+
+
Shares

चामल उद्योगलाई भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो

रासस रासस
२०७३ जेठ २ गते १३:५०

rice-store-chamal-godam
२ जेठ, वीरगन्ज । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा अधिकांश चामल उद्योग सङ्कटमा परेका छन् ।  भारतबाट सस्तो मूल्यमा आयातित धान र चामलसँग प्रतिस्पर्धा गर्न नसक्नु स्वदेशी चामल उद्योगको मुख्य समस्या रहेको भन्दै उद्योगीले भारतीय सीमा क्षेत्रमा खुलेका खाद्यान्न उद्योग सरहका प्रोत्साहन नीति अख्तियार गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

भारतले खाद्यान्न उद्योग स्थापना, सञ्चालन तथा कर राजस्वमा अनुदान र सहुलियत दिएको छ । स्वदेशी चामल उद्योगको प्रवद्र्धनका लागि पनि सरकारले सोही अनुरुपको सहयोग र सहुलियत प्रदान गर्नुपर्ने उद्योगीको माग छ । सरकारले लगानी मैत्री वातावरण दिने प्रतिबद्धता देखाउँदै आए पनि व्यवहारमा त्यसो देखिएको छैन ।

“भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकाले अहिले उत्पादन घटाएर १० प्रतिशतमा सीमित गरेको छु,” वीरगन्जस्थित आशीष राइस मिलका सञ्चालक गणेश लाठले भने। भारतीय सहर रक्सौलमा ३ वर्षयता खुलेका अत्याधुनिक मिलले नेपाली बजारको ठूलो हिस्सा ओगटेपछि बारा र पर्साका अधिकांश खाद्य उद्योग सङ्कटमा परेका छन् ।

अहिले रक्सौल र त्यसका वरिपरि झन्डै एक दर्जन नयाँ प्रविधियुक्त चामल मिल सञ्चालनमा आएका छन् । ती उद्योगमध्ये धेरैजसो दैनिक २०० देखि ३०० टन चामल उत्पादन क्षमताका रहेको बताइएको छ ।

“भारतले बीउ, मल र मेसिनमा सहुलियत दिन थालेपछि भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकाले यहाँका उद्योगले ९० प्रतिशतसम्म उत्पादन कटौती गर्नुपरेको छ”, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले भने– “यस्तै अवस्था रहे चामल उद्योग बन्द गर्नुपर्ने हुन्छ ।”

दुई वर्ष अघिसम्म वीरगन्जमा साना र ठूला गरी करिब एक सय चामल मिल सञ्चालनमा थिए । अहिले यहाँ करिब २० वटा उद्योग मात्र सञ्चालनमा छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?