बैंक या निजी कम्पनीले कुनै बेला नदिन पनि सक्छ । जस्तै गैरकानुनी या बेइमान क्रियाकलाप गरेमा, कानुनी रुपमा पुर्जी आए वा यस्तै अन्य अवस्थामा यस्तो हुन सक्छ । यसको साथै मदिरा सेवन गरी या दुव्र्यसनी भई अभद्र व्यवहार गरेमा पनि आफ्नो लकरमा जान बन्देज गरिन सक्छ ।

करमा राखिने सामानको बिमा गर्ने चलनलाई अरु प्रभावकारी बनाउनु पनि जरुरी हुन्छ । यसो भएमा गैरकानुनी रुपमा लकरमा राखिने सामान कम हुन पनि सक्छ

बैंक र निजी कम्पनीलाई थाहा नपाईकन गैरकानुनी रुपमा काम-कारबाही भएमा यसको सम्पूर्ण जिम्मेवारी लकरवालाको हुनुपर्ने हुन्छ । लकरमा के सामान राखिएको छ, त्यसको विवरण दिनुपर्ने हुन सक्छ । लकरमा राखिएको सामान आफ्नो स्वामित्वको मात्रै राख्नुपर्छ । अपराधलाई उत्साहित गर्ने अथवा गैरकानुनी रुपमा मानिएका नगद, कुनै वैदेशिक मुद्रा, केमिकल, लागुऔषध, विष वा अरु विषादि पदार्थ, झिल्का आउने वस्तुहरू, बन्दुक तथा हतियारहरू, वनस्पतिहरू, जीवहरू, प्रतिबन्धित वस्तुहरू, आतंककारी कार्य गर्न सघाउ पुर्याउने कुरा जस्ता कुनै पनि सामानको भण्डार गर्न नपाउने नियम छ ।

बेलायतबाट के सिक्ने ?

नेपालमा सबैभन्दा पहिले लकरमा सम्पत्ति राख्ने मानिसको सम्पत्ति सुद्धीकरण चेकजाँच गर्न आवश्यक हुन्छ । सम्पत्ति सुद्धीकरण विभागलाई अरु क्रियाशील बनाई गैरकानुनी रूपमा आर्थिक कारोबारलाई निरुत्साहित गर्न अरु धेरै पहल यसबाट गर्नुपर्ने हुन्छ । आर्थिक जासुसीलाई अरु सशक्त बनाई गलत क्रियाकलाप गर्नेको नाम लिस्ट तयार पार्ने कदम चाली शंकास्पद ठानिएमा बेलाबेला लकर बक्समा छापा पनि मारेर जफत गर्ने प्रावधान सशक्त बनाए पनि डिपोजिट बक्स र लकरमा अवैध सम्पत्ति राख्नेको समस्यासँग जुध्न सकिन्छ । अपराध नियन्त्रण गर्ने सबै निकायसँग अरु समन्यव गरी लकरको गैरकानुनी रूपमा गरिने दुरुपयोग हुनेलार्इ पनि कम गर्न सकिन्छ ।

अर्को कुरा लकरमा राखिने सामानको बिमा गर्ने चलनलाई अरु प्रभावकारी बनाउनु पनि जरुरी हुन्छ । यसो भएमा गैरकानुनी रुपमा लकरमा राखिने सामान कम हुन पनि सक्छ । मूल्यवान सामानको लकरमा राख्नुको अर्थ बिमा गर्नुसरह हो भन्ने मान्यता राख्नु हुँदैन ।

लकरमा सामान राख्ने मानिसको आफ्नो सम्पत्तिको अरु सुरक्षा र गैरकानुनी रुपमा यसको उपयोग गर्नेलाई दण्ड गर्ने कुरामा बेलायतबाट नेपालले पनि धेरै कुरा मनन गर्न सक्छ ।

(लेखक बेलायतमा कार्यरत अर्थ र व्यवस्थापन विषयसँग आवद्ध छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?