४ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको बताएका छन् ।
विगतमा भएको १६ बुँदे समझदारीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले १६ बुँदे समझदारी ‘डेट एक्स्पायर्ड’ नभएको बताए । र, सोही समझदारीका आधारमा नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन छलफल भइरहेको उनले जानकारी दिए ।
नेकपा एमाले केन्द्रीय कमिटीको एक साता लामो बैठकका निर्णय सार्वजनिक गर्न शनिबार एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसलाई सरकारमा ल्याउन छलफल भइरहेको बताएका हुन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले १६ बुँदे समझदारीका बेलामा भएको भद्र सहमतिअनुसार कांग्रेसलाई सरकारमा सहभागी गराउन कुराकानी चलिरहेको बताए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले बलियो प्रतिपक्षीको भूमिका निभाउने बताउँदै आइरहेका बेला प्रधानमन्त्री ओलीले गत जेठको अन्तिममा भएको भद्र सहमति सम्झिएका हुन् ।
‘नपत्याए झलनाथजीलाई सोध्नोस’
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीभित्र अब कुनै गुटबन्दी नरहेको दाबीसमेत गरे । उनले एमालेको केन्द्रीय कमिटीमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालले बोल्दै नबोलेका विषयलाई सञ्चार माध्यमले गलतरुपमा समाचार बनाउने गरेको दाबी गरे । ुनपत्याए सँगै रहेका नेता खनाललाई सोध्नु ओलीले सञ्चारकर्मीलाई आग्रह गरे ।
ओलीले एमालेको केन्द्रीय कमिटीको बैठकलाई पुराण सुन्ने थलोका रुपमा नलिन आग्रह गर्दै मुलुकको परिस्थिति र पार्टीका गतिविधिबारे नेताहरुले फरक-फरक धारणा राख्नुलाई स्वभाविकरुपमा लिइनुपर्ने बताए ।
पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार
प्रधानमन्त्री ओलीले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको काममा ढिलाइ भएको स्वीकार गर्दै भूकम्पबाट भत्किएका सबै घर तुरुन्ता-तुरुन्तै बनाउन सम्भव नहुने बताए ।
प्रधानमन्त्री ओलीले वर्षायाम पहिले नै सबै भूकम्पप्रभावितहरुलाई सामूहिक आवासमा बस्ने व्यवस्था मिलाउन आफूले राष्ट्रिय पुनर्निमाण प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।
उनले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अब केही समयभित्रै हट्ने दाबीसमेत गरे ।
प्रतिक्रिया 4