Comments Add Comment

पैसा तिर्न नसक्दा विद्यालयले सर्टिफिकेट दिएन, बालबालिका विद्यालय जान वञ्चित

१७ वैशाख, नवलपरासी । कावासोती नगरपालिका शेरगञ्जका रामबहादुर माझी केही दिनदेखि पुरै एकोहोरो भएर माछा मारिरहेका छन् । बिहान उठेदेखि साँझसम्म माछा मार्दैमा र्फुसद हुँदैन उनलाई ।

माझीको यो व्यस्तताको मुख्य कारण हो छोराको प्रमाणपत्र । कक्षा ५ बाट पास भइसके पनि पैसा नतिरेकाले उनका छोरा दिपेश माझीलाई विद्यालयले प्रमाणपत्र दिएको छैन । प्रमाणपत्र नदिँदा कक्षा ६ मा भर्ना हुन पाएका छैनन् । विद्यालयबाट छोराको प्रमाणपत्र निकाल्न उनलाई पैसा कमाउनु छ, पैसा कमाउनलाई धेरैभन्दा धेरै माछा मार्नु छ ।

स्थानीय दुर्गा भवानी प्राविबाट कक्षा ५ पास गरेका हुन् दिपेशले । यस विद्यालयमा ५ कक्षासम्म मात्रै पढाई हुने भएकाले ६ कक्षा पढ्न उनले अलि टाढा रहेको चण्डेश्वरी माविमा जानुपर्ने छ । तर, ५ कक्षा पास भएको प्रमाणपत्र नभइकन ६ कक्षामा भर्ना लिँदैन । त्यसैले विद्यालय खुलेको दुई साता भइसक्दा पनि दिपेश घरमै बसिरहेका छन् ।

उनकै जस्तो अवस्था छ अन्य ४, ५ जना बालबालिकाको । उनीहरु पनि कक्षा ५ पास भए, तर कक्षा ६ मा भर्ना हुन सकेका छैनन् । सर्टिफिकेट निकालिसके पछि विद्यालयले लिने भर्ना शुल्क तिर्न यी बालबालिकाका अभिभावकलाई धौधौ पर्छ । त्यति मात्र होइन पुस्तक, कापी, कलम र विद्यालय पोसाकको पनि जोहो गर्न अर्को महाभारत ।

दिपेशका बुवा रामबहादुरले पैसा नभएकै कारण छोराको सर्टिफिकेट निकाल्न नपाएको दुखेसो गरे । आफ्नो छोराको पढ्ने चाहनालाई मार्न नदिन मेहेनत गरिरहेको उनले बताए ।

शेरगञ्जको स्थानीय सन्तबहादुर माझीका अनुसार गत वर्ष यस गाउँमा १५ जना बालबालिका आर्थिक अभावले गर्दा विद्यालयको पहुँच बाहिर थिए । त्यस्तै रहजर पुनर्बास बोटेटोलका १६ जना बालबालिका गत वर्ष भर्ना भएर पनि विद्यालय गएनन् । अहिले ती बालबालिकालाई पुनः विद्यालयमा भर्ना त गरिएको छ तर, उनीहरु नियमित पढ्न जाने अवस्था छैन ।

बोटे टोलका स्थानीय बासिन्दा एवम् नवजागरण प्राविका विद्यालय व्यवस्थापन समितिका सदस्य टेकबहादुर माझीले आर्थिक अभावसँगै चेतना अभावले पनि बालबालिकाहरु विद्यालयबाहिर रहेको बताए । भर्ना निःशुल्क रहे पनि सबै बालबालिका भर्ना नहुने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment