Comments Add Comment

माओवादी एकता आजको आवश्यकता

Maoist-Leaderयुगान्तकारी परिवर्तनको मूल प्रवाह माओवादी आन्दोलन नै हो । माओवादी आन्दोलन एकतावद्ध एवम् एक हुनु पर्दछ भन्ने भावना हरेक परिवर्तनका पक्षधर जनसमुदायको आकांक्षा हो । विभिन्न धारमा उभिएर टुट-फुट भएकाहरुको पनि चाहाना माओवादी एकता हो । शहिद परिवार, वेपत्ता परिवार, पार्टी कार्यकर्ता, शुभचिन्तक एवम् विश्वभरिका सर्वहारावादी जनसमुदायको चाहना नेपालमा एउटै शक्तिशाली माओवादी पार्टी होस् भन्ने नै हो । त्यसैका निम्ति विगतमा सँगै जनयुद्ध लडेका माओवादी पार्टीहरुको एकता भएको छ । विगतमा टुट फुट र बिभाजनको श्रृङ्खलाबाट गुजि्रएकाहरु अहिले एउटै केन्द्रमा आएका छन् । यसले आम माओवादी भित्र उत्साह सिर्जना भए पनि प्रतिस्पर्धी पार्टीहरुले आरिस गरिरहेका छन् ।

१० बर्षको महान् जनयुद्धको नेतृत्व गरी राजनीतिक र फौजीरुपमा समान्तवादी सत्ता ध्वस्त बनाएको पार्टी शान्तिप्रक्रियासँगै स-साना समुहमा बिभाजन हुन पुग्यो । मणि थापा र मातृका यादवको फुट तथा रविन्द्र श्रेष्ठको पलायनका बाबजुद ०६९ असारमा  किरणको नेतृत्वमा भएको अर्को फुटले माओवादी पार्टी मात्रै होइन, सिंगो नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्न पुग्यो । जसका कारण क्रान्तिकारी आन्दोलन पनि कमजोर बन्न पुग्यो र प्रतिक्रान्तिकारी शक्तिहरु हावी हुन पुगे । जसले क्रान्तिकारी पंक्तिमा निरासा पैदा गरेको थियो । तर, ०७३ जेठ ६ मा भएको एकताले माओवादी आन्दोलन पुनर्ताजगी हुने बिश्वास बढेको छ ।

बहस सहितको एकता

माओवादी एकताले मूर्तरुप लिँदै गर्दा एकताका आधारवारे विभिन्न दृष्टिकोणवाट बहस हुनु स्वभाविकै छ । लामो वलिदानिपूर्ण राजनीतिक पृष्ठभूमिबाट बनेको माओवादी ब्राण्ड र कठिनभन्दा कठिन समयमा लामो समय सहकार्य गरेका क्रान्तिकारी योद्धाहरुको फूट र एकताबारे बहस, छलफल, विश्लेषण र अनुमान लगाउनु स्वभाबिकै हो ।

Ranjit-Tamang
रञ्जित तामाङ

यो कुरा साँचो हो कि नेपाली समाजको विकास, वर्ग संघर्षको आजको अबस्था र जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद तर्फ लम्कने कार्यदिशा र सैद्धान्तिक बहसमा को कसमा विलय हो या यसबारेमा कुनै निष्कर्ष सहितको पार्टी एकता हो भन्नेबारे क्रान्तिकारी जनसमुदाय र आमपंक्तिबिच बहस हुनु आवश्यक पनि छ । तर कार्यदिशा, रणनीति र कार्यनीतिक पक्ष नै प्रमुख विषय हो । वर्ग संघर्षका क्रममा देखापरेका क्रान्ति र प्रतिक्रान्तिको समिक्षा सहितको निष्कर्ष मुख्य कुरा हो । १० वर्षे महान जनयुद्धको बलमा सिर्जित क्रान्तिकारी परिस्थिति तथा उपलब्धिहरुलाई बचाइराख्ने चुनौति मुख्य कुरा हो ।

यसर्थ माओवादी एकता अनिवार्य सर्त बन्न पुग्यो । त्यसका लागि पार्टी एकता पश्चात पुँजीवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादी क्रान्तिको दिशामा अगाडि वढ्ने संकल्प सहित पार्टी एकता हुनुपर्छ । पार्टी एकता प्रकृयासँगै क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने योजना, पार्टी आन्दोलनको गम्भिर समिक्षा हुनुपर्दछ । त्यसका लागि एकता प्रकृया पछि यथाशिघ्र महाधिवेशन आयोजना गरी माओवादी आन्दोलनको नयाँ कार्यदिशा तय गर्ने स्पष्ट समझदारी पश्चात पार्टी एकताको आधार तय भएको देखिन्छ ।

सम्मान र सहअस्तित्व सहितको एकता

सैद्धान्तिक एवम् राजनीतिक कार्यदिशाका आधारमा फुट पैदा भएको माओवादी धार पुनः एक हुने कुरा खासै ठूलो र अनौठो नहुनु पर्ने हो तर फूटको संघारदेखि एकताको सन्निकट पुगेको यो बेलासम्म धेरै घटना र संन्दर्भहरु वदलिएको छ । समय पनि निकै गुजि्रएको छ । फुटको साक्षी किनारामा उँभिएर हामीले वर्ग संघर्षबारे मात्र बहस गरेनौं अन्तर संघर्षमा पनि भाग लियौं ।

नेपाली क्रान्तिको मौलिक विकाससहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्न हामी सबैले आजको दिन प्रतिबद्धता जनाउन जरुरी छ

पार्टी आन्दोलनका राजनीतिक, बैचारिक, रणनीतिक कार्यदिशा र कार्यनीतिक योजनाबारेमा मात्र बहस गरेनौं खुलेरै पार्टी आन्दोलनका धारा र प्रवृति वारे वहस गर्‍यौं । फरक पार्टी, फरक आन्दोलनको पृष्ठभूमिमा होमिएर हामीले कतिपय मञ्चमा आ-आफ्ना बिचार र बुझाइ पनि व्यक्त गर्‍यौं होला यसलाई सबैले सम्मान गर्न सक्नुपर्दछ । एकले अर्काेलाई पुरानै आधारमा नबुझ्ने प्रण गर्नुपर्दछ । तबमात्र एकता सार्थक हुनेछ ।

पार्टी एकतापूर्व हाम्रा क्षमता र स्तर आ-आफ्नै आवश्यकतामा व्यक्त भए होला, परिचालन र परिचालित पनि सोहि अनुरुप भयो तर एकता पश्चात त्यसलाई मुख्य कुरा बनाएर कसैले कसैलाई होच्याउने, खिज्याउने, अपमानित महसुस गर्नुपर्ने अबस्था आउन दिनु राम्रो होइन । सबैले आ-आफ्नो राजनीतिक अस्तित्व स्वीकार गरेरमात्र एकताको सार्थकता बनाउन सकिन्छ । हाम्रो मुख्य कुरा पार्टी एकतालाई दीगो र दह्रो बनाउँदै सच्चा क्रान्तिकारीहरुको गोलबन्दी मार्फत मालेमाको रक्षा, प्रयोग र विकासद्वारा नेपाली क्रान्तिको मौलिक विकाससहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्न हामी सबैले आजको दिन प्रतिबद्धता जनाउन जरुरी छ ।

संगठनमा सन्तुलन सहितको एकता

कम्युनिष्टहरुले पद बाँडफाँड नभई जिम्मेवारी बाँडफाँडको अर्थमा वुझ्ने गर्दछन् । तर यो आदर्श पछिल्लो समय माओबादी आन्दोलनमा व्यवहारिक बन्न सकेको छैन । संगठन एक प्रकारको जिम्मेवारी बाँडफाँड को व्यवस्थित संरचना हो । त्यसैले पार्टी एकताको मुख्य विषयमध्ये सांगठनिक पक्ष पनि एक हो । हिँजो एउटै माओवादी पार्टी र त्यसका विभिन्न अवयवहरुमा रहेर जिम्मेवारी पूरा गरेकाहरु पार्टी विभाजन पछिका आ-आफ्ना सापेक्षित आवश्यकताका आधारमा जिम्मेवारी फरक पर्नु स्वाभाविक नै हो । यसमा को, कहाँ र कसरी भन्नुपर्ने कुनै कारण छैन । तर पार्टी एकतासँगै विगतमा फरक पार्टी र जिम्मेवारीमा रहँदा तथा पार्टी एकता गर्दाको सांगठनिक ‘स्टाटस’ भने मिलाउन जरुरी हुन्छ, जसले पार्टी विभाजन र आजको एकतालाई सहज अर्थ्याओस् ।

क्रान्तिका बाँकी अभिभारा पूरा गर्न संकल्पवद्ध हुने प्रश्नका विच विभाजित पार्टी एकताले जनताको फाटेको मन पुनः सिलाउने विश्वास गर्न सकिन्छ

त्यसका निम्ति पार्टी केन्द्रदेखि पार्टी सेलसम्मका र सबै जबस मोर्चाहरुका दुबै तिरको संरचनाको वस्तुवादी अध्ययन गरी मर्ज गर्नु जरुरी छ । यसलाई व्यवस्थित गर्न नसकी एकले अर्कालाई नस्विकार्ने वातावरण तयार हुन दिनुहुँदैन । सबै खुसी हुने सबैले स्विकार गर्न सक्ने अबस्था बनाउँदा एकता सुनमा सुगन्ध हुनेछ तर त्यो सन्तुलन बनाउन सकिएन भने एकता खल्लो हुन जान्छ । तसर्थ एकतालाई मजबुद बनाएर आन्तरिम तदर्थ समिति तय गरी विधि र पद्धति निर्माणसहित यथाशक्य चाडो केन्द्रदेखि सेलसम्मका कमिटीहरुलाई विस्तार र सुदृढ गर्ने मूर्त योजनाले एकतालाई सुदृढ बनाउन मद्दत गर्दछ ।

एकतामा संगठनलाई सहज बनाउन हिजोका दिनमा को-कस्ता आवश्यकताका आधारमा जिम्मेवारी लियो र बहन गर्‍यो त्योभन्दा मुख्य कुरा कसरी एकताको भावलाई संगठनमा सहज व्यक्त गर्न प्राकृतिक हुन्छ त्यहि गर्न सबै तयार बन्न आवश्यक छ ।

एउटै माओवादी, एक नम्बरको पार्टी अबको लक्ष

सदियौंदेखिको सामन्तवादी राजतन्त्रको मलामी आन्दोलन, लालयोद्धाहरुको त्याग वलिदान र समपर्णबाट प्राप्त संघीय गणतन्त्र नेपाल स्थापना गर्ने माओवादी पार्टी, १० वर्षको महान जनयुद्धमा एकढिक्का भै दुश्मनका विरुद्ध जाइलागेर आएको आन्दोलन शान्ति प्रकृयाको १० वर्षमा झन्डै त्यतिनै चिरामा विभाजन हुनु अत्यन्त दुःखद कुरा हो । जसले मिलेर गणतन्त्र स्थापना गर्‍यो उनीहरु नै तितर वितर हुने र गणतन्त्र स्वीकार गर्न नमान्नेहरु गणतन्त्रमा हालिमुहालि गर्ने बिचित्र कार्टुन शान्ति प्रकृयाको १० वर्षमा तयार भयो ।

त्यसैले प्राप्त उपलब्धिलाई लत्याएर हिँड्नेकी यसलाई सम्हालेर क्रान्तिका बाँकी अभिभारा पूरा गर्न संकल्पवद्ध हुने प्रश्नका विच विभाजित पार्टी एकताले जनताको फाटेको मन पुनः सिलाउने विश्वास गर्न सकिन्छ । त्यसका निम्ति यो पार्टी एकताले माओवादी आन्दोलनको रुपान्तरण सहितको एकताको उदघोष गर्न सक्नु पर्दछ । ताकि अरु सबै माओवादीहरुले पनि एकताको शुरुवात भएको निष्कर्ष निकालन् । यो एकताले जनताको भावना मात्र सिलाएर पुग्ने छैन केन्द्रदेखि सेलसम्म सबै अवयवहरुको व्यवस्थित र वैज्ञानिक परिचालनद्वारा पुनः पहिलो संविधानसभाको जस्तै पहिलो पार्टी बनाउने अठोट पनि गर्नु जरुरी छ । एकताको जगमा विजय प्राप्त गर्ने र जनताको सहभागिता सहित पुँजिवादलाई पूर्णता दिँदै समाजवादको यात्रामा नेपालको माओवादी आन्दोलन बुलेट टे्रनको गतिमा अगाडि बढोस् । माओवादी एकता जिन्दावाद !

(तामाङ एमाओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment