Comments Add Comment

९ वर्षपछि नेविसंघ महाधिवेशनको सुरसार, यस्ता छन् अध्यक्षका दावेदार

त्यतिबेला जिल्ला सभापति लड्ने अहिले केन्द्रीय सभापतिका आकांक्षी

jeet, nayan,manoj
जितजंग बस्नेत, नैनसिंह महर र मनोजमणि आचार्य

४ जेठ, काठमाडौं । देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघको पछिल्लो महाधिवेशन २०६४ सालमा भएको थियो । त्यसयता चार महाधिवेशन सम्पन्न भइसकेको हुनुपर्नेमा आन्तरिक विवादले गर्दा एउटा पनि हुन सकेको छैन ।

नेपाली कांग्रेसको सभापति निर्वाचित भएलगत्तै शेरबहादुर देउवाले ६ महिनाभित्र भ्रातृ संस्थाहरुको महाधिवेशन गर्ने निर्णय गराए । दुई हप्ता अघि नेपाल विद्यार्थी संघका (नेविसंघ) अध्यक्ष रञ्जित कर्णलाई बुढानिलकण्ठस्थित निवासमै बोलाएर देउवाले छिटो बैठक राख्न र महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका थिए ।

अब बस्ने केन्द्रीय कमिटी वैठकले नेविसंघ महाधिवेशनका लागि पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतको नेतृत्वमा निर्देशक समिति बनाउने तयारी छ । पार्टीको निर्णय र निर्देशनअनुसार नेविसंघ महाधिवेशनको तयारीमा जुट्ने नेताहरु बताउँछन् ।

नेविसंघ प्रवक्ता यूपी लामिछानेले जेठ पहिलो साता केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको तयारीबारे आवश्यक निर्णय लिने जानकारी दिए ।

‘संघीय स्वरुपअनुसार नेविसंघलाई ढाल्नुपर्ने छ,’ प्रवक्ता लामिछानेले भने, ‘त्यसैले विधान संशोधन लगायतका विषयमा छलफल गर्न जेठ पहिलो साता बैठक बस्दै छौं ।’

विधानको लफडा

कांग्रेस बिभाजनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस निकट नेविसंघको नेतृत्व महेन्द्र शर्माले र प्रजातान्त्रिक निकट नेविसंघको नेतृत्व किशोरसिंह राठौरले गरेका थिए ।

२०६४ जेठमा चितवनमा भएको शर्मा नेतृत्वको नेविसंघको महाधिवेशनबाट प्रदीप पौडेल अध्यक्षमा चुनिए । २०६४ असारमा भएको राठौर नेतृत्वको नेविसंघको नेपालगञ्जमा भएको महाधिवेशनबाट कल्याण गुरुङ अध्यक्षमा निर्वाचित भए ।

दुई कांग्रेस एक भएपछि पौडेललाई अध्यक्ष मानियो र गुरुङलाई सहअध्यक्षको जिम्मेवारी दिइयो । पछि पौडेल नेतृत्वको नेविसंघलाई पार्टीले विघटन गरिदियो र २०६८ सालमा रञ्जीत कर्णलाई अध्यक्षको जिम्मेवारी तोकियो ।

विभाजनको तुस बाँकी नै रहेकाले हरेक दुई-दुई वर्षमा हुनुपर्ने नेविसंघको महाधिवेशन आन्तरिक विवादका कारण २०६४ सालयता हुन सकेको छैन । नेविसंघको मात्रै होइन तरुण दल, नेपाल महिला संघ लगायतका कांग्रेसका कुनै पनि भ्रातृ संस्थाहरुको महाधिवेशन पनि पार्टी एकतापछि भएका छैनन् ।

नेविसंघका एक नेताले अनलाइनखबरसँग भने, ‘दुई कांग्रेस एकीकरण भएपछि एउटा भ्रातृ संस्थाको नेतृत्व संस्थापन पक्षको र अर्को भ्रातृ संस्थाको नेतृत्व देउवा पक्षको भनेर बाँडफाँड गरे । तर, तल्लो तहका कमिटी कसरी मिलाउने भनेर स्पष्ट कार्ययोजना नै बनाएनन् । अहिले हामी त्यसैको प्रतिफल भोग्दै छौं ।’

अब विवाद नआउने गरी नेविसंघलाई एकताबद्ध पार्ने र संघीय संरचनाअनुसार ढाल्न विधान संशोधन गर्ने मुख्य चुनौति छ । विधान संशोधनमा माउ पार्टीको मुख्य भूमिका रहन्छ, जुन भूमिका अपेक्षाकृत पार्टीले खेल्न नसकेको गुनासो नेविसंघका नेताहरुको छ ।

अध्यक्ष पदका प्रमुख दाबेदार जितजंग बस्नेत भन्छन्, ‘बिडम्बना नै भन्नुपर्छ अहिलेसम्म पार्टीका नेताहरुले विधान संशोधनबारे हामीसँग एकपटक पनि छलफल गरेका छैनन् । पार्टीको मेरुदण्ड भनेकै नेविसंघ हो तर मेरुदण्ड नै कमजोर भए के होला ?’

पूर्व पार्टी सभापति सुशील कोइरालाको पालामा महाधिवेशनको मिति घोषणा भएपछि जिल्ला अधिवेशनहरु धमाधम भइरहेका थिए । तर, नेपालमा आयोजित सार्क सम्मेलनलाई कारण देखाउँदै अन्तिम समयमा स्थगित गरियो । अब फेरि नेविसंघको महाधिवेशनको तयारी भइरहेको छ तर, धेरैजसो जिल्लामा अधिवेशनबाट प्रतिनिधि चुनिएकाहरुलाई मान्यता दिने कि नदिने भन्ने टुंगो लागेको छैन ।

बस्नेत भन्छन्, ‘यसअघिका डेलिगेट्स कोहि पार्टीमा निर्वाचित भएर गए, कोहि विदेश गए, कोहिले पार्टी नै छाडे, कसैको मृत्यु भयो । कतिपय जिल्लामा दुई वर्ष अघि नै चुनिएका डेलिगेट्सहरुलाई अहिले मान्यता दिने कि नदिने लगायतका तमाम विषयहरु छन् जसमा पार्टीका नेताहरुले मुख खोल्न सकेका छैनन् ।’

तर, नेविसंघ अध्यक्षका अर्का दाबेदार नैनसिंह महर भने विधानमा खासै समस्या नरहेको बताउँछन् । उनले भने, ‘हामीसँग पहिलेकै विधान छ त्यसलाई संघीय ढाँचामा लैजाने मात्रै काम हो । यो कुनै ठूलो समस्या होइन ।’

पार्टीमा विधान संशोधनको मोटामोटी प्रस्ताव आफूले पेश गरिसकेको र त्यसमा छलफल गरी टुंगो लाग्न बाँकी रहेको उनी बताउँछन् ।

नीतिभन्दा नेतृत्वमा चासो

देउवा र कोइराला पक्षबीचको विवाद ६४ जिल्लामा मिलिसके पनि ११ जिल्लामा अझै कायमै छ । काठमाडौं उपत्यकामा कीर्तिपुर, आरआर, ताहाचल लगायतका क्याम्पसमा पनि विवाद मिलिसकेको छैन । सबैभन्दा मुख्य समस्या केन्द्रीय क्याम्पस कीर्तिपुरमा छ ।

वर्षौंदेखि थाति राखिएका यी विवादहरु मिलाएर आफ्नो पक्षको बर्चस्व कायम गर्ने र नयाँ नेतृत्व चयन गर्ने रस्साकस्सी सुरु भइसकेको छ । लामो समयपछि हुन लागेको नेविसंघको महाधिवेशनले कस्तो नीति अख्तियार गर्ला भन्ने चासो त छँदैछ तर, त्योभन्दा बढी चासो नेतृत्वमा को आउला भन्ने छ ।

अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

नेविसंघ अध्यक्षका आकांक्षी धेरै भएकाले महाधिवेशनमा चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढी छ । अध्यक्ष पदका आकांक्षीहरु एक दर्जन नै भए पनि प्रमुख दाबेदार भने तीन जना छन् ।

उपाध्यक्ष नैनसिंह महर तथा पूर्वमहामन्त्रीद्वय जितजंग बस्नेत र मनोजमणि आचार्य अध्यक्षका मुख्य दाबेदार हुन् ।

जितजंग बस्नेत नेविसंघका पुराना नेता हुन् । भारतको नयाँदिल्लीमा स्नातक पढ्न गएका बस्नेत नेविसंघ दिल्लीको अध्यक्ष बनेका थिए । भारतमा स्नातक सकेर उनी स्नातकोत्तर पढ्न नेपाल फर्किए र त्रिभुवन विश्वविद्यालयमा भर्ना भए । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको इकाइ समिति सदस्य र सचिव हुँदै उनी २०५८ सालमा अध्यक्ष बन्न सफल भए ।

त्यसपछि नेविसंघको केन्द्रीय सदस्य बनेका उनी नेपालगञ्जमा आयोजित महाधिवेशनबाट महामन्त्रीमा चुनिए । २०६२/६३ को दोस्रो जनआन्दोलनमा केन्द्रीय क्याम्पस कीर्तिपुर र त्यस आसपासका क्षेत्रहरुबाट उनी सक्रिय सहभागी भए ।

त्यसक्रममा पटक-पटक हिरासतमा बसेका उनी शाही शासनकालको स्थानीय निकायको निर्वाचनको विरोधमा उत्रिएकाबेला प्रहरीको कुटाइबाट घाइतेसमेत भए । पाँगा दोबाटो क्षेत्रमा प्रहरीको कुटाइबाट खुट्टा भाँचिएर थला परेको उनी बताउँछन् ।

गम्भीर र शालिन व्यक्तित्व भएका बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवा परिवारका प्रियपात्र हुन् । ललितपुर निवासी उनी कांगे्रसको १२ औं र १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

नैनसिंह महर डडेलधुरा निवासी हुन् । महर कुनै समय राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र कान्तिपुर दैनिकको डडेलधुरा सम्वाददाता थिए । नेपाल पत्रकार महासंघ डडेलधुराको उनी संस्थापक सभापति हुन् ।

पत्रकारिता ‘ब्याकग्राउण्ड’का महर विद्यालयमा अध्ययन गर्दादेखि नै नेविसंघको राजनीतिमा सक्रिय थिए । उनी डडेलधुराको नेविसंघ जिल्ला अध्यक्ष पनि चुनिए ।

०६४ जेठमा चितवन महाधिवेशनबाट नेविसंघको केन्द्रीय सदस्यमा चुनिएका महर नेपालगञ्ज महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भए । नेविसंघको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका महरको देशभर राम्रो प्रभाव रहेको नेताहरु बताउँछन् ।

०६२/६३ सालको दोस्रो जनआन्दोलनमा उनी साढे दुई महिना जेल पनि बसे । ‘नेपाली कांग्रेस र भ्रातृ संस्था’ नामक पुस्तकसमेत लेखेका महर ‘कन्सट्रक्टिभ स्टुडेन्ट्स लिडर अवार्ड-२०१०’ बाट सम्मानित भएका छन् ।

कांग्रेसको १३ औं महाधिवेशनमा निकै खट्ने विद्यार्थी नेताहरुमध्येका एक हुन् उनी । नेविसंघका पुराना नेता महर कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी प्रदीप पौडेल नेतृत्वको नेविसंघको निर्वाचित कमिटी विघटन गर्ने निर्णयको विरोधमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्ने नेताहरुमध्येका एक हुन् । पौडेल नेतृत्वको निर्वाचित कमिटी विघटनको विरोधमा शेरबहादुर देउवाले समेत कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

मनोजमणि आचार्य रोल्पा निवासी हुन् । उनी १३ औं महाधिवेशनमा रोल्पाबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए । बैचारिक स्पष्टता उनको विशेषता हो ।

रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविको नेविसंघ इकाइ अध्यक्ष हुँदै उनी जिल्ला अध्यक्ष समेत बने । माओवादी नेता कृष्णबहादुर महराका विद्यार्थी हुन् उनी । अनन्त, पासाङ, जयपुरी घर्ती, कुलप्रसाद केसी सोनाम लगायतले पढेको बालकल्याण माविमा उनी नेविसंघको इकाइ अध्यक्ष थिए ।

माओवादी जनयुद्ध चर्किएकाबेला २०५२ देखि २०५७ सालसम्म आचार्य नेविसंघ रोल्पाको जिल्ला अध्यक्ष बने । २०५७ देखि २०६१ सम्म दुई कार्यकाल नेविसंघ केन्द्रीय सदस्य बनेका उनी २०६२ देखि २०६४ सम्म केन्द्रीय उपाध्यक्ष बने जतिबेला नेविसंघको अध्यक्ष महेन्द्र शर्मा थिए । २०६४ देखि भने उनी महामन्त्रीको जिम्मेवारीमा रहे । उनी हाल कांग्रेस महामन्त्री शशांक कोइराला निकट मानिन्छन् ।

संगठनमा गगन थापा र विश्वप्रकाश शर्मासँग बैचारिक संघर्ष चल्दा उनले शर्मालाई साथ दिने गरेको उनका सहकर्मीहरु बताउँछन् । आचार्य भन्छन्, ‘लामो समयदेखि पार्टीमा योगदान गरेको, मोफसलको र माओवादी प्रभावित जिल्लाको व्यक्ति पनि नेविसंघको केन्द्रीय नेतृत्वमा आउनुपर्छ भनेर मैले अध्यक्षको दाबी गरिरहेको छु ।’

र यी पनि

त्यसो त निलकण्ठ रिजाल, कुन्दन काफ्ले र दीपक भट्टराई पनि अध्यक्षका आकांक्षी हुन् । पार्टीको १३ औं महाधिवेशनमा दोलखा जिल्ला सभापतिको प्रतिस्पर्धामा उत्रिएका काफ्लेले तेस्रो स्थान हासिल गरेका थिए । काफ्ले पूर्व विद्यार्थी नेता गगन थापा निकट मानिन्छन् ।

‘नेविसंघ महाधिवेशनमा गगनले आफ्नो प्यानल खडा गरेमा काफ्ले सभापतिका प्रतिस्पर्धी हुन सक्छन् । तर, चुनावमा तालमेल गर्ने स्थिति भएमा काफ्ले या उनले चाहेकै अर्को व्यक्ति महामन्त्री बन्छ,’ नेविसंघका एक नेताले अनलाइनखबरसँग भने ।

तनहुँ निवासी दीपक भट्टराईको पनि संगठनमा राम्रो पकड छ । त्रिचन्द्र क्याम्पसका पूर्वस्ववियु सभापति भट्टराई चितवन महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनको निजी कलेजहरुमा राम्रो प्रभाव रहेको सहकर्मीहरु बताउँछन् । त्यसैले महाधिवेशनमा उनको मत निर्णायक हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment