Comments Add Comment

नामिबियाविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य ‘जसरी पनि जित’

Paras khadka and Stephan-Baard

३ वैशाख, काठमाडौं । शनिबार पाहुना टोली नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा उत्रँदा नेपालको लक्ष्य हुनेछ जसरी पनि जित ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सुरुवाति दुई चरणको खेल गुमाएको नेपाल घरेलु मैदानमा जित हात पार्दै नयाँ सुरुवात गर्न चाहन्छ । र, नेपाली टोलीलाई हजारौं क्रिकेट समर्थकको साथ रहनेमा शंका छैन ।

तर, सजिलो छैन । नामिबिया पनि जितको लक्ष्य लिएर नै काठमाडौं आइपुगेको छ र र शुक्रबार पहिलो पटक कीर्तिपुरमा पुगेर अभ्यास गरेको छ ।

कीर्तिपुर मैदानमा पुगेपछि उनीहरुको पहिलो चासो थियो पिच । प्रशिक्षक अभय ठाकुरले भने, ‘हामीले सोचे भन्दा धेरै राम्रो रहेछ । हामीले नोडयामा खेल्यो, त्यहाँ ट्राकमा घास थिएन । तर, यहाँ घास देख्यौं ।’

नेपाल क्रिकेट संघ क्यानको विवादका कारण प्रतियोगिता आयोजनामा यो पटक अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) नै हावी भएको छ ।

आईसीसीका एसिया भेटलोपमेन्ट म्यानेजर बन्दुला वर्नापुराले आफ्नै प्रत्यक्ष निगरानीमा पिच निर्माण गरेका छन् । शुक्रबार दिउँसो पनि उनी आफैं त्यहाँ खटिरहेका थिए ।

विगतलार्इ हेर्ने हो भने कीर्तिपुरको पिच स्पिन फेवर हो । तर, अब नयाँ पिच कस्तो बनेको छ भोलि विहान मात्र भन्न सकिन्छ ।

तर, दुबै टोलीको लक्ष्य जित नै हो । ‘के गर्नु पर्ने भनेर सबैले बुझेका छन् र हाम्रो गेम प्लान छ’ नेपाली टोलीका कप्तान पारस खड्काले भने, ‘जसरी भएपनि जित्नु छ हामीलाई । हाम्रो लक्ष्य जित हो ।’

नेपाली टोलीले दुई वर्षभन्दा लामो समयपघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका पाएको छ । अब त्यसलाई सदुपयोग गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खाता खोल्न चाहन्छ । पारस भन्छन्, ‘हामीलाई धेरै सपोर्ट हुनेछ । त्यसलाई हामी मोटिभेसन बनाउने छौं ।’

नेपाली टोलीमा तीन नयाँ अनुसार राजु रिजाल, सुशन भारी र सन्दिप लामिछाने छन् । सन्दिपले मौका पाउने सम्भावना छ । ब्याटिङतर्फ भने ओपनिङमा नरेश बुढायर र ज्ञानेन्द्र मल्लको सम्भावना छ । यद्यपि शनिबार विहान पिच हेरेपछि नै फस्ट ११ तय हुने पारसले बताए ।

नामिबियाको टिमले लिगमा चार मध्ये तीन खेल गुमाएको छ । र, उसले नेपाल आउनु अघि भारतमा अफगानिस्तानसँग इन्टरकन्टिनेन्टल कप खेलेको उसले त्यसमा पनि हार व्यहोरको छ ।

अब घरेलु टोली नेपाललाई माथ दिएर फेरि जितको लयमा फर्कने लक्ष्य रहेको कप्तान स्टेफन बार्डले बताए ।

तर, ठूलो समर्थक भएको नेपाल जस्तो टोलीसँग खेलेको अनुभव छैन । ‘हाम्रो लक्ष्य नेपालको जस्तै जितको हो । यो कठिन छ किनकी हामी अवे गेम खेल्दैछौं । र, यहाँ सयौं समर्थक आउनेछन् ।’

नामिबियाको बलियो पक्ष ब्याटिङ हो । तर, यसअघि डिभिजन २ मा भएको नेपालले उसलाई घरेलु मैदानमा नै हराएको छ ।

उसका तेस्रो नम्बरका ब्याट्सम्यान रेमन्ड भान स्कुअरको २५ वर्षको उमेरमा नै गत वर्ष हृदयघातका कारण निधन भयो । र, अहिले भरपर्दा स्पिरन बेर्नाड स्कोल्च पनि चोटका कारण खेल्ने छैनन्

र, नेपाल फाइटिङ टिम भएको उनको निष्कर्ष छ । नेपालबाट के अपेक्षा छ भन्ने प्रश्नमा उनले भने, ‘खेलको अवस्था जस्तो भएपनि नेपालले समर्पण गर्दैन । फिल्डिङ र दौड पनि राम्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment