Comments Add Comment

अमेरिका र रसियाको दबाबमा सिरियाको अलेपोमा युद्धविराम

Siriya-Allepoo

२३ वैशाख । अमेरिका र रसियाको आग्रहमा सिरियाली सैनिक अलेपोमा युद्धविराम गर्न सहमत भएको समाचार छ । अमेरिका र रसियाले सिरियाली सहर अलेपोमा युद्धविरामका लागि त्यहाँको सेना समक्ष दबाब गरेका थिए ।

बुधबारमात्र पनि अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली राष्ट्रपति बसर अल असदलाई कुनै पनि हालतमा शान्तिवार्ताबाट नभाग्न र अलेपोमा युद्धविराम गर्न आग्रह गर्नुभएको थियो ।

सिरियामा पछिल्लो समयमा युद्धबिराम जारी रहेकै अवस्थामा अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन् ।

अलेपोकै कारणले सिरियामा युद्धविराम भङ्ग हुने र जसले गर्दा सिरियाको शान्ति वार्ता नै अवरुद्ध हुने खतरा बढ्दै गएकोले यस्तो अवस्था हुन नदिन अमेरिका र रसियाले अलेपोमा युद्धविराम गर्न सिरियालाई दबाब दिएका हुन् ।

सिरियाका बारेमा हुन लागेको भनिएको वार्ताको अगुवाई अमेरिका र रसियाले नै गरेका छन् । तर सिरियाली राष्ट्रपति बसर अल असदले सत्ताबाट हट्न नमानेपछि भने वार्ता अघि बढ्न सकेको छैन ।

गत अप्रिल २२ देखि सिरियाली अलेपो सहरमा सुरु भएको सो हिंसामा परी कम्तीमा पनि २७० जनाको ज्यान गएको छ । सिरियाका अरु भागमा भने युद्धविरामको अवस्थामा हिंसा भएको छैन ।

उता अमेरिकी विदेशमन्त्री केरी बुधबार बर्लिन पुग्नुभएको छ । उहाँले त्यहाँ सिरियाली विदेशमन्त्री, सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि र सिरियाली विपक्षीहरुका नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।

सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ ।

सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

यस द्वन्द्वमा ७९ हजार भन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब ९ हजार महिला रहेका छन् । सिरियामा केही महिनायतादेखि युद्धविराम भएको छ । त्यसको अनुगमन संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरिरहेका छन् ।

युद्धविरामको पालना भइरहेको भनिएका बेला पछिल्लो समयमा अलेपो सहरमा हिंसा भड्किएकोले सिरियामा वार्ताको विकल्पमा पनि अभिव्यक्तिहरु आउन थालेका छन् ।

विश्व समुदायले सिरियमा पुनः हिंसा भड्किई युद्धविराम उल्लङ्घनको अवस्था आउने हो कि भन्ने विषयमा चिन्ता व्यक्त गरिरहेका बताइएको छ ।

यस वार्ताको अगुवाई अमेरिका र रसियाले गरेका थिए । त्यसैले विदेशमन्त्री केरी पनि वार्ताको वातावरणका लागि बर्लिन पुग्नुभएको अनुमान गरिएको छ ।

उहाँले भन्नुभयो– यस पटक पनि सिरियाले वार्ताको अवसर गुमायो भने उसका लागि ठूलो दुर्भाग्य हुनेछ, त्यसैले वार्ताको विकल्प छैन ।

अमेरिका र रसियाको दबाबका कारण सिरियाली सैनिक अलेपोमा ४८ घन्टे युद्धविराम गर्न तयार भएको छ । जसका कारण यसैबीचमा शान्ति वार्ताको प्रक्रिया पनि अघि बढ्नसक्ने अनुमान गरिएको छ ।

अलेपोमा सरकारी सेनाले नै युद्धविराम भङ्ग गरेर आक्रमण थालेको विपक्षीहरुको भनाई छ । उता अर्काेतर्फ सरकारी सेनाले भने विपक्षीले हमला गर्ने गरेको जनाएको छ ।

रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment