१९ वैशाख, धादिङ । मलेखु तथा त्यस आसपास क्षेत्रका बालबालिकामाथि हुने श्रम शोषण तथा यौन हिंसा लगायत जोखिम बढेपछि तिनको अधिकार संरक्षण गर्न विभिन्न किशोरी समूह तथा बाल क्लब स्थापना भएका छन् ।
करिब ४० किशोरी समूह र ३० बाल क्लबले सक्रिय गतिविधि सञ्चालन गरेका छन् । स्थानीय बुद्धिजीवी तथा समाजका विभिन्न अभियानकर्मीको सहयोगमा सुरु भएका त्यस्ता संस्थाले विशेष गरी १० वर्षदेखि १९ वर्षसम्मका किशोरकिशोरीको हकहित तथा अधिकारलाई संरक्षण गर्न बहस र पैरवी गर्छन् ।
बालबालिकामाथि स्थानीय होटल तथा खाजाघरमा जानेर वा नजानेर हुँदै आएका श्रम शोषणका साथै त्यस क्षेत्रको छेउछाउमा हुन सक्ने व्यावसायिक यौन क्रियाकलाप र दुव्र्यवहारविरुद्ध ती संस्थाले विभिन्न अभियान सञ्चालन गरेका छन् ।
सुनौलो बिहानी समूहका अध्यक्ष पूजा पौडेलले अहिलेका बालबालिकाले भविष्यमा मुलुकको राष्ट्रिय नीति सञ्चालन गर्ने हुँदा उनीहरुको अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिए । स्थानीय स–साना किशोर किशोरीलाई उनीहरुको सक्षमता अनुसारको अवसर उपलब्ध गराउन आफ्नो संस्था सक्रिय रहेको बताए ।
धार्केदेखि मलेखु हुँदै मुग्लिनसम्मको राजमार्ग क्षेत्रमा करिब दुई हजारभन्दा बढी चमेना तथा भोजनघर र केही अतिथि घर छन् । त्यस मार्ग भएर दैनिक ठूला साना गरी पाँच हजार सवारीसाधन दैनिक आवतजावत गर्ने गरेको पाइन्छ ।
स्थानीय सङ्घसंस्थाले गरेको अनुसन्धानबाट त्यस क्षेत्रका होटल रेस्टुराँमा काम गर्ने युवतीलाई सवारी चालकले ललाइफकाई माया जालमा फसाउने, मोबाइल नंबाट राम्रो जागिर लगाइदिने, विवाह गर्छु भन्ने जस्ता विभिन्न आश्वासन दिएर अन्यत्र बोलाउने, शारीरिक सम्पर्क राख्ने, उनीहरुलाई नराम्रो काम गर्न बाध्य हुने गरी कहीँ कतै लगेर बिक्री गर्ने गरेको पाइन्छ ।
स्थानीयवासी बालिका पार्वती पाठकले गरिबीका कारण बालबालिका श्रम शोषणको जोखिममा रहेको र काम गर्दै जाँदा उनीहरु यौनजन्य दुर्व्यवहारको पनि सिकार हुने गरेकामा चिन्ता व्यक्त गरिन् ।
वागेश्वरी उमाविमा कक्षा ९ मा अध्ययन गर्दै गरेकी वागेश्वरी किशोरी समूहकी अध्यक्ष समेत रहेकी अनिशा भुजेल हेर्दा सानी देखिए पनि उनको गहकिला कुरा तथा परिपक्व निर्णय लिनसक्ने क्षमताले धेरैले उहाँबाट अपेक्षा राखेका छन् ।
भुजेलले गाउँ ठाउँमा विद्यमान कुरीति तथा गलत कार्यलाई निरुत्साहन गर्न शिक्षाको विकास गर्न खाँचो रहेको औँल्याउँदै सञ्चार क्षेत्रले समस्याको यथार्थ चित्रण गरी बालअधिकार संरक्षणमा सहयोग गर्न आग्रह गरिन् ।
धादिङमा एउटा नगरपालिका तथा ४६ गाविस छन् । कृषिमा आधारित यहाँका मानिस सोझा र परिश्रमी देखिन्छन् । प्रायः स्थानीयवासीको पेसा भनेको कृषिपछि होटल सञ्चालन रहेको स्थानीय पत्रकार केशव दुवाडीले बताए ।
सामाजिक रुपान्तरणका लागि युवा–नेपाल नामक सामाजिक संस्थाले स्थानीयवासी किशोरीलाई व्यावसायिक यौनशोषण तथा बाल विवाहविरुद्ध स्थानीयवासीसँग समन्वय र सहकार्य गरी अभिमुखीकरण तालिम सञ्चालन गरेको संस्थाकी नेहा शर्माले जानकारी दिए । संस्थाका कार्यक्रम संयोजक भिक्टोरी थापाले स्थानीय किशोरी समूहले स्थानीय गाउँ समाजमा रहेका विकृति न्यूनीकरण गर्न राम्रो भूमिका निर्वाह गरेको बताइन् । रासस
प्रतिक्रिया 4