Comments Add Comment

मधेसमा बस्ने पहाडिया: गर्वका साथ ढाका टोपीमा !

मधेस डायरीः यस्तो भेटियो मधेसमा बस्ने पहाडियाको रामकहानी

madesh_photo (1)भूगोल र भूराजनैतिक अवस्थाका कारण नेपालको मधेस महत्वपूर्ण भूभाग हो । भूभागसँगै त्यस स्थानमा बसोबास गर्ने मानिसहरूको सामजिक पहिचान, भाषा, धर्म, संकृति, रङ्ग र रितिरिवाज आदिको व्याख्या हुने गर्दछ ।

यिनै सामाजिक विविधताका मिश्रणहरुलाई ठीक ढङ्गले सम्बोधन गर्न नसक्दा मधेसी समुदाय राज्यको मुलधारमा आउन सकेनन् र पहाडिया अहङ्कारवादीहरुको एकल जातीय शासनले युगौंदेखि हैकम चलायो भन्ने बहस मूलधारको राजनीतिमा देखिन्छ ।

पटक-पटक भएको मधेस आन्दोलन र पछिल्लो नाकाबन्दीका कारण मधेसीहरुको मुड स्थिर छैन र उनीहरू नेपालको समग्र राजनैतिक उपलब्धिप्रति असन्तोष प्रकट गर्दछन् भन्ने कुरा प्रष्ट भइसकेको छ । मधेसी समुदायले यो राज्यभित्रै अनागरिक महसुस गर्नुपरेको मधेस आन्दोलनका अगुवाहरूको दृष्टिकोण बाहिर आइरहेका छन् ।

बेला-बेलामा पहाडियाहरूलाई मधेस भूमिबाट लखेट्ने अभियानहरू पनि नचलेका होइनन् । यसलार्इ साम्प्रदायिक रुप दिने गिरोहहरु पनि सक्रिय छन् ।

ढाका टोपी लगाएका र गहूँगोरो वर्णका नेपालीहरुलाई पहाडियाको नाममा धपाउने अभियान चल्दा सामाजिक सदभाव मात्र बिग्रेको थिएन । पूर्वी र पश्चिम नेपालबाट विभिन्न समयमा बसाइँ सराइ गरेर मधेस झरेका मानिसहरुले आफ्नो जग्गा, जमीन छाडेर भाग्नुपरेको थियो । आफ्नो शीरको ढाका टोपीलाई लुकाएर राख्नुपर्ने बाध्यता थियो ।

पछिल्लो पटकको मधेस आन्दोलन ( नाकाबन्दी ) को समयमा पनि डर र त्रासका कारण कैयौं पहाडियाहरू करोडौंको जग्गा, जमिन र सम्पत्ति छाडेर विस्थापित भएका छन् ।

यस्ताखालका सामप्रदायिक हल्ला र अखबारबाजीका कारण यो पङ्तीकार निकै चिन्तित भएको थियो । चिन्तित यो मानेमा कि, मानिसहरुको राजनैतिक विचार आ-आफ्नो ठाँउमा हुन सक्छन् ।

तर, सामाजिक जीवनका अनेक आयामहरु आ-आफ्ना हुन सक्दैनन् । सूचना र प्रविधिका कारण सिङ्गो विश्व एउटा सानो गाउँजस्तै भएको छ । बसाइँ सरेर मधेसमा गएका पहाडिया र रैथाने मधेसीहरुवीच बस्नै नसक्ने गरी सामाजिक संरचना किन भत्किँदैछ ? भनेर बुझ्न म यही साता वीरगञ्ज आएको हुँ ।

एक एनजीओको तथ्याङ्कका अनुसार पर्सा जिल्लाको वीरगञ्जमा मात्रै ३० प्रतिशतभन्दा बढी पहाडियाहरू बसाइँ सराइ गरेर आएका छन् । भारतको बिहारबाट अङ्गीकृत नागरिता लिई बस्नेहरु समेत लाखौं छन् । यद्दपि पहाडियाहरुको मधेस बसाइँ सराइलाई मधेसका नेताहरुले महेन्द्रकालीन नीतिसँग दाँजेर हेर्दछन् ।

तर कांग्रेस, एमाले र एमाओवादी सरकारमा छँदा बिहारीहरुले प्राप्त गरेका लाखौं अङ्गीकृत नागरिताबारे भने उनीहरू मुख खोल्दैनन् । जे होस् मधेसका समस्याहरू सुनियोजित रूपमा उठिरहेका छन् ।

वीरगञ्ज पुगेर त्यहाँका पहाडियाहरुसँग नजिक हुन भन्दा पहिले म एक पहाडिया अनुहार बोकेको मानिसलाई मधेसमा कस्तो व्यवहार गरिँदो रहेछ भनेर जान्नका लागि टाँगा गाडा भाडामा लिई वीरगञ्ज शहर परिक्रमा गरें । धेरै स्थानमा पैदल यात्रा पनि गरें । स्थानीय युवाहरुसँग बसेर गफिने, क्रिकेटको कुरा गर्नेसम्मको काम गरें । तर, मलाई एकजनाले पनि तँ पहाडी कताबाट आइस् भनेर प्रश्न उठाएनन् । नराम्रो भावनाले हेरेनन् । अपशब्द प्रयोग गरेनन् ।

madesh_photo (6)वीरगंज शहरको ब्यस्त सडकमा नुवाकोट रातमाटा स्थायी घर बताउने सीताराम सुवेदी शीरमा नेपाली ढाका टोपी ढल्काउँदै हिडिँरहेका थिए । उनको नजिकैबाट सयौं सिक्साहरु, टांगा, बयलगाढा गुडिरहेका थिए । मधेसीहरु हिडिँरहेका थिए । तर, उनको शीरमा एकजनाले पनि नजरलाई कैद गरेन । उनी पनि गौरव र निडरका साथ ढाका टोपी ढल्काएर हिँडिरहेका देखिन्थे । सुवेदी यहाँ सामान्य ब्यापार गरेर बस्छन् र शीरमा नेपाली ढाका टोपी लगाउन कहिल्यै बिर्सिदैनन् ।

एक समय हल्ला थियो, लौ मधेसमा त ढाका टोपी लगाउनेलाई त खेद्छन् रे । कतिपय मधेसी नेताहरुको मुखारबिन्दुबाट पनि यस्तो धम्की सुनिन्थ्यो । यो प्रश्नलाई हल गर्न मैले उनै टोपीधारी सुवेदीलाई प्रश्न गरें-“दाइ यसरी खुलम्खुला ढाका टोपी लगाएर हिँड्दा तपाईलाई समस्या हुँदैन ?” उनी त छक्क परेर उल्टै प्रश्न गर्न पो लागे । “केको समस्या भाइ ? किन समस्या ? यो मेरो टोपी हो, पूर्खाको चिनारी हो । मलाई के को डर ? मधेसीहरूले धोती लगाउँछन्, अनि म टोपी । जब मैले धोती भनेर जिस्काउँदैन, तबसम्म उनीहरुले मलाई केही गर्दैनन् ।”

सोलुखुम्बू बडा नं ५ जन्म घर बताउने डोरजमान राई वीरगञ्ज बस्न थालेको ४० वर्ष पुग्न थाल्यो । उनको घर, घडेरी, आफन्तजन, ब्यापार सबै मधेसीको आँगनमा छ । राई भन्छन्- “म हिमालको चिसोमा जन्मेको मान्छे, मधेसमा कपाल फुलाएँ । म बसाइँ सरेर नेपाल नै आएको हुँ, विदेश गएको होइन नि’ ।

madesh_photo (5)रार्इको शीरमा पनि कालो रंगको नेपाली टोपी कहिल्यै छुट्दैन, उनको टाँगा छ, जस्लाई स्थानीय रामजनम चौधरीले दिनभर चलाएर निमेक गर्छन्” ।

राई थप्छन्-“विदेशीको उक्साहटमा चल्ने कतिपय स्वार्थी नेताहरुका लागि भाडामा प्रयोग भएका गुण्डाहरुले पहाडियालाई लखेटौं भन्छन् । यस्तो गर्दा उनीहरूलाई जग्गाजमिन सस्तोमा मिल्ने हुन्छ । हेर्नुहोस् यो नाकाबन्दीमा पहाडियाको गाडी खोजी-खोजी जलाउने काम भयो । तर, आफूले उल्टै तेल बच्ने काम गरे । हजारौं मधेसीहरु पहाडका विभिन्न जिल्लाहरुमा काम गर्नका लागि जान्छन्, उनीहरुलाई पनि धपाउने ? जानै नदिने ? बस्नै नदिने ? काम गर्नै नदिने ? के यस्तो कुकर्म पनि कुनै राजनैतिक कृयाकलाप हुन्छ ?”

पाँचथर घर बताउने राजु लामा मधेस झरेको २० वर्ष पुग्यो । सुरुमा उनले सिराहा र सप्तरीमा रिक्सा चलाए । पछिल्लो एक दशकयता उनी वीरगञ्जमा नै रिक्सा चलाएर परिवारको जिविकोपार्जन गरिरहेका छन् ।

madesh_photo (2) उनको अनुहारबाट थाहा हुन्छ, उनी पहाडिया हुन् । तर, पसीना पुछ्नका लागि गलामा गलबन्दी जस्तो रुमाल झुण्याउँछन् उनी । र, कता-कता मधेसी हुन् कि भन्ने भान पर्छ । आफुलाई पहाडिया भनेर अहिलेसम्म मधेसका नेपालीहरुले हेलाहोचो नगरेको लामाको अनुभव छ ।

तर, जब बिहारबाट आएका मधेसीहरू भेटिन्छन्, आफू निकै अपमानित हुन परेको, रिक्सा चलाएवापत भाडा पनि नदिने, ज्यान मार्ने धम्की दिने, पहाडमा लखेटिने धम्की दिने जस्ता कुरा सुन्न परेको लामा बताउँछन् । उनी थप्छन्-‘हामीलाई अफ्ठ्यारो हुन लागेमा मधेसका नेपाली युवाहरुले सहयोग गर्छन् । उनीहरुले पहाड राम्रो छ, काम गर्न जाने हो भन्दै रमाउँछन् ।” त्यसैले मधेसमा जातजाति, धर्म र भूगोलको आधारमा कल, झगाडा गराउने अरु कोहि नभएर केवल बिहारिहरु नै भएको लामाको बुझाइ छ ।

बाग्लुङ, सुखौरा स्थायी घर भएका विक्रम सुनार, र उनकी पत्नी राधा राना सिमरा एयरपोर्ट नजिक घर किनेर बसेको ३० वर्ष हुन लाग्यो । विक्रमले सुनचाँदीको काम गर्छन् । उनीहरूका सबैभन्दा धेरै ग्राहक मधेसीहरु नै छन् । उनीहरूले अन्तरजातीय विवाह गरेका हुन् ।madesh_photo (4)

राधा कोलकातामा जन्मेकी नेपाली मुलकी भारतीय महिला हुन् । विवाह पश्चात फेरि नेपाली नै भइन् ।

विक्रम भन्छन्- “म पहाडिया हुँ भन्ने सारा संसारलाई थाहा छ, तर आन्दोलनको समयबाहेक अरू सामान्य बेलामा मलाई तँ पहाडिया होस् मधेस छोड भनेर कसैले भनेको छैन ।” उनी थप्छन्-” आन्दोलन हुँदा यस्ता कुरा आउँछन्, तर मलाई गाली दिने, धम्काउने कसैले गरेको छैन । मेरा छिमेकीले त्यसो गर्दैनन् । बाहिरबाट ल्याइएका नचिनेकाहरूले त्यसो गरे भने बेग्लै कुरा ।’

मधेस घुमेपछि मेरो अनुभव

जब म वीरगञ्ज-रक्सौल सीमानाका पार गरेर भारततर्फको भूमिमा प्रवेश गरें, त्यसपछि मलाई बिहारी नागरिकहरुले बस्न खान दिएनन् । उनीहरुको भाषामा अनेक गालि गरे, जोडसँग हाँसे । ड्युटी गरिरहेका भारतीय प्रहरीहरुको ब्यवहार त झन् कल्पना नै गर्नै नसकिने थियो ।

सुरुमा भारतीय प्रहरीले मलाई चिनियाँ नागरिक भनेर समात्यो । मैले राम्रोसँग हिन्दी बोलेपछि उनीहरुलाई म नेपाली भन्ने त थाहा भयो तर पहाडिया नेपाली

रक्सौलको तरकारी बजारबाट तरकारी किनेर ल्याउने नेपालीहरुलाई दश, पाँच रुपैयाँ भए पनि उनीहरु उठाउथे मानौं कि उनीहरु प्रहरी होइनन्, हप्ता असुल्ने गुण्डा हुन् ।

सुरुमा भारतीय प्रहरीले मलाई चिनियाँ नागरिक भनेर समात्यो । मैले राम्रोसँग हिन्दी बोलेपछि उनीहरुलाई म नेपाली भन्ने त थाहा भयो तर पहाडिया नेपाली ।

उनीहरूले मेरो ल्यापट र क्यामेराका सबै फोटो डिलिट गरिदिए । म बिहारको केही स्थान घुम्न चाहान्थें । मधेसी र बिहारीहरुवीचको सभ्यता र संकृतिबारे अध्यन गर्ने मेरो निकै पुरानो ईच्छा थियो ।

उनीहरुले अनावश्यक केरकार गर्न थालेपछि म निराश भएर नेपालको भूमिमा फर्कें र यी कुरा नेपालका मधेसी मित्रहरुलाई सुनाएँ । उनीहरु भन्थे-“साला बिहारीहरुले हाम्रो समेत बदनाम गरिदिन्छन् । उनीहरुकै कारण हामीले समस्या भोग्नुपरेको छ ।”

नेपालको भूमिमा ड्युटी गरिरहेका नेपाली प्रहरीहरुको शैली, अनुसाशन हजार गुणा राम्रो थियो भारतीय प्रहरीहरुको तुलनामा ।

सीमा सुरक्षामा रहेका सिपाहीको सपनाबारे अर्को स्टोरी अवश्य तयार पार्नेछु ।

वास्तवमा नेपाली मूलका मधेसीहरू मायालु र दयालु स्वाभावका हुदाँ रहेछन् । पहडियाहरुप्रति कुनै गलत मनासाय र दुश्मनीको भावना उनीहरुमा छैन, जति बाहिर प्रचार गरिएको छ ।

madesh_photo (3)आन्दोलनका बेलामा समेत बिहारी मधेसीहरुको उल्लेखनीय सहभागिता भएको, आफूहरु त पोखरा, गुल्मी, दोलखा, रामेछापमा आरामसँग काम गरेर बसेको यहाँका युवाहरु सुनाउँछन् । वीरगञ्जमा डेराभाडा लिएर बस्ने बिहारीहरुको सङ्ख्या निकै धैरै भएको र केही वर्षपछि उनीहरुका हातमा नेपाली नागरिता हुने गरेको चिन्ता वीरगञ्जका मधेसी युवाहरुको छ ।

कालो अनुहार र फरक भाषा भए पनि आफू नेपाली भएको, र हिमाल वा पहाडमा बस्ने दाजुभाइको पनि अनुहार र भाषा नमिल्ने भएकाले अनुहार र भाषाका आधारमा मात्रै म नेपाली, तँ विदेशी भन्ने गलत धारणा विकसित हुँदै गएको मधेसका युवाहरुको बुझाइ छ । यो समस्यालाई हल गर्न सकेमा नेपालमा दिगो शान्ति र स्थिरता हुने अनि विदेशीहरुले हेप्न नपाउने उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment