Comments Add Comment

कुमतिमा कामरेडहरु र गतिशील प्रचण्ड

पुस-माघको मौसममा गाउँमा अगेंनाको वरिपरी बसेर कथा सुन्ने गरिन्थ्यो । आमा कथा सुनाउनु हुन्थ्यो, हामी आगो ताप्दै कथा सुन्थ्यौं । आमा भन्नुहुन्थ्यो, ‘एकादेशमा एउटा किसान थियो । उसले दर्जनौं भैंसीहरु पाल्थ्यो । एकदिन भैंसी दुहुँदै गर्दा दूधले बाल्टिन भरियो । तर, भैंसीको थुनमा दूध सकिएन । किसानलाई घरमा गएर अर्को बाल्टिन ल्याउने जाँगर थिएन । लोभी किसानलाई थुनको दूध यसै छोड्न मन पटक्कै थिएन । उसले एकछिन सोच्यो । त्यसपछि बाल्टिनको पिँधको भाग छाम्यो, बाल्टिनको पछाडिको भाग खाली थियो । सोच्यो, ‘यति ठाउँ हुँदाहुँदै अर्को बाल्टिन खोज्न कता जानु ?’ उसले बाल्टिन घोप्टायो, भएको दूध भुईंमा पोखियो ।’

Manahari-Timalsinaबाल्यकालमा हामी कथा सुन्थ्यौं, रमाइलो मान्थ्यौं । तर, कथाको आसय सजिलै बुझ्न कठिन पर्थ्यो ।

२०४६ साल आयो, पञ्चायत गयो, बहुदल आयो । नागरिक चाहन्थे, ‘बहुदलभित्र श्रीपेच नअटोस् । नागरिकले आफ्नो भाग्यको फैसला आफैं गर्न सकुन् ।’ तर, नागरिकले भनेजस्तो भएन । बहुदल पनि श्रीपेचकै चौबन्दी लगाएर आयो । राजनीति राजा, बहुदल र गणतन्त्रवादीमा कित्ताबन्दी भयो । गणतन्त्रवादीले श्रीपेचबाट उन्मुक्ति खोजे । अन्ततः गणतन्त्रको सपनामाथि दमन गरियो, प्रतिरोध भयो । यो नै जनयुद्धको रुपमा विकसित राजनीतिक क्रान्ति बन्यो ।

जनयुद्धले एकपछि अर्को विजयको शिखर चुम्दै गयो । विशिष्ट शक्ति सन्तुलनले शान्ति प्रक्रिया जन्मायो । संघर्षकै बलमा संविधान सभाको चुनाव भयो । माओवादीको पक्षमा जनलहर देखा पर्दै गयो । संघर्षकै बलमा गणतन्त्रको घोषणा गरियो । निरन्तरको जीतले नेताहरुमा राजनीतिक महत्वाकांक्षा हृवात्तै बढ्यो । क्रान्तिलाई क्यालकुलेटरमा हिसाब गर्ने नेताहरुले गणतन्त्रको उपलब्धि रौं बराबर पनि देख्न छोडे । युद्धको गणितले शान्तिकालमा उस्तै काम गर्दैनथ्यो । तर, शास्त्रीय नेताको यान्त्रीकृत दिमागले कार्यनीतिमै समाजवादभन्दा तल सोच्नै चाहेन ।

देशमा गणतन्त्र आयो । संसदवादीलाई संघीयताको नत्थी लगाइयो । नागरिकले धार्मिक दासताबाट उन्मुक्ति पाए । ‘राज्य भान्सा’लाई आँगनको डिलबाट टुलुटुलु हेर्न बाध्य बनाइएकाहरु भान्सामै पुगे । आफ्नो हिस्सेदारी खोजे । सुतेकाहरु ब्युँझिए । जन्मजात शोषणको चक्र चलाउन बानी परेकाहरुमा रुवाबासी चल्यो ।

जसरी किसानले थोरै दूधको लोभमा पुरै बाल्टिन घोप्टाएको थियो, त्यसरी नै वैद्यले जनवादी गणतन्त्रको नारामा गणतन्त्रको बाल्टिन घोप्टाए

संविधान सभामा माओवादी मुद्दाहरु हावी हुँदै गए । प्रायः सबै विषयगत समितिमा परिवर्तनले जित्दै थियो । तर, पार्टीभित्रको थ्री.बी. समूह (वैद्य-बाबुराम-विप्लव) देब्रे र दाहिने अतिबाट संविधान सभाविरुद्ध भाला रोप्दै गए । माओवादीले जितेको कांग्रेस-एमालेलाई मन पर्ने कुरै थिएन । अन्ततः मोहन वैद्यले गणतन्त्रको बाल्टिन घोप्टाए । यो सबै क्रान्तिकै लागि भनेर गरेका थिए ।

जसरी किसानले थोरै दूधको लोभमा पुरै बाल्टिन घोप्टाएको थियो, त्यसरी नै वैद्यले जनवादी गणतन्त्रको नारामा गणतन्त्रको बाल्टिन घोप्टाए । संविधान सभा भङ्गका लागि निरन्तर दवाव दिए । कांग्रेस-एमाले ‘मर्ता, क्या कर्ता’मै थिए । त्यसैमाथि वैद्यको बलियो साथ मिल्यो । प्रचण्ड नेतृत्वको सरकार ढल्यो । एमाले ‘हिलोको किलो’ नै थियो । त्यसमाथि सरकार छोड्न वैद्यले पार्टीभित्र किचलो मच्चाई रहे ।

प्रगतिशील सारतत्व र घनत्व भएको संविधानसभा आँखै अगाडि ढल्यो । वैद्यले पार्टी फुटाए । दोस्रो संविधान सभामा माओवादीको उपस्थिति कमजोर रह्यो । पहिलो संविधानसभाका उपलब्धि जोगाउनै धौ-धौ पर्ने परिस्थिति निम्तियो । लेनदेनमा हात पारिएका केही उपलब्धि समेत गुमे । ती सबै गणतन्त्रको बाल्टिन घोप्टाउने वैद्य कदमको परिणाम थिए ।

माओवादी शान्ति प्रक्रियामा क्रान्तिकै सपना बोकेर आएको थियो । ‘जनविद्रोहको माध्यमबाट जनताको सत्ता’का लागि सम्भव सबै उपायको खोजी गरियो । विद्रोहका लागि दर्जनौंपटक गरिएका प्रयत्नले सार्थकता पाउन सकेन । इच्छाशक्तिले मात्र क्रान्ति हुन्थेन । शक्ति सन्तुलनमा माओवादी हावी हुन सकेन । तर, ‘थ्री.बी. समूह’ले सम्पूर्ण दोषको भारी प्रचण्डमाथि बोकाए । तीन नेताका मत फरक-फरक थिए । तर, घाटे वैद्यसँग डाक्टर पनि धोबीघाटमा भेला भए । वैद्य जनगणतन्त्र चाहन्थे । डाक्टरका लागि उभिएकै धरातल काफी थियो । तर, जब प्रचण्डको विरोधको सवाल आउथ्यो, उनीहरुको मतो मिल्थ्यो, स्वार्थ मिल्थ्यो । एमाओवादी र प्रचण्ड कमजोर पार्न जुनसुकै समीकरण र कर्मका लागि उनीहरु तैनाथ हुन्थे ।

माओवादी एकताबाट वर्ग बैरीहरु रन्थनिनु स्वाभाविकै थियो । तर, त्यसभन्दा बढ्दा वैद्य-विप्लवहरु रन्थनिए

वैद्य-विप्लव संविधान सभाकै विरुद्ध उँभिए । बाबुरामले संविधान सभामा भाग लिए । तर, संविधानका विरुद्ध उभिए । वैद्य-विप्लवले जनगणतन्त्रको ‘मृगतृष्णा’मा गणतन्त्रको बाल्टिन घोप्टाए । यता बाबुरामले आधा भरिएको भन्दै संविधानको गिलास घोप्टाए । आज उनीहरु फरक मोर्चामा छन् । तर, ‘थ्री.बी. समूह’को साझा मत मिल्छ । उनीहरुको साझा ध्येय छ, ‘माओवादी र प्रचण्डलाई जति धेरै कमजोर पार्न सकियो, त्यति नै आफ्नो अभिलासा पूरा गर्न सकिन्छ ।’ यसका लागि उनीहरु जो-सुकैसँग जे-सुकै सहकार्य र सम्झौता गर्न तयार छन् ।

अन्ततः एकता विरोधी शक्तिहरुको ठूलै घेरा तोडेर ६ जेठमा माओवादीहरु जुटे । माओवादी एकताबाट वर्ग बैरीहरु रन्थनिनु स्वाभाविकै थियो । तर, त्यसभन्दा बढ्दा वैद्य-विप्लवहरु रन्थनिए । एमाओवादीले बलात्कारको अभियोगमा पार्टीबाट निकालेका हेमन्तप्रकाश ओली उनीहरुको नजरमा अब्बल क्रान्तिकारी ठहरिए । तर, क्रान्तिको नेतृत्व गर्ने, सर्वहारा वर्गीय क्रान्तिको रक्षा गर्ने प्रचण्ड-बादलहरु दलाल देख्ने मनोरोगबाट यिनीहरु मुक्त हुन सकेनन् । वैद्य-विप्लव-हेमन्त ओलीको साझा विज्ञप्ति माओवादी एकताका विरुद्ध वैदेशिक चलखेलको दृष्टान्त थियो वा आफ्नै कुदृष्टिको परिणाम ? यो त भविष्यले नै उजागर गर्ला । तर, क्रान्तिकारी एकताको विरुद्ध गला रेट्न गरिएको विष बमन सर्वहारा वर्गको हितमा पक्कै थिएन र छैन ।

भ्रष्टाचारी, बलात्कारी अनलाइनले चिन्दैन, चिन्ने बाबुरामले हो । तर, उनले यो जिम्मा त्यही निर्जीव अनलाइनको थाप्लोमा थोपरिदिएका छन्

चर्चित् चुनवाङ् बैठकपछि बादलले भनेका थिए, ‘सिद्धान्तको रक्षाका लागि क्रान्तिको बलिदानी गर्न सकिन्न ।’ उनको भनाइको तात्पर्य ‘सिद्धान्तको प्रयोग क्रान्तिको गला रेट्न होइन, क्रान्तिको पथप्रदर्शकका लागि हुनुपर्छ’ भन्ने थियो । तर, वैद्य सिद्धान्तको रक्षार्थ क्रान्तिको गला रेटिरहेछन् । वैद्य-बाबुराम-विप्लवको कदम जनचाहनाको विरुद्धमा छ । जनता चाहन्छन्, सबै माओवादीको एकता होस् । शक्तिशाली आन्दोलन पुनर्गठित होस् । आन्दोलनका उपलब्धिको रक्षा होस् । समाजवाद हुँदै साम्यवाद पुग्ने गन्तव्य फराकिलो हुँदै जाओस् । तर, थ्री.बी. समूहका कदम ‘मझेरी खनेर आँगन पुर्न’मै उद्दत देखिन्छन् ।

वैद्य-बाबुराम-विप्लव तीनै जना शक्तिको कसरतमा छन् । बाबुराम अनलाइनमा विज्ञापन गरेर पार्टी सदस्य हुन आह्वान गर्दैछन् । उनका लागि जनवादी केन्द्रीयता, संगठनात्मक अनुशासन र नैतिकताको कुनै अर्थ छैन । जसले अनलाइन चलाउन जान्दछ, त्यो निशर्त नयाँ शक्तिको सदस्य हुने हैसियत राख्दछ । भ्रष्टाचारी, बलात्कारी अनलाइनले चिन्दैन, चिन्ने बाबुरामले हो । तर, उनले यो जिम्मा त्यही निर्जीव अनलाइनको थाप्लोमा थोपरिदिएका छन् ।

यता, विप्लवमा शक्तिकै भूत चढेको छ । विचार, सिद्धान्त, सम्भावना, चुनौति केलाउनु उनी आफ्नो दायित्व ठान्दैनन् । हिजो जनयुद्धमा इमान्दार भएकोमा ग्लानी गर्नेहरुको उनलाई राम्रै साथ छ । माओवादी र प्रचण्ड सक्नुमा नै उनी आफ्नो भविष्य देख्छन् । उनलाई कार्यकर्ताको रगत उमाल्ने सुत्रकै खोजी गर्न भ्याई-नभ्याई छ । वैद्य सिद्धान्त जोगिएरै साम्यवाद आउने आत्मरतिमा रमाउँदै छन् । यसरी ‘थ्री.बी. समूह’ शक्तिमै दौडमा छ । तर, करिव ७०/८० लाख शुभेच्छुक र ३२/३५ लाख मतदाता भएको माओवादी छोडेर १०/२० हजार कार्यकर्ताको खोजीमा किन यतिबिघ्न भौतारिँदै छन् ? सम्भवतः ‘घर जलाएर खरानीको व्यापार’ यसैले भनिएको होला ।

विप्लवमा शक्तिकै भूत चढेको छ । उनलाई कार्यकर्ताको रगत उमाल्ने सुत्रकै खोजी गर्न भ्याई-नभ्याई छ । वैद्य सिद्धान्त जोगिएरै साम्यवाद आउने आत्मरतिमा रमाउँदै छन्

पार्टी एकतापछि बादलले भने, ‘कामरेड प्रचण्डमाथि हामीले लगाएको संगीन आरोप प्रमाणित भएन ।’ उनी विगतप्रति आत्मसमीक्षा गर्दै थिए, अनि, ग्लानी पनि । प्रचण्ड नाम कुनै अमूक व्यक्तिको उपनाम थिएन । माओवादी आन्दोलनको ऊर्जा, घनत्व, चातुर्यता र वर्ग संघर्षका जुनसुकै जोखिम उठाउन सक्ने बहुआयमिक व्यक्तित्वको प्रतिकात्मक संश्लेषण थियो । प्रचण्ड तीनै नेता हुन्, जसको नाम र काममा समानता छ । तर, चार दशकसँगै काम गरेका बादलसमेत प्रचण्डको ‘चेस गेम’बाट अलमल्लमा परे । बल्ल उनी सच्चाइको नजिक आइपुगेका छन् । थ्री.बी. समूहमा नियतमा खोट नभएको भए समयले प्रमाणित गरेको यथार्थ बुझ्न करै लाग्थ्यो । तर, नियत र नियतिले उनीहरुलाई अर्कै कित्तामा धकेल्ने खतरा बढ्दैछ ।

प्रचण्ड तिनै नेता हुन्, जो अलि परसम्म हेर्न खोज्छन्, अगाडि जाने जमर्को गर्छन् । जब यात्रामा खाल्डो देखिन्छ, भीर आउँछ, पहिरोले रोक्छ, पछि फर्कंदैनन् । बरु, नयाँ बाटोको खोजी गर्छन् र यात्रा जारी राख्छन् । उनले समयको प्रवाह बुझ्छन् र बोल्छन् । समय गतिशील छ, एकै दिनमा बिहान घाम लाग्छ, दिउँसो पानी पर्छ, हुरी आउँछ, असिना पर्छ । ती सबैको सामना फरक-फरक तरीकाले गर्नु प्रचण्ड विशेषता हो । कतिले उनलाई ढुलमुले देख्छन्, अडान नभएको पनि ठान्छन् । तर, यथार्थमा यो गति पकड्ने प्रचण्ड कौशलको परिणाम हुन्छ । हरेक समस्यालाई धैर्यता र कौशलतापूर्वक सामना गर्ने सामर्थ्यले नै उनलाई आजसम्म प्रचण्ड बनाइरहेको छ ।

चुनौतिलाई सम्भावनामा बदल्ने प्रचण्ड कौशल पुनः एकपटक प्रमाणित भएको छ । आँखैअगाडि डुब्नै लागेको माओवादी आन्दोलन जहाज उनकै नेतृत्वमा पार लाग्दैछ । विभाजित माओवादी र अन्य क्रान्तिकारी धारा अन्ततः एकीकृत भएका छन्, नेकपा (माओवादी केन्द्र) को ओतमूनि आएका छन् । नेपाली माओवादी आन्दोलनका लागि यो एउटा ऐतिहासिक कोशेढुङ्गा हो । नागरिकको निरासामा आशाको रक्त सञ्चार भएको छ । प्रचण्डको जीत भएको छ । माओवादी आन्दोलनको जीत भएको छ । आन्तरिक र बाह्य राष्ट्रियताको शक्तिशाली मियो देख्न चाहने स्वाभिमानी नेपालीको जीत भएको छ । थ्री.बी. समूहले यसका विरुद्ध प्रतिक्रियाको राजनीति होइन, माओवादी आन्दोलनको व्यापक एकताको पक्षमा गोलबन्द भएर खोचको जहाज पार लगाउने हिम्मत गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment