१९ वैशाख, काठमाडौं । अर्थ मन्त्रालय नयाँ आर्थिक वर्ष ०७३/०७४ को बजेट निर्माणमा जुटेको छ । मन्त्रालयका कर्मचारीहरु ढोकै बन्द गरेर बजेट निर्माणमा जुटेका छन् ।
हरेक वर्ष नयाँ बजेट निर्माणको अन्तिम चरणमा अर्थ मन्त्रालयको ढोका थुन्ने गरिन्छ । नयाँ संवैधानिक व्यवस्थाअनुसार यो वर्ष जेठ १५ गते नै नयाँ आर्थिक वर्षको बजेट ल्याउने घोषणा गरेको सरकारले चैत अन्तिमदेखि नै अर्थ मन्त्रालय ढोका थुनेर बजेट निर्माणमा लागेको हो ।
सबै ढोका खुल्ला राख्दा बजेट माग्न जानेहरुको भीडले काम गर्न नपाइने भएकाले ढोका थुनेर बजेटको तयारी गर्ने प्रचलन रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्रालय प्रवेश गर्ने चारवटा ढोकामध्ये पछाडिपट्टिको ढोका (जुन ढोकाबाट मन्त्रीको प्रवेश हुन्छ) मात्रै खुल्ला छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि ९ खर्ब ९ अर्ब रुपैयाँ बराबरको बजेट तयार गर्न अर्थ मन्त्रालयलाई सिलिङ तोकेको छ । गत वर्ष सरकारले ८ खर्ब ८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।
सरकारले हालसम्म नयाँ आर्थिक वर्षको बजेटको मन्त्रालयगत सिलिङ भने सार्वजानिक गरेको छैन ।
रोजगारी सिर्जना, भूकम्पपछिको पुनर्निमाण, उच्च आर्थिक वृद्धि र मुल्य वृद्धि नियन्त्रण नै बजेको प्राथमिकता रहेको अर्थमन्त्री विष्णु पौडेलले बताइसकेका छन् । मन्त्री पौडेलले बजेट भाषण गर्नु १५ दिनअघि संसदलाई बजेटका प्राथमिकताबारे जानकारी गराउने छन् ।
हेर्नुहाेस् सुनसान अर्थ मन्त्रालयका केही दृश्य
प्रतिक्रिया 4