Comments Add Comment

बहसः ‘हिन्दु राष्ट्र’ बनाउनुभन्दा ‘वौद्ध राष्ट्र’ बनाउने कि ?

हिन्दु भन्दा वौद्ध धर्म र दर्शनको प्रभाव बढी

Buddha Life Circal 8७  जेठ, काठमाडौं । चीनको बेइजिङमा नेशनल म्युजियम छ, जहाँ भगवान गौतम वुद्धका मूर्तिहरु सजाइएका छन् । बेइजिङको समर प्यालेसमा लामा टेम्पल पनि छ । तिब्बतमात्रै होइन चीनका भित्री भूभागसम्म वौद्ध धर्मावलम्बीहरु छन् ।

मुस्लिम देश भनेर चिनिने पाकिस्तानको लाहोर म्युजियममा गौतम वुद्धका परापूर्वकालीन सम्पदाहरु सजाइएका छन् । अफगानिस्तानदेखि श्रीलंकासम्म बुद्धका मूर्ति छन्, जसले ‘बुद्ध सर्किट’को परिकल्पनालाई बढावा दिएको छ ।

नेपालसँग भाषा नमिल्ने चीन जापान, मंगोलियाजस्ता देशहरुमा मात्रै होइन, पाकिस्तान र अफगानिस्तानजस्ता देशहरुमा पनि वुद्धका निशानीहरु पाइनु भनेको नेपाल र नेपालीका लागि गर्वको विषय हो ।

यतिबेला नेपालमा २५६० औं बुद्ध जयन्तीको अवसर पारेर अन्तराष्ट्रिय वौद्ध सम्मेलनको आयोजना गरिएको छ, यसले अन्तरराष्ट्रिय जगतमा नेपालको पर्यटकीय प्रचार-प्रसारका साथै नेपालको गौरब बढाउन मद्दत गरेको छ ।

बुद्ध धर्म मध्यमार्गी दर्शनमा रुपमा प्रचारित छ र यसले विश्वलाई एउटा सूत्रमा जोड्न सक्छ । कतिपय अरब मुलुकमा पुगेका नेपालीहरुले आफूलाई हिन्दु भन्नुभन्दा बुद्धिष्ट भन्न रुचाउँछन् । किनभने मुस्लिमहरुले हिन्दुलाई भन्दा बौद्ध धर्मावलम्बीलाई बढ्ता आदर गर्छन् ।

नेपाल गौतम बुद्धको जन्मस्थल हो भन्ने विश्वजगतलाई थाहा छ । तर, हिन्दु धर्मको स्रोत भारत वर्ष हो ।  भारतको बनारसबाट आयातीय संस्कृतिको तुलनामा बुद्ध धर्म नेपालको मौलिक धर्म हो ।

विश्वमा बुद्ध धर्म र दर्शनको प्रचार हुँदा नेपालको आफ्नै प्रचार हुन्छ । तर, हिन्दु धर्मको प्रचारले भारतीय दर्शनको नै बढी प्रचार हुन्छ, नेपालको कमै प्रचार हुन्छ ।

अन्तरराष्ट्रिय वौद्ध सम्मेलन मनाउने क्रममा वौद्धिक व्यक्तित्व एवं भिक्षुहरुले वर्तमान विश्वका समस्याहरु निराकरणका लागि गौतम बुद्धका विचारहरुले सकारात्मक योगदान दिन सक्ने बताएका छन् । यस अर्थमा विश्वलाई जोड्ने एउटा सांस्कृतिक सूत्र अर्थात सेतुको रुपमा बुद्ध दर्शनलाई लिन सकिन्छ ।

पश्चिमा क्रिश्चियानिटी र मुस्लिम संस्कृतिपछि  विश्वलाई जोड्ने सबैभन्दा बलियो धागो भनेको बुद्ध दर्शन नै हो, जसको प्रादूर्भाव नेपालमा भएको हो । हामी नेपालीले यसमा गर्व गर्न र यसको महत्वलाई बुझ्न सक्नुपर्दछ, जसमा नेपालीको कम ध्यान गइरहेको छ ।

आफ्नै देशको मौलिक धर्मलाई राष्ट्रिय धर्म बनाउने तर सकिँदैन भने बहुमतका नाममा भारतीय धर्मलाई राष्ट्र धर्म बनाउनुभन्दा धर्म निरपेक्षतामै रहने हो कि ? यो नयाँ बहस गर्न जरुरी छ

‘हिन्दु राष्ट्र’ भन्दा ‘बुद्ध राष्ट्र’ बेस

नेपालमा कतिपय धार्मिक व्यक्तिहरुले हिन्दु राष्ट्रको माग गरिरहेका छन् । संविधानमा धर्म निरपेक्षता लेखिइसकेको अवस्थामा हिन्दुराष्ट्रको माग संवैधानिक माग होइन । तर, नेपाललाई त्यसरी धर्म सापेक्ष नै बनाउने हो भने नेपालमै जन्मेका गौतम बुद्धलाई मान्यता किन नदिने ? त्यसो गर्दा नेपालको सम्बन्ध चीन, जापा, कोरियादेखि मुस्लिम राष्ट्रहरुसम्म सुमधुर र विस्तारित हुन जान्छ । नेपाललाई गौतम बुद्धको देश भनेर सबैले आदर र सत्कार गर्छन् । गौतम बुद्धलाई नेपालसँग जोडेर ब्राण्डेड गर्न सजिलो हुन्छ । किनभने बुद्ध दर्शन नेपालको मौलिक हो, आयातीत होइन ।

तर, नेपालमा संख्याको हिसाबले बुद्ध धर्मावलम्बीहरु बहुमतमा छैनन् । विदेशी धर्म अंगाल्नुभन्दा बुद्ध धर्म अंगाल्नेहरुको बहुमत भइदिएको भए झनै राम्रो हुने थियो । तर, त्यस्तो नभएर नेपालमा भारतीय दर्शन र धर्मको बढ्ता प्रभाव छ । त्यसका साथै क्रिश्चियानिटी पनि बढिरहेको अवस्था छ । यो स्थितिमा नेपालाई ‘वौद्ध राष्ट्र’ घोषणा गर्न निकै जटिल छ ।

नेपालले आफ्नै देशबाट विस्तार भएको वौद्ध दर्शनलाई आफ्नो राष्ट्रिय दर्शन र धर्मका रुपमा अवलम्बन गर्न सक्दैन भने कुनै पनि धर्मलाई राष्ट्र धर्म घोषणा गर्नुभन्दा राज्यले धर्मप्रति निरपेक्ष रुप अपनाउनु नै समन्याय हुनेछ ।

त्यसैले सकिन्छ भने आफ्नै देशको मौलिक धर्मलाई राष्ट्रिय धर्म बनाउने तर सकिँदैन भने बहुमतका नाममा भारतीय धर्मलाई राष्ट्र धर्म बनाउनुभन्दा धर्म निरपेक्षतामै रहने हो कि ? यो नयाँ बहस गर्न जरुरी छ । र, हामीले धर्म मान्ने हो भने आयातीय धर्मभन्दा आफ्नै जमीनमा मौलाएको धर्म मान्ने हो कि ?

आफूलाई हिन्दुराष्ट्रका पक्षपाती बताउने कतिपय नेताहरु आयातीय धर्मको विरोध गर्छन् । तर, उनीहरु आफूलाई वौद्ध धर्मावलम्बी भन्न रुचाउँदैनन् र हिन्दु भन्न रुचाउँछन् । यही अमिल्दो व्यवहारका कारण नेपाल र नेपालीले गौतम बुद्धलाई चिन्न सकेका छैनन् र कस्तुरीले अन्यत्रै विणा खोजेजसरी उनीहरु विदेशी धर्मको पछाडि दौडिइरहेका छन् । आजको २५६० औं बुद्ध जयन्तीले नेपालीहरुलाई सदबुद्धि देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment