Comments Add Comment

कहिले सुल्झिएला क्यासिनो विवाद ?

२७ जेठ, काठमाडौं । क्यासिनो पर्यटनको एउटा दरिलो आधार भए पनि यसको नियमन र व्यवस्थापन अभावले विवादित बन्ने गरेको छ ।

casino-rouletteक्यासिनोसम्बन्धी सरकारी नीतिको अभाव र सञ्चालकको लापर्बाहीले पर्यटकीय खुराक क्यासिनोले फड्को मार्न सकेको छैन ।

सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा क्यासिनो सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिएको थियो । तर, निजी क्षेत्रले क्यासिनोलाई व्यापारिक प्रयोजनका लागि दुरुपयोग गर्न थालेपछि पछिल्लो समय सरकारले क्यासिनोलाई कडाइ गरेको थियो । क्यासिनोमा नेपाली प्रवेश भएको पाइएमा जुवा ऐनअन्तर्गत कारबाही हुने व्यवस्था छ ।

क्यासिनोसम्बन्धी ऐनको अभाव र व्यवसायीको हेलचेक्र्याइँका कारण क्यासिनो विवादमा तानिने गरेको बताउँछन् पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकाल । “क्यासिनो विदेशीका लागि हो तर व्यवसायीले यसलाई व्यापारका रुपमा लैजान खोजे, जहाँ नेपालीको प्रवेश बढ्यो र विकृति ल्यायो, उनले भने ।

विसं २०७० मा पहिलो पटक क्यासिनोसम्बन्धी नियमावली लागू गरियो तर व्यवसायीले सरकारको मापदण्ड नमानेपछि यो थप विवादित बनेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोलाई नियमन र व्यवस्थित गर्न नियमावली बनायो तर क्यासिनो सञ्चालकले नियमावलीले सञ्चालन गर्न कठिन भएको भन्दै विरोध गरे ।

वर्षौंदेखिको बक्यौता रकम तिर्न नसकेपछि २०७१ देखि सबै क्यासिनो बन्द भए । दुई वर्षकाबीचमा केही क्यासिनो भने सञ्चालन भइरहेका छन् । धेरैले बक्यौता रकम बुझाउन बाँकी छ ।

क्यासिनो सञ्चालक सङ्घका अध्यक्ष किशोर सिलवालले क्यासिनो व्यवसायलाई निरुत्साहित गर्ने गरी सरकारले नियमावली जारी गरेकाले यो व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको बताउँछन् ।सरकारले घोषणा गरेअनुसार २०७० सम्मको बक्यौता रकममा ५० प्रतिशत छुट दिने भनिए पनि त्यसो हुनाको साटो थप जरिवाना बढाएकाले समस्या आएको उनले बताए ।

अध्यक्ष सिलवालले सरकारले जरिवानाबापतको ३० प्रतिशत रकम छुट गरेको खण्डमा आफूहरु व्यवसाय सञ्चालन गर्न आतुर रहेको दाबी गरे। पर्यटन विभागको विवरणअनुसार अहिले क्यासिनोबाट एक अर्ब ३२ करोडभन्दा बढी बक्यौता रकम उठाउन बाँकी छ, अझै पनि व्यवसायीले उक्त रकम बुझाएका छैनन् । निमावलीअनुसार २०७० सम्म रु ६७ करोड बक्यौता रकम बुझाउन बाँकी थियो, उक्त रकम समयमा नबुझाएपछि हरेक महिना ३० प्रतिशत जरिवाना लाग्ने हुँदा यति धेरै बक्यौता पुगेको हो । केही क्यासिनोले अहिले बक्यौता रकम तिर्न थालेका छन् ।

बामे सर्दै क्यासिनो

लामो समयको विवादपछि राजधानीका केही क्यासिनो अहिले सञ्चालनमा आएका छन् । पाँचतारे होटल सोल्टी, होटल याक एन्ड यति, हायात रिजेन्सी र साङ्ग्रीलाले नयाँ नियमावलीअनुसार क्यासिनो सञ्चालन गरिरहेका छन् । तीनबाट करिब रु २२ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले सरकार र निजी क्षेत्रको साझेदारीमा क्यासिनो व्यवस्थापनसम्बन्धी उपयुक्त नीति बनाइनुपर्ने बताए । पर्यटकको रोजाइ मानिने क्यासिनो बन्द हुँदा वार्षिक कम्तीमा दुई लाख पर्यटक घटेको बताइन्छ ।

क्यासिनो सञ्चालकले आफूलाई पारदर्शी बनाउन नसक्नु, सरकारले कडाइका साथ नियन्त्रण गर्न नसक्नु र मजदुर अनुशासित बन्न नसकेका कारण सधैँ विवादमा आउने गरेको सापकोटाले उल्लेख गरे।

विसं २०२३ देखि होटल सोल्टीले नेपालमा क्यासिनो सेवा सुरु गरेको थियो । विसं २०४८ पछि अन्य पाँचतारे होटलले क्यासिनो सञ्चालन अनुमति पाएका थिए । विसं २०७० मा नेपालमा १० वटा क्यासिनो सञ्चालनमा रहेका थिए ।

हाल उपत्यकामा एकसहित उपत्यका बाहिर प्रमुख पर्यटकीय क्षेत्रमा चार वटा मिनि क्यासिनो सञ्चालनमा रहेका छन् । यकिन विवरण नभए पनि क्यासिनोमा करिब आठ हजार मजदुरले प्रत्यक्ष रोजगारी पाएका थिए । क्यासिनो बन्द भएसँगै उनीहरुको रोजगारी गुमेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment