५ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ‘यात्रु विश्राम गृह’को उदघाटन गरेका छन् ।
विश्रामगृहको उदघाटन गर्दै मन्त्री पोखरेलले यसअघिको हलमा यात्रुलाई आवतजावत गर्न साँधुरो भएकाले फराकिलो ठाउँमा विश्राम गृह बनाइएपछि यात्रुलाई आवतजावतमा सहजता हुने बताए ।
रु ११ करोड ५६ हजार ६८० को लागतमा निर्माण गरिएको विश्रामगृहमा प्रस्थान, आगमन र कार्गो गरी तीन कक्ष रहेका छन् ।
विमानस्थलका नागरिक उड्डन प्राधिकरण कार्यालयका सिभिल इन्जिनियरिङ महाशाखाका उपनिर्देशक मुरारी भण्डारीले सन् २०१३ बाट सुरु गरिएको विश्राम गृह भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष ढिलो सम्पन्न भएको बताए ।
विश्राम गृहको प्रस्थान कक्षमा २० वटा एयरलाइन्सका काउण्टर, सुरक्षा चेक कक्ष, विमानस्थल कार्यालय, टिकट कक्ष, ब्यागेज कक्ष र एटिम काउण्टर रहेका छन् भने आगमन कक्षमा ब्यागेज कक्ष, पसल, टेलिफोन बुथ र रेस्टुराँ रहेको छ ।
प्राधिकरणको आफ्नै लगानीमा निर्माण गरिएको विश्राम गृह दुई हजार २०० वर्गमिटरमा फैलिएको छ ।
प्रतिक्रिया 4