१८ वैशाख, काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि ६० हजार ५ सय भन्दा बढी युवाले आवेदन दिएका छन् ।
कोरियाले यो पटक ३१ सय नेपालीलाई लैजानेछ । तर, आगामी असार ४ र ५ गते सञ्चालन हुने भाषा परीक्षामा सामेल हुन चार दिनमा ६० हजार बढीको आवेदन परेको छ ।
अहिले आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ । र, साढे ६० हजारमा १ सयसम्म आवेदक थप हुन सक्ने इपीएस कोरिया शाखाले जनाएको छ ।
गत वर्ष ८ हजारका लागि संख्या ५१ हजार ५ सय मात्र थियो । तर, यो पटक कोटा थोरै भएपनि धेरैको आवेदन परेको छ ।
तर, यो पटक दक्षिण कोरियाले भाषा परीक्षामा ३ हजार १ सय नेपालीलाई मात्रै उत्तीर्ण गराउने बताएको छ । तर, यसमा आवेदन दिनेको संख्या भने गतवर्षको भन्दा झण्डै ९ हजारले बढेको इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।
धरान केन्द्रमा सार्वाधिक आवेदन
काठमाडौंबाट मात्रै ३१ हजार भन्दा बढी युवाले आवेदन भरेका छन् । काठमाडौंमा ५ वटा केन्द्रहरुमा आवेदन बुझिएको थियो ।
काठमाडौंपछि सबैभन्दा बढी आवेदन धरानमा परेको छ । धरानबाट १० हजार ५ सय भन्दा बढीले आवेदन भरेका छन् । धरानमा पहिलो दिनमा ३ हजार २ सय ३६, दोस्रोमा ३ हजार ३ सय ४८, तेस्रोमा ४ हजार ६० र चौथो दिन आज १ हजार ५ सय ५० भन्दा बढीले आवेदन भरेको निर्देशक बास्तोलाले बताए ।
केन्द्रगत हिसावले धरानको सभागृहमा रहेको केन्द्रमा सबैभन्दा बढी आवेदन परेको छ । काठमाडौंकै केन्द्रहरुमा पनि त्यहाँको जति आवेदक उपस्थित भएनन् ।
जनकपुरमा न्युन
मधेसका लागि लक्षित गरेर जनकपुरमा आवेदन संकलन केन्द्र राखिएको थियो । तर, निकै कम मात्र आवेदन परेको छ । जनकपुरमा साढे २ सय आवेदन पनि परेनन् । जनकपुरमा पहिलो दिनमा ८३, दोस्रोमा ४३, तेस्रोमा ७० र आज चौंथो दिनमा २२ जनाले दरखास्त दिएका छन् ।
पोखरामा पहिलो दिनमा ३ हजार ७० जाने आवेदन दिएका थिए भने दोस्रो दिनमा ३ हजार २ सय २८, तेस्रो दिनमा २ हजार ५ सय ४९ र आव झण्डै ८ सयले आवेदन दिएको इपीएस शाखाले जनाएको छ ।
यी आवेदक सबैले भाषा परीक्षा पोखरामै दिन पाउनेछन् । अन्य केन्द्रबाट भर्नेहरु भने काठमाडौं नै आउनुपर्नेछ ।
महिला आवेदक बढ्दै
यसपटक महिला आवेदकको संख्यामा पनि वृद्धि भएको निर्देशक बास्तोलाले बताए । गतवर्ष कुल आवेदकको १० प्रतिशत मात्रै महिला हुने गरेकोमा यो वर्ष झण्डै १५ प्रतिशत महिलाले आवेदन दिएको अनुमान छ ।
‘गतवर्ष भन्दा धेरै महिला आवेदन भर्न लाइमा आए’ बास्तोलाले भने-‘१२ देखि १५ प्रतिशत महिला पनि परीक्षामा सहभागी हुनसक्ने देखियो ।’
अब लाइन बस्नु पर्दैन
शाखाले अर्को वर्षदेखि आवेदन दिन लाइनमा बस्नु नपर्ने जनाएको छ । शाखाका निर्देशक बास्तोलाले आवेदन प्रणालीको सफ्टवेयर निर्माण अन्तिम चरणमा पुगेकाले अर्को वर्ष घरमै बसेर अनलाइनमै फारम भर्न पाइने बताए ।
उपत्यकासहित डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा आवेदन केन्द्र तोकिएको थियो । सबै आवदेन केन्द्रमा पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो र चौंथो दिन यवाको भीड कम थियो । यसपटक आवेदन भर्न लाइनमा बस्दा टोकन प्रणाली कायम गरिएको थियो ।
यो वर्ष आवेदन बुझ्न उपत्यका भित्र ३ सय र उपत्यका बाहिर २ सय भन्दा बढी कर्मच्ारी खटिएका थिए । कोरिया जाने भाषा परीक्षामा लागि धेरै डिग्रीहोल्डरहरुले पनि फारम भरेका छन् ।
प्रतिक्रिया 4