Comments Add Comment

गौतमबुद्ध विमानस्थलः यस्तो छ भैरहवावासीको आशा

Gautam Buddha International Airport (8)

३१ वैशाख, भैरहवा। एशियाली बिकास बैंकको सहयोगमा रुपन्देहीको भैरहवामा गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । २०७४ मंसिरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यस बिमानस्थल बनेपछि यस क्षेत्रको बिकासको कोशेढुंगा हुने अपेक्षा धेरैले गरेका छन् । यस सन्दर्भमा हामीले भैरहवाका राजनीतिज्ञ, उद्योगी, स्थानीय, अभियन्ता लगायतसँग सोधेका छौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि के फाइदा पुग्छ ?

बौद्ध धर्मावलम्बीहरुलाई सीधै लुम्बिनीसँग जोड्नेछ
चेतन पन्त, लुम्बिनी अभियन्ता

Chetan-Pant

पर्यटनको विकासको केन्द्रविन्दू भनेको लुम्बिनी हो । विमानस्थल बनेपछि लुम्बिनी आउने विदेशी पर्यटकलाई सिधै हवाई सम्पर्क स्थापित गर्नेछ । खासगरी दक्षिणी पुर्वी एसियाली बौद्ध धर्मालम्वीहरुलाई यो विमानस्थल बनेपछि लुम्बिनी भ्रमण गर्न सहज हुन्छ । यसले यस क्षेत्र उद्योग र व्यापारमा समेत टेवा पुर्‍याउँछ । अन्तर्राष्ट्रिय व्यापारको लागि कार्गो माध्यामबाट यस क्षेत्रको उत्पादनलाइ निर्यात गर्न र आयातका लागि पनि यसले हवाई मार्गले खुला गर्छ । यस क्षेत्रबाट बैदेशिक रोजगारमा जाने नेपालीहरुलाई यो विमानस्थल कोशेढुङ्गा बन्ने सम्भावना देखेका छौँ ।

राष्ट्रियको स्तरको हितमा हेर्ने हो भने काठमाण्डौँ विमानस्थलको बिकल्पको रुपमा ठूलो काम गर्न सक्छ । काठमाण्डौँ विमानस्थलमा प्रतिकुल मौसमका कारण अवतरण गर्न नक्सने विमान लासा, ढाका, दिल्लीमा डाइर्भट हुने जुन बाध्यता थियो त्यसलाई अन्त्य गरी नेपालमा आएको विमान नेपालमै अवतरण हुन सक्ने र यहाँ बाट नेपालको पर्यटकीय क्षेत्रमा जान पनि सहज हुनेछ । विमानस्थल बनेपछि यो क्षेत्रमा धेरै होटल, ट्राभल्स, रेष्टुराँ, क्यासिनो, लगायतका धेरै पर्यटकीय पूर्वाधार बन्नेछन् र यसले रोजगारीको अवसर सृजना गर्नेछ । यो विमानस्थललाई हामीले हाम्रो भाग्य रेखा र कर्म रेखा दुवै मानेका छौँ ।

रोजगारी बढेपछि आर्थिक बिकासमा टेवा पुग्छ
माधव ढुगंना, अध्यक्ष, लुम्बिनी प्रेस क्लब, भैरहवा

Madhav-Dhungana

विमानस्थल बनेपछि भैरहवा शहर मुलुकै ठूलो आधुनिक शहरको रुपमा स्थापित हुन्छ । अन्तराष्ट्रिय विमानस्थल बनेपछि स्वभाविक रुपमा यस क्षेत्रमा स्वदेशी र विदेशी यात्रुको आगमन बढ्छ । स्थानीयको आर्थिक कारोबार पनि बढ्छ ।

होटल, कृषि, यातायात, हस्तकला लगायतका क्षेत्रमा लगानी बढ्छ जसले गर्दा रोजगारीको अवस्था सिर्जना हुन्छ र यहाँ धेरैभन्दा धेरै स्थानीयले रोजगारी पाउँछन् । बौद्ध धर्मावलम्वीहरु धरै भएको मुलुकबाट सीधा उडानको व्यवस्था गर्नुपर्छ । विमानस्थल बनेर मात्र हुँदैन, लुम्विनी भ्रमणमा आउने पर्यटकको बसाई अवधि लम्व्याउन सक्नुपर्छ । यसका लागि अन्य पूर्वाधारहरुको बिकासका लागि पनि ध्यान दिनु जरुरी हुन्छ ।

अहिले लुम्बिनीको मायादेवी मन्दिर र केही गुम्बाहरु ब्ााहेक घुम्ने स्थलहरु छैनन् । अब त्यहाँ बुद्धसँग सम्बन्धित संस्कृतिक नाटक कार्यक्रम र स्थानीय कला संस्कृति झल्काउने कार्यक्रमहरु आयोजनाहरु गरिनुपर्छ । पर्यटकलाई भुलाउन धार्मिक क्रियाकलाप अन्य गतिविधि र संरचाना तयार पार्नुपर्छ ।

काठमाडौं विमानस्थलको बिकल्प बन्नेछ
सुर्य अधिकारी, अधिवक्ता, रुपन्देही जिल्ला अदालत बार एसोसिएसन

Surya-Adhikari

बिमानस्थल बनेपछि भैरहवा शहरसँग अन्तर्राष्ट्रिय सीधा सम्पर्क स्थापित हुनेछ । गौतम बुद्धको जन्मस्थल लुम्बनीमा चाहेर पनि आउन नसकेका विश्वका पर्यटकहरु सहज रुपमा लुम्बिनी आउन सक्छन् । विमानस्थलका कारण रुपन्देही जिल्लाका साथै पश्चिम नेपालका अन्य पर्यटकीय क्षेत्रको विकासमा पनि महत्वपुर्ण योगदान पुर्‍याउने छ । पर्यटकसँग सम्बिन्धत व्यवसायहरु फस्टाउँछ । यसले रोजगारी सिर्जना हुन्छ ।

नेपालमा एउटै मात्र त्रिभुवन विमानस्थलबाट विदेश जाँदा अत्याधिक चाप कारण समस्या भोगिरहेका हवाई यात्रुहरुका लागि सहज हुनेछ । यसको मूख्य फाइदा भनेको गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा व्यापक रुपमा प्रचार प्रसारको शुभारम्भ हुनेछ । बुद्धको जन्मको विषयलाई लिएर गरिएका भाम्रक प्रचारहरुको अन्तय हुनेछ । समग्रमा यो विमानस्थल नयाँ नेपाल निर्माणको एउटा महत्वपुर्ण आधार बन्नेछ ।

५ नम्बर प्रदेशकै मुहार फेरिनेछ
दिपक क्षेत्री न्यौपाने, नेता, नेपाली कांग्रेस, रुपन्देही

Deepak-Kshetri

विमानस्थल बनेर संचालनमा आएपछि हामीलाई असीमित फाइदा हुन्छ । सबैभन्दा पहिला अन्तर्राष्ट्रिय विमानस्थलको मानचित्र प्रकाशित हुन्छ । विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटन क्षेत्रको विकास हुनेछ । अगामी दिनमा भैरहवा शहर रुपन्देही जिल्ला मत्र नभई प्रदेश नम्बर ५ का साथै देशकै विकासमा यो विमानस्थले टेवा पुर्‍याउँछ । विश्वभरी रहेका ३ अर्व बौद्ध धर्मावलम्वीहरुमध्ये बार्षिक १ प्रतिशतमात्रै पनि लुम्बिनी आए भने यसले नेपालको पर्यटनमा ठूलो ठेवा पुग्नेछ ।

बुद्धिष्ट सर्किटसँग जोडिन सहज हुनेछ
रामकुमार शर्मा, अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही

Ramkumar-Sharma

विमानस्थल बनेपछि मुख्य कुरा पर्यटनको विकास हुन्छ । लुम्बिनीका अलावा यस वरपर रहेका कपिलवस्तु, रामग्राम, देवदहको समेत भ्रमण गर्ने भएको हुनाले सम्रग यस क्षेत्रको विकास हुनेछ । विमानस्थल बनेपछि यहाँका उत्पादनहरु अन्तर्राष्ट्रिय रुपमा सोझै बजार पाउनेछन् । विमानस्थल बनेपछि लुम्बिनीमा वषिर्क २० लाख पर्यटन भित्रियाउने लक्ष्य रहेको छ ।

विमानस्थल बनेपछि नेपालको बुद्धिष्ट सर्किटको साथसाथै भारतमा रहेको बुद्धिष्ट सर्किट बौद्धगाया, सारनाथ सारावस्ती, कुशीनगर जोडी पर्यटन प्रवद्धनमा समेत सहयोग पुग्नेछ । चार्टेड विमान मार्फत भारतीय विमानस्थलमा आएर बुद्धिष्ट पर्यटकहरु भारतीय बुद्धिष्ट सर्किटको मात्र भ्रमण गरी फर्केर जाने गरेकोमा अब विमानस्थल निर्माण भएपछि सिधै बुद्धको जन्मस्थल लुम्बिनीमा आउनेछन् ।

मुलुकको आर्थिक बिकासमा ठूलो प्रभाव पार्छ
एजाज अलाम, निवर्तमान अध्यक्ष, बुटवल उद्योग वाणिज्य संघ

ajaj-aalam

विमानस्थल एउटा चक्र हो यसले यस क्षेत्रका साथै मुलुककै विकासमा ठुलो प्रभाव पार्छ । आर्थिक अवस्थामा धेरै फरक ल्याउँछ ।

अन्तर्राष्ट्रिय क्षेत्रका विमानहरु आउन थालेपछि विदेशी पर्यटकहरु आउँछन् । यसले आर्थिक क्षेत्र कायापलट नै हुन्छ भन्ने अनुमान गरेका छौँ । ठूलाठूला उद्योग, होटलहरु संचालनमा आउने छन् जसका कारण यहाँ रोजगारीको अवस्था सिर्जना हुन्छ । यो विमानस्थल काठमाडौं विमानस्थलको विकल्पको रुपमा पनि हुन्छ । सुरक्षाको दृष्टिकोणले पनि त्यहाँ अवतरण गर्न नसक्ने विमानहरु यहाँ तत्काल अवतरण गर्न सक्छन् ।

पश्चिम नेपालका पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुग्छ
चन्द्र प्रकाश (सिपी) श्रेष्ठ, अध्यक्ष, सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान), रुपन्देही

CP-Shrestha

अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँको उद्योग व्यापार फस्टाउँछ । विमानस्थल बनेपछि स्वतः अन्य व्यवशाय र पुर्वाधारहरु निर्माण हुन्छन् जसले यहाँ रोजजगारीको पनि अवस्था सिर्जना हुन्छ । विमानस्थल बनेपछि पुर्व-पश्चिमका पर्यटकीय स्थलहरुको भ्रमणका लागि आउने बिदेशीहरु सीधै भैरहवा उत्रनेछन् । केन्द्रको बिमानस्थलको विकल्पको रुपमा पनि यसले काम गर्नेछ ।

थाईल्याण्ड, कोरिया, जापान लगायतका मुलुकबाट लुम्बिनी आउने बौद्ध धर्मालम्वीहरुलाई सुविधा पुग्छ । यसले गर्दा यहाँ उद्योग, होटलहरु संचालनमा आउँछन् । यसले मुलुकको अर्थतन्त्रको विकास ठूलो टेवा पुर्‍याउनेछ ।

यस क्षेत्रका कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउँछन्
वियज सागर, साहित्कार, भैरहवा

Bijay-Sagar

विमानस्थल बनेपछि लुम्बिनी बुद्धको जन्मस्थल हो भन्ने कुरा विश्वमा प्रचार प्रसार हुन्छ । अन्तर्राष्ट्रिय विमानस्थलले यो बुद्ध जन्मस्थल लगायत उनको मावली, उनको राजधानी अर्थात कपिलवस्तु, लुम्बिनी, रामग्राम, देवदह समेतको प्रचार प्रसारमा सहयोग पुग्छ ।

यो क्षेत्रका हाम्रा कृषि उपजहरु विशेष गरेर गुल्मी, अर्घाखाँची, पाल्पाको कफी, अदुवा-सोठी), मह लगायतका अर्गानिक उत्पादनहरु विश्वभर फैलिनेछ । त्यस आलवा नारायणी पुर्व मेची सम्मका क्षेत्रहरुका उत्पादनहरु पनि अन्तर्राष्ट्रिय बजारमा पुग्नेछ । यसरी नेपालको समाजिक, धार्मिक, अर्थिक, पुरातात्विक विषयमा अनेवेषण हुनेछ । यसरी सम्रगमा यो क्षेत्र तथा, हाम्रो सिङो नेपालको लागि गौरवमय इतिहास हुनेछ ।

स्थानीयको जीवनस्तरमा प्रत्यक्ष फाइदा पुग्छ
अजय वर्मा, अध्यक्ष, तराई मधेस लोकतान्त्रिक पार्टी , रुपन्देही

Ajay-Sharma

विमानस्थल बनेर विमानहरु उडान अवतरण सुरु भएसँगै भैरहवाको मुहार फेरिनेछ । भैरहवाको मात्र होइन कि मुलुककै विकासमा महत्वपुर्ण भुमिका खेल्छ । विमानस्थल बनेपछि यहाँको विभिन्न किसिमको रोजगारको अवसरहरु खुल्नेछन् । विमानस्थलका कारण बुद्धको जन्मस्थल लुम्बिनीको  प्रचारमा सहयोग पुर्‍याउँछ । र, यहाँको स्थानीयको भविष्य उज्जवल हुन्छ । विमानस्थल सञ्चालनमा आएप्छि स्वदेशी र विदेशी पर्यटकहरु सिधै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न सक्छन् । फुल्कीवाला देखि कम्पेलक्सवाला सम्मको व्यापारलाई यो विमानस्थलले प्रोत्साहान गर्छ ।

रोजगारीका लागि बिदेशिएका युवाहरुलाई मुलुकमै रोजगारी दिन सकिन्छ
पुजा न्यौपाने, सिर्जनशील हातहरु समूह, भैरहवा

Puja-Neupane

विमानस्थल बनेपछि लुम्बिनीको विकासमा यसले थप टेवा पुर्‍याउँछ । यहाँ स्थानीयको लागि रोजगारीको अवस्था सिर्जना हुन्छ जसले गर्दा गाउँ नै रित्ताएर रोजगारीका लागि विदेशमा जाने युवाहरु संख्यामा कमी आउँछ । ठुल्ठुला होटल, उद्योगहरु खुल्छन् । यसले यहाँको स्थानीयको साथै राज्यलाई पनि फाइदा हुन्छ । लुम्बिनी आउने चाहने जो कोही पनि अब आफ्नो मुलुकबाट सिधै शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउन सक्छन् ।

तेस्रो मुलुकसँग व्यापार फस्टाउँछ
पुष्पा पौडेल, गृहणी, भैरहवा

Puspa-Poudel

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशबाट स्वदेशी, विदेशीको आवत जावत सहज हुन्छ । विदेशबाट आउने पर्यटकहरु सीधै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउन सक्नेछन् । यसले लुम्बिनीको विकासमा थप टेवा पुर्याउँछ ।

भैरहवा लगायत अन्य छिमेकी जिल्लाहरु विकासमा पनि सहयोग पुर्‍याउँछ । अन्तर्राष्ट्रिय स्तरमा लुम्बनीको प्रत्यक्ष सम्बन्ध जोडिन्छ । लुम्बिनी क्षेत्रको पर्यटकीय क्षेत्रको विकास सँगै रोजगारीको अवसरहरु खुल्नेछन् । भैरहवा शहर काठमाडौँ पछिको दोस्रो ठुलो शहरको रुपमा स्थापित हुन्छ । होटल व्यवसाय लगायतका अन्य व्यवासयहरु फस्टाउँछ र तेस्रो मुलुकसँग व्यापार पनि फस्टाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment