Comments Add Comment

उपत्यकाको पुनर्निर्माणमा सबै महिला इन्जिनियर

११८ दरबन्दीमा महिलामात्रै खटाइयो

woman_engineer२० जेठ, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि उपत्यका (काठमाडौं-ललितपुर र भक्तपुर) मा महिला इन्जिनियरहरु खटाइएको छ ।

महिलालाई उपत्यका बाहिर गएर काम गर्न कठिन हुने भन्दै शहरी विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले उपत्यकाका तीनवटै जिल्लामा महिला इन्जिनियरहरु खटाएको हो ।

कतिपयको दबाबका बाबजुद पनि महिला इन्जिनियरहरुलाई उपत्यकामा प्राथमिकताका साथ पोष्टिङ गरिएको शहरी विकास मन्त्रालयका सहसचिव समेत रहेका आयोजना कार्यान्वयन इकाइका निर्देशक शिवहरी शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

‘पुनर्निर्माणका लागि उपत्यकामा ११८ इन्जिनियरको दरबन्दी थियो,’ उनले भने- ‘पहुँचवाला मान्छेहरुले आफ्ना निकट पुरुष इन्जिजियरहरुलाई उपत्यकामा पोष्टिङ गर्न दबाब दिँदादिँदै पनि मैले सबै महिलालाई पोष्टिङ गरिसकेको छु ।’

पुुनर्निर्माणका लागि रहेको कुल दरबन्दी १ हजार ४ सय ४६ मध्ये २ सय ८६ जना महिला इन्जिनियर छनोट भएका थिए । १ सय १८ महिला इन्जिनियर उपत्यकामा पोष्टिङ भएपछि बाँकी रहेका १६८ लाई काठमाडौं नजिकैका जिल्लाहरु धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र मकवानपुरमा पोष्टिङ गरिएको शर्माले जानकारी दिए ।

‘छनोटमा परेका  अधिकांश महिलाले काठमाडौंमा पोष्टिङ गर्न माग गरेका थिए,’ उनले भने- ‘ त्यसैले उपत्यकाको दरबन्दीजति सबैमा महिलालाई पोष्टिङ गरिएको छ, बाँकी रहेकालाई काठमाडौंको नजिकै रहेका जिल्लामा पठाइएको छ ।’
तर, महिला इन्जिनियरहरुले आफ्नो इच्छाअनुसार अन्य जिल्लामा पनि पोष्टिङ हुन पाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

एक महिनाअघि शहरी विकास तथा भवन निर्माण विभागले इन्जिजियरहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ७० प्रतिशत र अन्तर्वार्तामा ३० प्रतिशत नम्बर दिने गरी परीक्षा लिएको थियो । कूल १४४६ जनाको दरबन्दी रहेकोमा फस्ट लिस्ट र सेकेन्ड लिस्ट गरी २९ सय जनाको नाम सार्वजानिक गरेको थियो ।

एक हजार इन्जिनियर र १ हजार सब इन्जिनियर तथा सहायक इन्जिनियर गरी हालसम्म २ जार इन्जिजियरहरु भूकम्पपछिको पुनर्निमाणको काम प्रभावित क्षेत्रमा पुगिसकेका शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment