Comments Add Comment

अब म पनि तलैबाट चुनिएर आउनुपर्छः प्रचण्ड

'तपाईहरुले बुझाइदिनोस् यो केन्द्रीय समिति होइन'

Prachanda (2)२० जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी महाधिवशेनमा आफू तलैबाट चुनिएर आउनुपर्ने र आफूलाई तलै कार्यकर्ताले हराइदिन सक्ने बताएका छन् ।

पार्टी एकतापछि बनेको जम्बो केन्द्रीय समितिको अन्तर्यबारे चासो राख्दा प्रचण्डले यसलाई केन्द्रीय समितिका रुपमा नभई महाधिवेशन आयोजक समितिका रुपमा बुझिदिन आग्रह गरे । तर, महाधिवेशनमा तलैबाट चुनिएर आउने विधि तय गरिने र त्यसो गर्दा अहिले आयोजक समितिमा रहेका धेरैले हार्ने उनले स्पष्ट पारे ।

पार्टी एकतापछिको जम्बो समितिबारे प्रचण्डको स्पष्टीकरण उनकै शब्दमाः

पार्टी एकतापछि संगठनात्मक जटिलताहरु त केही केही छन् । तर, नीतिगत, सैद्धान्तिक र बैचारिक कुरामा हामीभित्र साह्रै राम्रो एकता छ । एकतामा आएका १० वटै पक्षले यसो गर्नुपर्छ भन्ने कुरामा कहीँ कतै विमति छैन । विचार र राजनीतिमा विमति नभएपछि संगठन भनेको त मिलाएर जान सकिन्छ ।

                                           0000

मुख्य कुरा पार्टी एकता हो । माओवादी विभाजनको श्रृखलातिर बढिराखेको र त्यसले जनतामा निराशाको जो परिस्थिति थियो, त्यसलाई बदलेर एकताद्वारा फेरि एकचोटि सकारात्मक दिशा पक्रिएका छौं ।

दोस्रो, बैचारिक राजनीतिक कुरामा हामीवीच कुनै विमति छैैन ।

तेस्रो, संगठनको कुरामा यत्रो केन्द्रीय समिति भन्ने जुन परेको छ, यो गलत बुझाइ भो । तपाईहरुले बुझाइदिनुपर्‍यो, यो त महाधिवेशन आयोजक समिति बनाएका हौं हामीले । भन्दाखेरि केन्द्रीय समिति भनिए पनि यो महाधिवेशन आयोजक समिति हो ।

महाधिवेशनका बेला यस्ता समितिहरु अलि ठूलो बनाउने हामीकहाँ प्रचलन नै छ । पहिला विद्यार्थीहरुको १००१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने चलन थियो नि, करिव-करिव त्यही स्प्रीटमा हो यो । यसलाई आयोजक समिति बनेर बुझ्नुपर्छ ।

अहिले दश वटा पक्ष मिलाइएको छ, सबैको भावनालाई समेट्नुपर्ने र सकेसम्म समेट्नुपर्ने छ । अझै पनि नयाँ शक्ति र विप्लव समूहबाट आउने क्रम छ । त्यसैले आयोजक समितिलाई अलि ठूलो बनाएर केही बिगि्रएको छैन ।

                                           0000

हामी अब तुरुन्तै वडा, गाउँ, जिल्ला, प्रदेश सम्मेलन गर्दै महाधिवेशनमा जान्छौं । र, सम्मेलनमा कार्यविधि बनाउने टीम बनाइएको छ । र, सम्भवतः त्यो कार्यविधिमा म पनि तलबाटै निर्वाचित भएर आउनुपर्ने प्रावधान राखिन्छ ।

सबै निर्वाचित भएर आउँदा अहिले आयोजक समितिमा भएका सबै चुनिएर आउँछन् भन्ने हुुँदैन । चुनिनका लागि तल जानुपर्‍यो । म पनि जानुपर्छ । र, त्यो जिल्लामा ध्यान नदिने हो भने मलाई पनि नचुनिदिन सक्छन् ।

हामीले तल जाने प्रक्रिया बनाउन खोजेका हौं । त्यसैले ठूलो भयो भनेर महाधिवेशनबाट चुनिएको जस्तो प्रचार गर्न खोजिएको छ ।

एकथरी मानिसहरु फेरि एकतापछि माओवादी फेरि रिभाइभ हुने भो, फेरि कसरी कन्फ्यूज गर्ने भन्नेतिर लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment