Comments Add Comment

कीर्तिपुरमा त जितियो अब नेदरल्याण्डको म्याचमा के गर्ने ?

नेपाली क्रिकेटको स्तर र विजयको अर्थ

नेपाली क्रिकेट टिमले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिवियाविरुद्धको दुवै खेल जितेर प्रतियोगितामा उत्कृष्ट पुनःआगमन गरेको छ । अघिल्ला ४ वटै म्याच हारेर अंक तालिकाको पुछारमा रहेको नेपालले घरलु मैदान र हजारौं दर्शकको साथ पाएर आफूलाई तिखारेर प्रस्तुत गर्‍यो ।

Binod-Babu-Rijalकाठमाडौंमा शतप्रतिशत आफ्ना समर्थकको बलले ऊर्जावान बनेको नेपालका लागि आधा जितको आधार ‘हुटिङ’ बन्यो । त्योभन्दा बढी खेलाडीको प्रदर्शन रह्यो । सधैं नेपालीको जितको आधार बलिङ हुन्थ्यो । ब्याट चल्थेन । तर, यसपालि ब्याट पनि चल्यो । नेपालका भरपर्दा ब्याट्सम्यानले आफूलाई चुकाएनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कसरी खेल्नुपर्छ भन्ने सुझबुझ उनीहरुमा राम्रो देखियो ।

पहिलो म्याचमा नेपालका दुई ब्याट्सम्यान शरद भेषावकर र विनोद भण्डारीको परिपक्वता मज्जाले प्रदर्शन भयो । उनीहरुको अति नै सुझबुझपूर्ण र धैर्यतापूर्ण ब्याटिङले जित दिलायो । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा १९६ को विजय लक्ष्य गाह्रो होइन ।

तर, नेपाल जुन परिस्थितिमा खेलिरहेको छ र ब्याटिङको लय जस्तो छ, त्यो हिसाबले हामीलाई यो स्कोरपनि केही न केही चुनौतीपूर्ण नै रह्यो । धन्य ! हामीले जित्यौं । चाहिएको बेला ‘भेट्रान’ ब्याट्सम्यान शरद र विनोदको ब्याट चल्यो । विनोदले विस्फोटक इनिङ खेले भने सरद केही सम्हालिए । अन्ततः यिनीहरु दुईको ब्याट नै जितको आधार बन्यो ।

दोस्रो म्याचमा सुरुआतमा नेपाली बलर चम्केनन् । २० ओभरसम्म नेपाली बलरको कुनै सीप चलेन । जब ९५ रन बनाइसक्दा युवा बलर सन्दीप लामिछानेको हातबाट विकेट निस्क्यो, नेपालको पक्षमा खेल आयो । त्यसपछि ११३ रन ल्याउँदासम्म नामिवियाले ५ जना ब्याट्सम्यान गुमायो । तर, पछिल्ला अर्डरका ब्याट्सम्यान चम्किदा स्कोर विश्वस्तरको पुग्यो । २३९ रनको स्कोर उसका लागि सम्मानजनक थियो । नेपालको ब्याटिङस्तर हेर्दा यो स्कोर नपुग्ला झै लाग्थ्यो । तर, नेपालको भाग्य कप्तान पारसको ब्याट आशा गरेजस्तै चल्दियो । साथ दिए, उही सरदले ।

पारसले १०३ को खेलेर आउट भएपनि पारसभन्दा अघि क्रिजमा आएका शरद जित ननिक्लिँदासम्म डटेर लडे । उनले ७४ रन बनाउँदा नेपालले जितिसकेको थियो । पारसले शतक हानेर जति वाहीवाही पाए, त्यसको बराबर हकदार शरद पनि बने । उनी लगातारको खेलमा दोस्रो अर्धशतक बनाइरहेका थिए । उनको यो धैर्यतापूर्ण ब्याटिङले जितको स्पष्ट आधार कोर्‍यो ।

अझै समस्या

नेपालमा राष्ट्रिय प्रतियोगिता नभएको दुई वर्ष भयो । अन्तर्राष्ट्रिय एक्सपोजर नपाएको ३-४ महिना नै भएको थियो । खेलाडीहरु फुर्सदमा भएपछि उसको लय गुम्छ । निरन्तर अभ्यास कमी भएपछि ज्यान अल्छी हुन्छ । स्टामिना पुग्दैन । त्यही भएको थियो नेपाली खेलाडीमा । निरन्तर एक्सपोजर नपाएपछि एक्कासी अन्तर्राष्ट्रिय म्याच खेल्नुपर्दा आत्मविश्वासको कमी थियो । त्यसलाई घरेलु दर्शकले थपिदिएको दबाबले झनै ‘नर्भसनेस’ मा बदलिदियो । यो अवस्थामा नेपाली खेलाडीको अवस्था कस्तो थियो होला ? मानसिकरुपमा उनीहरु कति दबाबमा थिए होलान् ? हामी कल्पना मात्र गर्न सक्छौं ।

न घरेलु प्रतियोगिता न अन्तर्राष्ट्रिय । लामो ग्यापपछिको क्रिज उनीहरुका लागि नौलो नै थियो । त्यसैको झल्को देखियो खेलमा । दोस्रो खेलमा ४० बलमा ३० रन बनाउनुपर्ने अवस्थामा प्रशस्तै विकेट हाम्रो हातमा थियो । ३ विकेटमात्र गुमाएको अवस्थाबाट हाम्रो स्थिति बिग्रियो । हुँदा हुँदा ६ बलमा ६ रन बनाउनुपर्ने अवस्थामा पुग्दा हामीसँग ३ खेलाडीमात्र आउट हुन बाँकी थिए । त्यो अवस्था आउनुमा ‘कन्सिस्टेन्सी’ को अभाव नै मुख्य कारण बन्यो ।

भनाइको अर्थ हाम्रा मिडल तथा लो अर्डरका ब्याट्सम्यानमा अनुभव कम देखियो । धैर्यता कम देखियो । उनीहरु खेललाई ‘लिड’ गर्ने अवस्थाका देखिएनन् । त्यसैले कमजोरी छताछुल्ल भयो । जित्यौं ठीकै छ । तर, कथमकदाचित हारेको भए के हुन्थ्यो ? ती कमजोरी त क्षमायोग्य हुन्थेनन् ।

कमजोरी फिल्डिङमा पनि देखिए । पहिलो म्याचमा ठीकठाकै थियो । तर, दोस्रो म्याचमा नेपाली फिल्डिङ निकै फितलो देखियो । त्यसैले नामिवियालाई उच्च स्कोर बनाउन दियो ।

सम्भावना पनि देखियो

मिडल अर्डरका ब्याट्सम्यानहरुले सम्भावना देखाए । उनीहरुले आवश्यक परेको बेला ठूलो स्कोर पनि गर्न सक्छन् भन्ने देखाए । कुनै समय पारस खड्काको वरिपरि खेल घुम्थ्यो । पारसले खेले खेल जित्ने, खेल्न नसके हार्ने अवस्था हुन्थ्यो । हुन त उनको पछाडि नै जितको आधार हिड्यो यसपालि पनि । तर, उनीसँगै मिडल अर्डरका सरद र विनोदले राम्रो प्रदर्शन गरे । ओपनिङ जोडी ज्ञानेन्द्र मल्ल र नरेश बुढाएरले पनि स्कोर केही धकेल्न मद्दत गरे ।

बलिङतर्फ युवा सन्दीप लामिछानेले राम्रो सम्भावना प्रस्तुत गरे । १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा ह्याट्रिक लिएर तहल्का मच्चाएका १६ वर्षका चितवने ठिटोले पहिलोपटक सिनियर टिममा ठाउँ पाएका हुन् । उनले निकै राम्रो बलिङ गरे । पहिलो खेलमा १ विकेट लिएका सन्दीपले दोस्रो खेलमा २ झारे । दोस्रो खेलमा त २ मेडन ओभर पनि फाले । पहिलो र उच्चस्तरको अन्तर्राष्ट्रिय म्याचमा नै यो स्तरको प्रदर्शन भनेको भविष्यमा उनले केही गर्न सक्छन् भन्ने देखिनु हो ।

मौका १९ वर्ष मुनिको टिम क्याप्टेन राजु रिजालले पनि पाएका थिए । तर, पहिलो म्याचमा पाएको विकट किपिङका जिम्मेवारीमा उनी केही नर्भस देखिए र ब्याटिङमा पनि चम्किएनन् । यद्यपि उनी बहुप्रतिभाशाली खेलाडी हुन् । युवा टिममा उनले आफूलाई प्रमाणित गरिसकेका छन् । त्यसकारण सिनियर टिमको एउटा म्याचमा नै उनलाई मूल्यांकन गरिए अन्याय हुनेछ ।

अब के गर्ने ?

हामी कुन स्तरको क्रिकेट खेलिरहेका छौं भन्ने कुरामा मुख्य नेतृत्व स्पष्ट हुनुपर्छ । हामीले टी-ट्वान्टी विश्वकप नै खेलिसकेका छौं । एकदिवशीयमा पनि छनाैट खेल खेलिसकेका छौं । अहिलेको विश्व क्रिकेट लिग च्याम्पियनसीप पनि एशोसिएट राष्ट्रले खेल्ने सबैभन्दा उच्चस्तरको प्रतियोगिता हो । यो खेल भनेको एकदिवसीय विश्वकपसम्म पुग्ने बाटो हो । तर, यति सम्भावनायुक्त बाटोमा हिड्ने हामी अत्यन्तै साँघुरो मानसिकता र अवस्थामा छौं । हाम्रो क्रिकेट नेतृत्व लथालिङ्ग छ ।

क्रिकेटलाई कसले हाँक्ने भन्ने कुरा स्पष्ट लाइनमा छैन । अझैपनि क्रिकेट एशोसिएशन नेपाल (क्यान)को नेता को हो ठेगान छैन । यहाँ क्रिकेट विकासका लागि होइन, राजनीतिका लागि लडाइँ हुन्छ । पहिलो कुरा भनेको नेता छानिनुपर्‍यो र त्यसले स्पष्ट नीति अघि बढाउनुपर्‍यो । हामी कुन स्तरमा छौं, हामी कति समयमा कसरी कहाँ पुग्न चाहन्छौं भन्ने कुरा स्पष्ट आउनुपर्‍यो । यति भइसकेपछि एउटा मेसो आउँछ ।

दोस्रो कुरा भनेको घरेलु संरचनाको विकास हुनुपर्‍यो  । हामीसँग खै खेल्ने ठाउँ, ठाउँ भयो रे कसले खेल्ने ? हामीले ‘ग्रासरुट’मा खेलाडी खोज्न गयौं त ? सन्दीप लामिछानेको कुरा गरौं । उनलाई घरमा सम्भावना देखेर बोक्ने सरकारी निकाय वा तिनअन्तर्गतका कोही देखिए र ? उनी त आफै क्रिकेट खेल्ने उत्कट चाहनाले क्रिकेट एकेडेमी  छिरे । यसका पदाधिकारी र प्रशिक्षक राजु खड्काको ‘पहुँच’ ले राष्ट्रियस्तरसम्म देखिए र आफ्नै बलबुताले क्षमता प्रस्तुत गरिरहेका छन् ।

हामीसँग एकेडेमी छैन । खेलाडी खोज्ने मेकानिजम छैन । राष्ट्रिय प्रतियोगिता नै हुँदैन अरु कुरै छाडौं । ती किन हुँदैनन् भने फेरि कुरा जोडिन्छ, मूल नेतृत्वमै । नेतृत्वले नीति स्पष्ट नल्याएपछि ‘ल्याक’ देखिन्छ । आज २ वर्षसम्म हाम्रा राष्ट्रिय प्रतियोगिता खै ? निजी क्षेत्रको साथ लिएर घरेलु प्रतियोगिता गरौं न प्रशस्तै । अनि आउँछन् गाउँ-गाउँबाट खेलाडी । छिमेकको इण्डियन प्रिमियर लिग त्यति धेरै चर्चित छ भने हाम्रो एनपीएल किन विवादित बन्यो ? अरु त्यस्तै प्रतियोगिता किन आएनन् ? लागौं न यसैमा ।

तेस्रो कुरा हाम्रा खेलाडीमा एक्सपोजर चाहियो । बेलाबेलामा अन्तर्राष्ट्रिय म्याच खेलाउनुपर्‍यो । आफूभन्दा ठूला र प्रतिभावान मुलुकसँग खेल्न पाउनुपर्‍यो । खेल्नै नपाएपछि पदकमात्रै आस गरेर हुन्छ ? हाम्रो स्तरको अफगानिस्तान, यूएई र हङकङ अहिले एकदिवसीय स्टाटसमा छन् ।

अफगानिस्तानले अस्ति भरखरको विश्वकपमा विश्वविजेता वेस्ट इण्डिजलाई जितेको होइन ? सकिदो रहेछ त । इच्छाशक्ति र लगन हुनुपर्‍यो । नत्र अफगानिस्तान हामीसँगैको क्रिकेटर हो, हिजो हामी सँगै खेल्थ्यौं भनेर मात्रै हुँदैन । समय बितिसक्यो, उनीहरुले महत्वका साथ क्रिकेटलाई हेरे अघि बढे । तर, हामी खालि सोचिरह्यौं, लडिरह्यौं, भिडिरह्यौैंं । अनि त उही हो चाला ।

अन्त्यमा, टी-ट्वान्टी वल्र्डकप क्वालिफायर्ड भएर स्वदेश फर्किएपछि एउटा सार्वजनिक भाषणमा पारस रोए । उनले स्वदेशको अवस्था र अन्तर्राष्ट्रिय उपलब्धीबीचमा आफूलाई राखेर दाँजे र मन थाम्न नसकेर भक्कानिए । आज त्यही अवस्था फेरि आएको छ । हामी २ वर्षसम्म राष्ट्रिय म्याच र ४ महिनासम्म अन्तर्राष्ट्रिय म्याचविहीन भएरै विश्वस्तरको खेल खेल्यौं । अनि जित्यौं पनि । यसो सोच्दा कहाँबाट आयो यो ऊर्जा भन्ने लाग्छ । अनि पारसजस्तै भक्कानिन मन लाग्छ । हो नि केही छैन, केही छैन कसरी जितेको होला ? तर, यस्तै जित सधैं आइरहन्न । संयोगको पनि हद हुन्छ ।

अब हामी आगामी अगस्टमा नेदरल्याण्डमा म्याच खेल्दैछौं । आठ टिमको एशोसिएटहरुको म्याचमा हामी पाचौं स्थानमा आइपुगका छौं । यसअघिका ४ खेल हामीले गुमायौं । तर, अब फेरि गुमाउनु भनेको अन्तिम चारमा पुग्न नसक्नु हो । यदि त्यसो भयो भने हामी विश्वकपको बाटोबाट चिप्लिन्छौं । त्यसको तयारी गर्नुछ । अब आजैदेखि तयारी थालौं न आगामी दिनको । अन्तर्राष्ट्रिय एक्सपोजर दिन थालौं न खेलाडीलाई । त्यसो गर्ने हो भने नेपाली क्रिकेटको अन्तर्राष्ट्रियस्तर उकासिनेमा शंका कत्तिपनि छैन ।

(रिजाल नेपाल खेलकुद पत्रकार मञ्च, चितवनका अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment