Comments Add Comment

प्लास्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन अभियान

petrol by plastic (1)
२९ जेठ, काठमाडौं। प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधिबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विविध प्रचारात्मक अभियान चलाइरहेको छ ।

जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा फड्को मार्दै प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधि भित्र्याउने तयारी गरेको हो । उक्त प्रविधिबारे विद्यालय तहदेखि जनतासम्म चेतना फैलाउने उद्देश्यले ‘स्कुल आयल फिल्ड क्याराभान’ शीर्षकमा देशव्यापी नृत्य प्रतियोगिता गरिएको थियो ।

नेपाल र जापानबीच कूटनीतिक स्थापना भएको ६०औँ वार्षिकोत्सव र नेपालमा गोरखा भूकम्प गएको एक वर्षको स्मरणमा प्रतियोगिता गरिएको हो । काठमाडौँ, सिन्धुपाल्चोक, गोरखा, कास्की र रुपन्देही गरी पाँच स्थानबाट नृत्य शृङ्खला (अडिसन राउन्ड) गरी ११ समूह छनोट भएका थिए । ती समूहको आज नास्ट प्राङ्गणमा अन्तिम प्रतियोगिता गरिएको थियो ।

जापानबाट ल्याइएको यन्त्र जडानयुक्त ट्रक प्रत्येक अडिसन स्थलमा लगेर प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रदर्शन गरिएको थियो । प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगीलाई सहभागी शुल्कबापत प्लास्टिक ल्याउने व्यवस्था गरिएको थियो । सबै प्रतियोगीबाट करिब १५ किलो प्लास्टिक जम्मा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आकर्षणका रुपमा भारतको डिआइडी लिटिल मास्टर विजेता नृत्यङ्गना तेरिया फौजा मगरको आकर्षक नृत्यले दर्शकलाई मोहित तुल्याएको थियो । मगरले प्रतियोगिताको प्रमुख अतिथिको नृत्य प्रस्तुत गरेकी थिइन् ।

प्रतियोगितामा मेलम्चीको प्रगति इङ्ग्लिस हाइयर सेकेन्डरी स्कुलको समूह प्रथम भएको छ । त्यस्तै पोखराको बेथानी हाइयर सेकेन्डरी स्कुलको समूह दोस्रो भएको छ । प्रथम हुनेले रु एक लाख र द्वितीयले रु ५० हजार हात पारेका छन् । त्यसैगरी छनोट भएर आएका अन्य प्रतियोगी समूहले रु १०÷१० हजार प्राप्त गरेका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नास्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले विज्ञान र कला समावेश गरेर मुलुकको समृद्धि हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पहिलो पटक नास्टले यस किसिमको अभियान चलाएको बताए ।

उनले खेर गएको प्लास्टिकलाई तेलमा बदल्ने प्रविधिबारे जनमानसमा चेतना फैलाउने उद्देश्यले गरिएको यस्ता कार्यक्रमले वातावरणीय प्रदूषण र इन्धनको अभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले प्रविधि र प्रतिभालाई एकै ठाउँमा राखेर चेतना अभिवृद्धि गर्न प्रतियोगिता गरिएको उल्लेख गरे ।

कार्यक्रममा नास्टका सचिव डा बुद्धिराज खड्गी, नास्ट सेवा आयोगका अध्यक्ष डा चिरञ्जीवी रेग्मी, प्रविधि सङ्काय प्रमुख डा सुरेशकुमार ढुङ्गेल लगायतले वैज्ञानिक विज्ञानमा मात्र हैन कला र संस्कृतिप्रति पनि उत्तिकै लगाव राख्छन् भन्ने उदाहरण दिन कार्यक्रम सान्दर्भिक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment