Comments Add Comment

वैद्यलाई मनाउन अन्तिम कसरत, तर सम्भावना टर्दै

baidhya and badal

१ वैशाख, काठमाडौं । वैशाख १२ गते नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा ‘बादल’ एमाओवादी अध्यक्ष प्रचण्डसँग एकता वार्ता गरिरहेका बेला विनाशकारी भूकम्प आएको थियो । करिब एक वर्षपछि फेरि दुई पक्षबीच एकता वार्ता चलिरहँदा भने वैद्यको पार्टीमा भुकम्प आउने सम्भावना देखिएको छ ।

विभिन्न उतारचढावपछि परिस्थिति यसरी विकास भएको छ, वैद्यलाई छाडेर बादल आफ्नो समुहसहित एमाओवादीमा जान सक्छन् । बादलले एउटा खुट्टो उचालिसकेको अवस्थामा वैद्य भने एकताप्रति उत्साहित हुन छोडेका छन् ।

त्यसो त बैद्यसहित नै एमाओवादीसँग एकता गर्ने सम्भावना पूर्णरुपमा टरिनसकेको नेताहरु बताउँछन् । बैद्यलाई मनाउने प्रयासमा बादलले बुधबार निर्णायक छलफल गर्दैछन् । एकता पक्षधर एक नेताले भने, ‘अझै बैद्यसहित नै एकता गर्ने अन्तिम प्रयास भइरहेको छ । तर, सम्भावना घट्दो छ ।’

बैद्यमाथि पिठ फर्काएर एकताबाट भाग्न खोजेको आरोप बादल समूहले लगाएको छ । पछिल्लो समयमा त्यो नाममा बैद्यलाई भेेटेर दबाव दिनेहरुको ताँती छ । कहिले कर्णाली त कहिले मधेसका नेताहरु बैद्यकहाँ गएर एकताको प्रक्रियाको नेतृत्व गर्न दबाव दिने गरेका छन् । तर, बैद्य तत्काल एकता गर्ने पक्षमा देखिएका छैनन् । उनी अहिले एमाओवादीसँग पार्टी एकता नगर्ने पक्षमा रहेका सीपी गजुरेल, हरिभक्त कँडेल, परि थापाहरुको क्याम्पमा पुगेका छन् ।

१० दिने बैठकमा के के भयो ?

एकताबारे छलफल गर्न १० दिनसम्म चलेको बैठक पनि कुनै निष्कर्षमा नपुगी एक महिनाका लागि भन्दै स्थगित भयो । तर, यसले प्रचण्ड र बादलको एकता अर्थात् बैद्य माओवादीको फुटलाई टार्ने सम्भावना छैन । बैठकमा तत्काल एकता गर्नुहुन्न भन्ने पक्षलेे प्रचण्डले एउटा चिर्कटो फालेर आफ्नो खेल्न खोजेको आरोप लगाएको थियो ।

‘बैठकमा अनुपस्थित भएर नै प्रचण्डले बैठकको अध्यक्षता गरेका छन्,’ एक नेताले वैठकमा भने, ‘हेगदेखि अख्तियारसम्मको त्रासले पेरिसडाँडा लगलगी काँपेका बेला हाम्रो पार्टीका केही साथी त्यहीँ जान खुट्टा उचालेर बस्नु आश्चर्यजनक छ ।’

केन्द्रीय समितिको बैठकको अन्तिममा रामदीप अचार्यले बोलेका थिए, जो एकता पक्षधर हुन् । बादल समूह हावी भएको बैठकमा उनले बैद्यलाई नै एकताको कमाण्ड सम्हाल्न अपील गरे ।

‘जनयुद्धका नायकहरु विभाजित हुनु हुँदैन,’ उनले भने, ‘नायकहरुले आफ्नो भूमिका निभाउन नसके पदवी खोसिन्छ ।’

कम्युनिष्टहरु पिठ फर्काएर नभाग्ने भन्दै आचार्यले त्यसो गरे पार्टी विभाजनलाई भगवानले पनि रोक्न नसक्ने चेतावनी दिए । उनको प्रष्ट संकेत थियो, यदि बैद्य तयार भएनन् भने बहुमतले निर्णय गरेर भए पनि पार्टी एकतामा गइन्छ र बैद्य माओवादी फुट्छ ।

यसबारे प्रश्न गर्दा अचार्यले बैद्यसहित एकता गर्ने प्रयास जारी रहेको भन्दै थप कुरा बताएनन् ।

एकताका तीन विकल्प

पार्टीको बैठक स्थगित भएपछि पनि एकता पक्षधरहरुको बैठक बसेको थियो । अहिलेसम्मको तयारी हेर्दा वैशाख १० गते लेनिन दिवसको अबसर पारेर एकताको सन्देश दिने सम्भावना छ । पार्टी एकताका विभिन्न मोडलमा छलफल चलिरहेकोमा तीन विकल्प अगाडि आएका छन् ।

१. वार्ता टोली गठन गर्ने । पार्टी एकताबारे वार्ताका लागि बादल समूह र एमाओवादीले आआफ्ना वार्ता टोली गठन गर्न सक्छन् ।

२. दुवै पार्टीको प्रतिनिधित्व रहने गरी पार्टी एकता संयोजन समिति निर्माण गर्ने ।

३. केन्द्रीय समिति मर्ज भएको घोषणा गर्ने

जुन विकल्प रोज्दा पनि बैद्य माओवादीमा औपचारिक फुट टर्नेछैन । बैद्य माओवादीका एकता पक्षधर एक नेताले अनलाइनखबरसँग भने, ‘हामी अप्रिल २२ मा एकताबारे केही सन्देश दिन चाहन्छौं । हामीसँग पार्टीको बहुमत छ ।’

एमाओवादीका एक नेताले भने जति ढिलो गर्‍यो, त्यति एकता भाड्न चलखेल हुने भन्दै एकता आफूहरुको प्रमुख एजेण्डा भएको बताए । उनका अनुसार अहिलेसम्मको तयारी हेर्दा बैद्य आउने छैनन् भने बादलसहित बहुमत केन्द्रीय सदस्य एकता प्रक्रियामा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment