२८ वैशाख, ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङका कैदी बन्दीले बुनेका ढाकाको टोपीले बजार नपाएपछि उनीहरु चिन्तित बनेका छन् । बजार नपाउँदा लाखौ मुल्यबराबरको तयारी टोपी त्यसै थन्किएको छ ।
कारगारभित्र रहेका साठी भन्दाबढी कैदी बन्दीले दैनिक बुनेको गुणस्तरीय टोपिले बाहिरी बजारमा पाइने सस्तो र कमसल टोपीसँग प्रतिस्प्रधा गर्न नसक्दा बजार नपाएको उनीहरुले गुनासो गरेका छन् ।
बजारमा जिल्ला बाहिरबाट सस्तो मूल्यमा ल्याएर बेच्नेको संख्या बढी भएको र सो टोपी गुणस्तरीय नभए पनि सस्तोमा पाईने भएका कारण कारागारमा बुनेको टोपीले प्रतिस्प्रधा गर्न नसकेको कैदी बिशाल लिम्बुले बताए ।
कारागारमा मिहेनत गरेर बुनेको टोपी बर्पा टिक्ने भएका कारण केहि स्थानियले आफ्नै प्रयोजनका लागि किन्ने गरे पनि ठूलो मात्रामा खरिदका लागि व्यापारी यस स्थानमा कमै मात्र पुग्ने गरेका छन् ।
प्रति गोटा पाँच सय देखि २५ सय सम्मका टोपी उत्पादन हुने यस कारागारमा रहेका कैदीहरु बिचिनै बिचौलिया समेत हुने भएकाले टोपी बनाउने सम्म सहि मूल्य समेत नपुग्ने एक कैदीले बताए ।
यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कैदिको समस्या आफूले पनि सुनेको र उद्योग वणिज्य सँघलाई बजारको व्यवस्था गर्न आग्रह गरेको बताए ।
सरकारी कार्यालयका कर्मचारी र व्यापारीले यस स्थानमा उत्पादन गरेको टोपीलाई पहिलो प्राथमिकतामा राखे उनीहरुको समस्याको समाधान हुने प्रमुख पाण्डेको भनाइ छ । उनले जिल्लाका सरकारी कर्मचारीलाई यस स्थानको टोपि खरीद गरी प्रोत्सान गर्न आग्रह गर्ने बताए ।
अहिले कारागारमा बजार नपाएर तीन लाख बढी मूल्य बराबरको ढाकाको टोपी त्यसै थन्किएको छ ।
प्रतिक्रिया 4