२९ वैशाख, काठमाडौं । सरकारले अस्थायी शिक्षकहरुलाई ‘गोल्डेन ह्याण्डसेक’ लिएर स्वेच्छिक अवकासमा पठाउने योजना अघि सारेको छ । उनीहरुले प्रतिस्पर्धा गरेर स्थायी हुने विकल्प पनि रोज्न सक्नेछन् ।
शिक्षा मन्त्रालयले शिक्षा ऐनको मस्यौदामा नै अस्थायी शिक्षकको स्वेच्छिक अवकासबारे व्यवस्था गरेको छ । जुन अहिले व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिमा विचाराधीन छ ।
समिति अन्तर्गतको उपसमितिले संशोधनसहित अस्थायी शिक्षकहरुलाई ‘गोल्डेन ह्याण्डसेक’ लिएर स्वेच्छिक अवकासमा पठाउने योजना पास गरेको छ । अब समितिले अनुमोदन गरे विधेयक संसदमा जानेछ ।
वि. सं. २०४९ सालदेखिकै अस्थायी शिक्षकहरु कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ । ०६८ देखि भने स्थायी शिक्षक नियुक्ति रोकिएको छ । मन्त्रालयका अनुसार अस्थायी शिक्षकहरुको संख्या १७ हजारभन्दा बढी छ ।
तीन समूहमा वर्गिकरण
संसदीय समितिमा विचाराधीन शिक्षा ऐन संशोधन विधेयकमा अस्थायी शिक्षकहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ । ०४९ देखि ५२, ०६१ सम्म र त्यसपछि नियुक्त भएका अस्थायी शिक्षकहरुलाई अलग-अलग समूहमा राखिनेछ ।
तीनै समूहका अस्थायी शिक्षकहरुलाई त्यही पदमा आन्तरिक प्रतिस्पर्धा गर्ने मौका दिइनेछ । पास भए स्थायी हुनेछन् । बाँकी रिक्त पदहरुमा भने खुला प्रतिस्पर्धाबाट नयाँ शिक्षक भर्ति गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।
शिक्षा मन्त्रालयले ल्याएको विधेयक मस्यौदामा संसदीय समितिले संशोधन गरेर उमेर हद नलाग्ने व्यवस्था गरेको छ ।
०४७ वर्ष नाघेका शिक्षक प्रतिस्पर्धामा आउन नसक्ने
शिक्षा ऐनको संशोधन विधेयकमा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी हुने विकल्प अघि सारिएको छ ।
तर, यो सबैले रोज्न सक्ने अवस्था छैन । प्रस्तावित विधेयकअनुसार जति वर्ष अस्थायी शिक्षकका रुपमा काम गरेको भए पनि उनीहरु परीक्षा पास भएर स्थायी हुँदा त्यसलाई बढीमा सात वर्ष मात्र जोडिनेछ ।
यसले अहिलेसम्म ४७ वर्ष उमेर नपुगेकाहरु मात्र आन्तरिक प्रतिस्पर्धामा जाने देखिन्छ । किनकी यो पेन्सनसँग जोडिएको छ । उमेर हदका कारण अवकास पाउने बेला हुँदासम्म पेन्सन पाउने अवस्था भएमा मात्र अस्थायी शिक्षकहरुले आन्तरिक परीक्षामा भाग लिनेछन् । पेन्सन नहुने हो भने उनीहरुका लागि स्वेच्छिक अवकास उपयुक्त हुन्छ ।
अर्कोतिर आन्तरिक प्रतिस्पर्धामा ४० अंक ल्याउन सक्दिँन भन्ने लाग्ने शिक्षकहरु पनि प्रतिस्पर्धामा नजान सक्छन् ।
शिक्षा मन्त्रालयले अहिले भएका अस्थायी शिक्षकमध्ये ४० प्रतिशत स्वेच्छिक अवकासमा जान सक्ने आंकलन गरेको छ ।
के छ गोल्डेन हृयाण्डसेकमा ?
अघिल्लो वर्ष सरकारले नीति तथा कार्यक्रममा नै समावेश गरेपनि कानुनको अभावमा अस्थायी शिक्षकलाई स्वेच्छिक अवकाश दिन सकेको थिएन । यो पटक यसलाई शिक्षा ऐनमा नै राख्न लागिएको छ ।
प्रस्तावित मस्यौदाअनुसार स्वेच्छिक अवकासमा जाँदा अस्थायी शिक्षकहरुलाई तीन समूह बनाएर गोल्डेन हृयाण्डसेक दिइनेछ । खासगरी यो सेवा अवधिलाई आधार बनाएर गोल्डेन हृयाण्डसेक प्याकेज बनाइएको छ ।
५ देखि १० वर्षसम्म अस्थायी शिक्षक रहेकाहरुलाई आखिरी महिनाको आधा महिनाको तलव मापदण्ड प्रस्ताव गरिएको छ । १५ वर्षसम्म सेवा गरेका अस्थायी शिक्षकहरुलाई आखिरी एक महिनाको र त्यसभन्दा माथि सेवा गरेकाहरुलाई अन्तिम डेढ महिनाको तलबलाई आधार बनाएर गोल्डेन हृयाण्डसेकको प्याकेज बनाइनेछ ।
स्रोतले भन्यो, ‘अस्थायी शिक्षकलाई सेवा गरेको वर्ष बराबर माथि तोकिएको मापदण्डले गोल्डेन ह्याण्डसेक दिइनेछ ।’ यसअनुसार १६ वर्ष सेवा गरेका शिक्षकले २४ महिना बराबरको तलब एकैपटक बुझेर अवकास लिन सक्नेछन् ।
१२ वर्ष सेवा गरेका शिक्षक छन् भने स्वेच्छिक अवकाश लिएमा १२ महिनाको तलब बराबरको सुविधा एकैपटक पाउनेछन् । यदि कसैले ८ वर्ष सेवा गरेको छ भने ४ महिना बराबरको तलव लिएर अवकाश पाउनेछन् ।
उपसमितिले शिक्षा ऐन संशोधन विधेयकको मस्यौदा पास गरिसकेको छ । तर, समितिको बैठक तय भइसकेको छैन । समितिको अब बस्ने बैठकमा मस्यौदा पेश हुने र त्यसले पास गरे संसदको चालु अधिवेशनमा नै विधेयक पेश हुने एमाओवादी सांसद एवं उपसमिति सदस्य डीआर पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
प्रतिक्रिया 4