Comments Add Comment

इतिहासले गर्‍यो मजाक ! प्रेस काउन्सिलमा नटवरलाल !

Kp-oli-with-Dipak-Pathak

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ महिना लामो अथक प्रयासपछि अन्ततः प्रेस काउन्सिल नेपालको सदस्य पदमा दीपक पाठक मनोनित भएका छन् ।

एमाले नेता एवं सञ्चारमन्त्री शेरधरन राई र पार्टी सचिव प्रदीप ज्ञवालीसमेतले विरोध गर्दागर्दै प्रहरीको फरार सूचीमा रहेका पाठकलाई प्रधानमन्त्री ओलीको मुढे बलमा काउन्सिलको सदस्य बनाइएको छ ।

सरकारले अभियुक्त पाठकलाई काउन्सिलको सदस्यमात्रै बनाएनन्, राष्ट्रको ढुकुटीबाट ९ लाख रुपैयाँसमेत दिने निर्णयमा सञ्चारमन्त्रीको हात पक्डेर सही गराएका छन् ।

केपी ओलीको गृह जिल्ला झापा घर भएका पाठक ठगी प्रकरणमा ‘नटवरलाल’का रुपमा चिनिन्छन् । उनी प्रहरीको खोजी सूचीमा छन् । पाठकलाई खोज्दाखोज्दै बालकोट चौकीका प्रहरीको धेरै जोर जुत्ता फटिसकेको छ ।

पाठकको अपराधकर्मका फाइलहरु यतिबेला अदालत, प्रेस काउन्सिल र सूचना विभागदेखि प्रहरी कार्यालयमा समेत सुरक्षित छन् । तर, उनै नटवरलाललाई प्रधानमन्त्री केपी ओलीले ९ लाख नगदसहित प्रेस काउन्सिलको सदस्य बनाएका छन् ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ५ महिनादेखि लगातार अस्वीकार गर्दै आएको पाठकका नाममा ओलीको दबाव सहन नसकी आत्मा रुवाएर शनिबार विदाका दिन सही धस्काएका छन् । सचिव दिनेश थपलिया शनिबार विदाका दिनमा यही कामका लागि दौडादौड गर्न बाध्य भए ।

को हुन् दीपक पाठक ?

Kp-oli-with-Dipak-Pathak-1

झापाली पाठकले सुरुमा मार्गदर्शन नामको मासिक पत्रिका निकाल्थे । पछि उनले तत्काली प्रधानसेनापति छत्रमान गुरुङ, नेपाल वायु सेवा निगमका सुगतरत्न कंशाकार, सामसुङका व्यवसायी दीपक मल्होत्रा, राजस्व अनुसन्धानका भरत सुवेदी र सशस्त्र प्रहरीका एआइजी/आइजीपी लगायतसँग ब्याकमेलिङ गरेको उजुरी प्रेस काउन्सिलमा पर्‍यो ।

पत्रकारको भेषमा भीआइपीहरुलाई ब्ल्याकमेलिङ गरेको र राजधानीमा आलिशान घर बनाएको उजुरी परेपछि प्रेस काउन्सिलले पाठकमाथि छानविन सुरु गर्‍यो । काउन्सिलले छानविन थालेपछि पाठकले प्रेस काउन्सिलकै पदाधिकारीको चरित्र हत्या गर्दै मार्गदर्शनमा लेख्न थाले ।
अन्ततः काउन्सिलले पाठकको पत्रिका मार्गदर्शनलाई प्रेस काउन्सिलको दफा ११ लगाएर कारवाही गर्‍यो । पाठकको पत्रिकाले सरकारबाट पाउँदै आएको सुविधा रोक्का भयो । उनको पत्रिका वर्गीकरणबाट झिकियो । पत्रिका प्रकाशनसँगै पाठकले ट्राभल एजेन्सीसमेत खोलेर सञ्चालन गरिरहेका थिए ।

आफू कारवाहीमा परेपछि पाठकले प्रेस काउन्सिलमा पुगेर कार्यालयमा तोडफोड गर्नुका साथै काउन्सिलका पदाधिकारीमाथि हातपात गरे । त्यसपछि उनलाई प्रहरीले समातेर हिरासतमा कोच्यो । ६ दिन थुनामा बसेपछि उनी माफी मागेर थुनामुक्त त भए । तर, उनको पत्रिकामाथि काउन्सिलले गरेको कारवाही यथावत रह्यो । उनको यो कारवाहीलाई अदालतले समेत सदर गरिसकेको छ ।

माफी मागथेर थुनाबाट मुक्त भएपछि पनि पाठकको धन्दा उस्तै रह्यो । उनले ग्लोबल बैंक, मेघा बैंक आदिमा बाउन्स चेक दिएर मानिसहरुलाई ठगेको अर्को उजुरी आयो । जडिबूटीतिर बसोबास गर्ने भएकाले पाठकलाई खोज्न बालकोट चौकीका प्रहरी युवराज गिरी लागि परे । तर, पाठक कतै फेला परेनन् । उनी अझै पनि खोजीकै सूचीमा छन् ।

केपी ओली प्रधानमन्त्री भइसकेपछि प्रहरीको खोजीको सूचीमा रहेका पाठक दिनहुँजसो सिंहदरबार र बालुवाटारमा थर्पू हालेर बस्न थाले । र, त्यहीँबाट मानिसहरुलाई फोन गर्न र थर्काउन थाले ।

शेरधनले भनेका थिए, गेट आउट, तिम्रो अनुहार हेर्नु नपरोस्

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले सत्ता सम्हाल्नासाथ पाठकलाई प्रेस काउन्सिलको सदस्य बनाउने प्रयास गरेका थिए । पाठकलाई काउन्सिलमा लैजान सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई आग्रह गर्दा राईले उनी आपराधिक छविको भएको र काउन्सिलबाटै कारवाहीमा परेको व्यक्तिलाई प्रेस काउन्सिलको सदस्य बनाउन नसकिने भन्दै टार्दै आइरहेका थिए ।

स्रोतका अनुसार एक दिन पाठकले सञ्चार मन्त्रालयमा राईलाई नै भेटेर आफूलाई प्रेस काउन्सिलको सदस्य बनाउन आग्रह गरे । साथै आफ्नो पत्रिकामाथि गरिएको कारवाही फुकुवा गर्नसमेत उनले आग्रह गर । तर, मन्त्री राईले हप्काउँदै पाठकलाई ‘गेटआउट’ भनेका थिए । ‘तिम्रो अनुहार सञ्चार मन्त्रालयमा देख्नु नपरोस्’ भनेर मनत्री राईले उनलाई हप्काएका थिए ।

अन्ततः मन्त्री राईले ओलीको दबाव खप्न नसकेर पाठकलाई शनिबार सरकारी विदाका दिन प्रेस काउन्सिलमा नियुक्त गरेका छन् । ओलीका हातबाट पूर्वमन्त्री कर्ण थापा बन्ने डर भएपछि मन्त्री राई शनिबारकै दिन भए पनि पाठकलाई प्रेस काउन्सिलको सदस्य बनाएर जेनेभातिर लागेका छन् । टेलिकमसम्बन्धी कार्यक्रममा सहभागिता जनाउन मन्त्री राई जेनेभा गएका हुन् ।

एक्ला ओली पाठकको पक्षमा

पाठकलाई प्रेस काउन्सिलको सदस्य बनाउनमा केपी ओली गुटका भए पनि धेरै नेताहरुको सहमति थिएन । ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले पाठकलाई काउन्सिलको सदस्य नबनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर, ओलीले दाहाललाई हप्काउँदै भने- ‘मैले तिमीलाई बनाउँदा हुने, उसलाई बनाउन किन नहुने ?’

केपी ओली समूहकै नेता एवं पत्रकार गोकुल बास्कोटाले त अपराधिक चरित्रको पाठकलाई काउन्सिलको सदस्य बनाइएमा म बालुवाटार नै छिर्दिँन भनेर चेतावनीसमेत दिए । तर, ओलीले बास्कोटाको पनि कुरो सुनेनन् ।

पार्टीका सचिव एवं ओली पक्षका नेता प्रदीप ज्ञवालीले पनि पाठकको आपराधिक चरित्र भएकाले उनलाई नियुक्ति नदिने प्रधानमन्त्रीसमक्ष आग्रह गरे । तर, ओलीले ज्ञवालीको पनि कुरो मानेनन् । प्रधानमन्त्रीलाई पूर्वसूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले पनि सम्झाए । तर, पाठकको प्रेममा फसिसकेका प्रधानमन्त्रीले कसैको कुरो सुनेनन् । प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी पनि पाठकलाई नियुक्ति दिन नहुने अडान राखेका थिए ।

तर, बालुवाटारमा विज्ञका रुपमा रहेका शाक्य थरका प्रधानमन्त्रीका नामतेदारहरुले चाहिँ पाठकलाई नियक्ति दिनैपर्ने बताएका थिए । त्यस्तै प्रधानमन्त्रीका राजनीतिक विज्ञ एवं झापाली एमाले नेता देवेन्द्र दाहाल पनि पाठकको पक्षमा हात धोएर लागिपरेका थिए ।

अर्थ मन्त्रालयमा १५ लाखको फायल, ९ लाख निकासा

पाठकलाई ओली सरकारले सरकारी सुविधा रोक्का भएवापतको ९ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरेको छ । काउन्सिलको कारवाहीका कारण उनको पत्रिकाको सुविधा रोक्का भएको थियो । सरकारको स्वायक्त निकायले गरेको कारवाहीलाई सरकारले हस्तक्षेप गरेर पाठकलाई ९ लाख उपलब्ध गराएको हो । बाँकी ६ लाखको फाइल अर्थमै छ ।

अब आफैं प्रेस काउन्सिलको सदस्य भइसकेपछि पाठकले कसरी पीत पत्रकारिता र ब्ल्याकमेलिङलाई नियन्त्रण गर्लान् ? यो सम्झेर एमाले निकट पत्रकारहरु एवं केपी ओलीका प्रशंसकहरु नै जिल्ल परेका छन् ।

एमालेमा एक से एक राम्रा एवं काबिल पत्रकार र सञ्चार विज्ञहरु थिए । तर, प्रधानमन्त्री ओलीले प्रहरीको फरार सूचीमा रहेका पाठकलाई नै किन यसरी ५ महिनासम्म मेहनत गरेर ९ लाख रुपैयाँसहित काउन्सिलको सदस्य बनाए ? यसबारे प्रश्न गर्दा एकजना एमाले नेताले अनलाइनखबरसँग भने- ‘पाठकले महाधिवेशनका बेला मार्गदर्शन पत्रिका छापेर केपी ओलीको पक्षमा प्रचार गरेका थिए ।’

यद्यपि पाठकको पत्रिकाको धन्दा अहिले बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment