Comments Add Comment

यात्रा अनुभूतिः कतारको वैभव र हामी निर्धा नेपाली !

नेपालीबाट के चाहन्छन् कतारीहरु ?

Narayan-kaji-katar-visit

अप्रिल  १६, २०१६ का दिन बिहान हामी कतारका श्रम, प्रशासन विकास तथा समाज कल्याण मन्त्रीसँग भेट्न दोहास्थित उनकै मन्त्रालयमा पुग्यौं । ५१ औं तलामाथि रहेको उनको भव्य कार्यालयबाट समुद्रको किनार छेउ सम्पन्नतामा मुस्काइरहेको गगनचुम्बी कतार निकै आकर्षक देखिन्थ्यो ।

खाइलाग्दा अधबैंशे मन्त्री ईशा बिन साद अल नाइमी जुफाली हामीलाई बाहिरसम्म लिन आए । आफ्ना चारजना अधिकारीहरुसहित छलफलमा बसेका मन्त्री जुफाली निकै खुल्ला र मैत्रीपूर्ण लागे ।

हाम्रो टोलीका प्रमुख नेपालका पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुका समस्याहरुका विषयमा खुलेर विषय उठान गर्नुभयो ।

वहाँले नेपाली कामदारहरुलाई कतारी कम्पनीहरुले सम्झौताअनुसार उचित तलब नदिएको, फ्री भिषा, फ्री टिकेट पूर्णरुपमा लागू नगरेको, समयमै परिचयपत्र दिने नगरेको, एउटा काम भनेर अर्कै काममा लगाउने गरेको र अवैध हुन बाध्य पारेर ठगी गरेको जस्ता विषयहरु कतारी श्रम मन्त्रीसमक्ष राख्नुभयो ।

कतार पक्षको गुनासो

मन्त्री जुफालीले आफूहरु श्रमिकहरुका समस्याप्रति संवेदनशील रहेको र दोहास्थित नेपाली दूतावासले आफू कहाँ पठाएको कुनै पनि समस्या चौबीस घण्टाभित्र समाधान गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा कतारी पक्षले नेपालमा म्यानपावर कम्पनीहरुमा समस्या रहेको हुन सक्ने बताउँदै समस्याविहीन म्यानपावर कम्पनीहरुको नाम पठाएमा आफूहरुले त्यस्तासँग मात्रै डिमाण्ड लिने बतायो । साथै, नेपालबाट कामदारहरुको श्रम सम्झौता लगायतका विषयहरुमा लामो समय लाग्ने गरेको गुनासो पनि कतार सरकारको तर्फबाट व्यक्त भयो ।

आफ्ना कम्पनीहरुको कामको अनुगमन गर्न नेपाली दुताबाससँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएको कतार पक्ष कामदारहरुका समस्याबारे जानकार र सम्वेदनशीलसमेेत देखियो । नेपालबाट उच्चस्तरीय भेटघाटमार्फत प्रष्ट भाषामा आफ्ना नियमित अडानहरु राख्न सक्दा नेपाली श्रमिकहरुका समस्या काफी कम हुने हामीले महसुस गर्‍यौं ।

Narayan-kaji-katar-visit-1

आगामी सन् २०२२ मा कतारमा फूटबलको महासंग्राम फिफा वर्ल्ड कप आयोजना हुँदैछ । आर्थिक मामिलाहरुमा पश्चिमा शक्तिहरुसँग निकै नजिक रहे पनि वल्र्ड कपको मामिलामा पश्चिमाहरु कतारविरुद्ध खुल्लारुपमै उभिँदै आएका छन् । यस मामिलामा नेपाली कामदारहरुको ईश्युलाई राजनीतिक उद्देश्यले प्रचारमूलक रुपमा उठाइएकोमा कतारीहरुमा स्पष्ट असन्तुष्टि देखिन्थ्यो ।

लगत्तै हामीले कतारका सहायक विदेश मन्त्री सुल्तान बीन साद अल मुराइखीसँग भेट्यौं । उनले लगानी सुरक्षणका लागि नेपाल र कतारका बीचमा सम्झौता जति चाँडो सम्भव हुन्छ, नेपालमा कतारी लगानी निर्यातको सम्भावना त्यतिकै शीघ्र हुने बताए ।

नेपालमा लगानीका लागि अति आवश्यक भौतिक पूर्वाधारहरुको उपलब्धताका बारेमा उनको जिज्ञासा वस्तुपरक त थियो नै, कठोर पनि थियो । हामीले कतारलाई नेपालको पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गर्न सल्लाह दिँदै नेपालबाट फूल र खानेपानीको आयात दुवै पक्षको हितमा हुन सक्ने बतायौं ।

श्रम मन्त्रीले श्रमिकका समस्यालाई जसरी प्राविधिक रुपमा समेत हेरेको पाइयो, विदेश सहायक मन्त्रीले भने यसलाई बढी राजनैतिक दृष्टिले हेरेको हामीले अनुभूत गर्‍यौं । उनको बढी सरोकार नेपाली श्रमिकहरुले पश्चिमा सञ्चार माध्यममा कतार विरुद्ध नबोलुन् र यसलाई मानव अधिकारको विषय नबनाउन् भन्ने थियो । समस्या भए सीधै सरकारी तहमा कुरा गरेर समस्याको हल निकालुन् भन्ने उनको ईच्छा थियो ।

मानव अधिकारको सवाल खडा गरी विश्वकप खोस्न आइरहेका पश्चिमा शक्तिहरुलाई नेपालले साथ नदेओस् भन्ने उनीहरुको प्रष्ट आग्रह थियो ।

कतारमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र गैरसरकारी संस्थाहरुप्रति नकारात्मक भाव रहेको पाइयो । उनीहरुले निहित उद्देश्यका साथ काम गरिरहेका र राज्य राज्यका बीचमा समाधान गर्न सकिने कयौं ईश्यूहरु त्यस्ता संस्थाका कारण थप जटिल बनेको उनीहरुको विश्लेषण रहेछ ।

नेपाली कामदारका समस्या

कतारमा कार्यरत नेपाली मजदूरहरुको ठूलो हिस्सा वास्तवमै अनेेकौं समस्याहरुले जेलिएर रहेको छ । उनीहरुले रोजगारदाताबाट पाउनैपर्ने न्यूनतम सुविधासमेत पाउन सकेका छैनन् ।

कम तलब, बिदाविहीन निरन्तरको काम, बस्ने खाने ठाउँको दुरावस्था, दक्षताको अभाव, हेपाइ आदि नेपाली मजदूरहरुका साझा समस्या हुन् । तर, कतिपय समस्याहरुको समाधान हुँदै गएको र विगतको तुलनामा कतार कामदारहरुका लागि राम्रो हुँदै गएको बताइने गरेको छ ।

कतारको वैभव

कतार आजकल बिश्वकै सब भन्दा बढी प्रति व्यक्ति बाषिर्क औषत आय भएको मुलुक हो । यसको चालु औषत आय करिब एक लाख चालीस हजार अमेरिकी डलर रहेको छ ।

तेल र प्राकृतिक ग्यासका लागि यो मुलुक विश्वकै सम्वृद्ध भण्डार हो । राजतन्त्र भएको कतारमा प्राय जनता उच्च शिक्षित रहेछन् । कतारमा पुरुषहरुले एउटै लामो कमिजले सिंगो शरीर ढाक्ने कपडा लगाउँदा रहेछन् जसलाई तोप भनिँदो रहेछ । हामीले भेटेका सबै सरकारी अधिकारीहरु यस्तै हृवार्लांगे कमिजमा उपस्थित भएका थिए ।

संसारका धनी कतारीहरु कतै पनि सुट पाइन्ट, बुटमा देखिएनन् । बरु संसारकै गरीब देशका हामी नेपाली प्रतिनिधिहरु भने कोट, टाइ, पाइन्ट र बुटमा ठाँटिएका थियौं । हामीले भेटेका कतारका कुनै पनि अधिकारीले जुत्ता लगाएको देखेनौं ।

मुस्लिम मुलुक भएता पनि कतारमा सरकारी अफिसहरुमा केही मात्रामा महिलाहरुको संख्या पनि देखियो । हामीले भेटेका विदेश मन्त्रीको ४ सदस्यीय टोलीमा २ जना महिला थिए । बूर्का लगाए पनि पुरै अनुहार चाँहि देखाएका उनीहरु सामूहिक फोटो खिच्ने बेलामा भने छलिएर लुके ।

सिंहदरबारदेखि मन्त्री निवाससम्म आगन्तुकहरुको घुइँचोमा अभ्यस्त हामी कतारका सुनसान मन्त्रालयहरु देखेर अचम्मित भयौं । त्यहाँ कोही पनि कसैलाई पर्खेर बसिरहेको देखिएन । ठूल्ठूला कोठाभित्र कुर्सी र सोफाहरु रित्तै देखिन्थे । मान्छेलाई भेट दिनुभन्दा समाजलाई डेलिभरी दिनु कति महत्वपूर्ण रहेछ भन्ने त्यहाँ गहिरो अनुभूति भयो ।

कतारमा खुल्ला सभाहरु गर्न पाइँदैन । हरेक साँझ कारखाना र निर्माण कम्पनीहरु छुट्टी भएपछि आप्रबासी मजदूरहरु साथीभाइ भेट गर्न र दिल बहलाउन दोहाका खुल्ला पार्कहरुमा जम्मा हुन्छन् ।

ती जमघटहरु नेपालका ससाना पार्टीहरुले बानेश्वर चोकमा कुर्सी र माइक राखेर गर्ने आमसभाहरु भन्दा धेरै ठूला देखिन्छन् । तर, ती कुनै आमसभा होइनन् ।

नेपाली जन प्रगतिशील मञ्च, कतारको कार्यक्रम गर्न चार घण्टाका लागि दुईसय पचहत्तर जना अट्ने एउटा हल एक महिना अगाडि बुक गरिएको रहेछ । त्यो हलमा कार्यक्रम शुरु हुनु अगाडिदेखि अन्त्य सम्म कतारी प्रहरीको डफ्फा बसिरह्यो । तोकिएभन्दा बढी संख्या भएपछि सहभागीलाई हलबाट हटाउन लगाइयो । समय समाप्त भएपछि प्रहरीले कार्यक्रम टुंग्याउन दबाव दियो । यस्तो अवस्था हामी नेपालीहरुका लागि निस्सासलाग्दो थियो ।

कतार राज्यले लिएको नवउदारवादी, राजतन्त्रात्मक, एकल सुन्नी जातीय, मुस्लिमवादी र अति पुरुषवादी नीतिप्रति फरक सोच राख्दाराख्दै पनि उनीहरुको व्यवस्थापकीय उच्च क्षमताप्रति भने हामी प्रभावित भयौं ।

सन् असीको दशकमा बेलायतबाट स्वतन्त्र हुँदासम्म कतारमा खासै विकास भएको थिएन । समुद्रको छेउमा सामान्य गुजारामुखी व्यापार व्यवसाय गरेर बसेका कतारीहरुले विश्वको औद्योगीकरणसँगै आफ्नो खनिज व्यापारमा वृद्धि गरे । आज कतार विश्वको एक महत्वपूर्ण अर्थतन्त्रका रुपमा विकसित भइरहेको छ ।

राजनीतिक स्थिरता र श्रोत साधनको व्यापक परिचालन कति महत्वपूर्ण छ भन्ने कतारले विश्वलाई देखाइरहेको छ । चार दिन लामो व्यस्त कतार बसाइ सकेर हामी नेपाल र्फकन दोहा विमानस्थल आइपुग्यौं । मिनिष्टरियल लाउन्जमा चिसो तातो पिलाएर राम्रो खातिरदारी गरियो । ब्यागेजहरु अगाडि नै प्लेनमा पठाइवरि हामी विशेष कारबाट सीधै प्लेनसम्म पुर्‍याइयौं ।

सरकारका कुनै एक कर्मचारीले हामीलाई प्लेनको एअर होस्टेजको जिम्मा लगाइदिँदै भने -यिनीहरु भीआइपीहरु हुन्, तर इकोनोमिक सीटमा बसेर जान्छन् । लाली पाउडरको घ्याम्पोबाट भर्खरै निस्किएजस्ती ती परिचारिका कानसम्म ओठ च्यातेर हाँसिन् । हामीलाई खिसी गरिन् कि स्वागत ? थाहा पाउन सकिएन ।

मजदूर साथीहरुले राखिदिएको खजुरको पाकेट हल्लाउँदै सुटकेस डोर्‍याएर काठमाण्डौ विमानस्थलबाट बाहिरिँदा मन एक तमासको भैरह्यो । मनभरि कतारको वैभव, निर्धा नेपाली मजदूरहरु र आफ्नो देशको चित्र नाचिरह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment