
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको अर्थतन्त्रमा सूचकहरू सबल भए तापनि आर्थिक गतिविधि सुधार हुन नसक्दा मूल्यवृद्धि न्यून रहेको छ।
- बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रको लगानी गत आवको तुलनामा ७.३ प्रतिशतले बढेको छ।
- रेमिट्यान्स, विदेशी विनिमय सञ्चिति र आयात-निर्यातमा सुधार भए तापनि आर्थिक गतिविधि र मूल्यवृद्धिमा चुनौतीहरू कायम छन्।
२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष वैशाखसम्म नेपालको अर्थतन्त्रमा अधिकांश सूचक सबल देखिएका छन् । तर, अर्थतन्त्रका सूचक सबल भए पनि आर्थिक गतिविधिमा सुधार आउन नसक्दा मूल्यवृद्धि भने हालसम्मकै न्यून २.७७ बिन्दुमा पुगेको छ ।
अर्थतन्त्रमा सरकारी खर्च तथा निजी क्षेत्रको लगानी बढ्न नसक्दा आर्थिक गतिविधिमा सुधार आउन नसकेको हो ।
१) चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रको लगानी ७.३ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा ४.७ प्रतिशतले मात्रै बढेको थियो । गत आवको तुलनामा चालु आवमा निजी क्षेत्रतर्फको कर्जा बढे पनि आर्थिक गतिविधि बढाउन योगदान दिने गरी कर्जा प्रवाह बढ्न नसकेको हो ।
२) चालु आव विदेशी विनिमय सञ्चिति १८ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । गत आव सोही अवधिमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो । चालु आव १० महिनाको सञ्चितिले १४.६ महिनाको वस्तु तथा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
३) चालु आव १० महिनामा रेमिट्यान्स आप्रवाह बढेर १३ खर्ब ५६ अर्ब पुगेको छ । यो रेमिट्यान्स गत आव सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढेको हो ।
४) चालु आव वैशाखसम्म उपभोग केही बढेको देखिन्छ । उपभोग बढेसँगै आयात पनि १० प्रतिशतभन्दा धेरैले बढेको छ ।
५) चालु आव वैशाखसम्म बैंकहरूको कर्जाको औसत ब्याजदर ८ प्रतिशतमा झरिसकेको छ । वित्तीय प्रणालीमा अधिक तरलता र कर्जाको माग बढ्न नसक्दा ब्याजदर निरन्तर घटेको हो ।
६) आर्थिक गतिविधिमा आएको सुस्तताको असर मूल्यवृद्धिमा देखिएको छ । मूल्यवृद्धि विस्फीतितर्फ उन्मुख हो कि भन्ने जोखिम देखिएको छ ।
७) आन्तरिक उत्पादन बढ्न नसकेपछि तेस्रो मुलुकबाट आयात गरेर भार निर्यात भएको भटमास तेलका कारण निर्यातमा उच्च सुधार आएको देखिएको छ ।
८) रेमिट्यान्स आप्रवाहमा आएको सुधार, न्यूनतम आयात तथा निर्यातमा देखिएको सुधारका कारण शोधनान्तर स्थितिमा सुधार देखिने क्रम कायम छ ।
९) नेपालीहरू विदेश भ्रमण तथा अध्ययनका लागि जाने क्रममा भने कमी आउन सकेको छैन । चालु आव वैशाखसम्म विदेश भ्रमण र अध्ययनका लागि नेपालीले १ खर्ब ८५ अर्ब खर्च गरेको केन्द्रीय बैंकले जनाएको छ ।
१०) राजनीतिक अस्थिरता तथा लगानीमैत्री वातावरण अभावका कारण वैदेशिक लगानीकर्ताको आकर्षण घटिहेको अवस्थामा पनि प्रत्यक्ष वैदेशिक लगानीमा भने समान्य सुधार आएको छ ।
प्रतिक्रिया 4