Comments Add Comment

पोखरामा नयाँ प्याराग्लाइडिङ कम्पनीको दर्ता बन्द

Paragliding-3
४ असार, पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरालाई आधार क्षेत्र बनाएर प्याराग्लाइडिङ दर्ता गर्न बन्द गरेको छ ।  पोखराको क्षमता ६२ वटा कम्पनी भएकाले सो कोटा पूरा भएकाले अबदेखि नयाँ कम्पनी दर्ता बन्द गरिएको प्राधिकरणका उप महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

उनले पोखराले अब थप कम्पनी धान्न नसक्ने भएकाले दर्ता प्रक्रिया रोकिएको स्पष्ट पारे ।  नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले शनिबार पोखरामा आयोजना गरेको ‘प्याराग्लाइडिङका व्यवसायिक समस्या, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

उप महानिर्देशक पोखरेलले अन्र्तराष्ट्रिय विमानस्थल निर्माणपछि पोखरामा प्याराग्लाईडिङ बन्द हुने/नहुने अहिलेसम्म टुङ्गो लागिनसकेको बताए । विमानस्थल बनेपछि प्याराग्लाइडिङ बन्द हुने चर्चाले पर्यटन व्यवसायी चिन्तित भइरहेका बेला उनले यस्तो बताएका हुन् । उडान र अवतरण (रुट -मार्ग) कुन हुने भन्ने बारेमा टुंगो लागेपछि मात्रै यसबारे भन्न सकिने उनको भनाइ छ ।

उनले भने,-‘उडान र अवतरण रुट पहिले टुङ्गो लाग्नु पर्‍यो, त्यो चिनिया कम्पनीले विमानस्थल निर्माणको प्रतिवेदन तयार गरेर सार्वजनिक गर्छ, त्यसपछि मात्रै प्याराग्लाइडिङ गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा भन्न मिल्छ, अहिलेनै यसै भन्न सकिन्न ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हवाइ उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर अधिकारीले पोखरामा व्यवसायीक रुपमा प्याराग्लाइडिङ उडान भएपनि ब्यवस्थित भने हुन नसकेको औंल्याए ।

उनले भने,-‘प्याराग्लाईडिङ उडान भर्ने स्थानमा न त शौचालय छ, न खानेपानीकै सुविधा छ, अनि अवतरण गर्ने ठाउँमा पनि काँडाहरु छन्, यो सुधार्नपर्ने टड्कारो आवश्यक्ता छ ।’

उनले सोलो उडान र टेण्डम उडान एकै ठाउँबाट गर्न नहुने बताउँदै महाशाखाले टेण्डमलाई प्राथमिकता दिने बताए । उनले उडान शुल्क अनिवार्य तिनुपर्ने बताउँदै अर्को नयाँ ब्यबस्था नभएसम्म पाइलटहरुले पटके उडान शुल्क तिर्नैपर्ने बताए । उनकाअनुसार पाइलटहरुले मासिक ९ हजार रुपैयाँ उडान शुल्क तिर्दै आएका छन् ।

कार्यक्रममा व्यवसायी तथा पाईलटहरुले सरकारले विदेशी सो सरह आफूहरुलाई पटके शुल्क लिएकोमा विरोध गरे ।  व्यवसायी तथा पाइलटहरुको प्रतिनिधित्व गर्दै पाइलट क्लवका अध्यक्ष खुम गुरुङले मासिक शुल्क हटाएर वाषिर्क नविकरण शुल्क मात्र लिन आग्रह गरे ।
पर्यटन बोर्डका पूर्व सदस्य तथा राष्ट्रिय पर्यटन परिषदका सदस्य वासु त्रिपाठीले प्याराग्लाईडिङ व्यवसायमा सिण्डिकेट लाद्न नहुनेमा जोड दिए ।

६२ वटा प्याराग्लाईडिङ कम्पनी रहेको पोखरामा सराङकोट आधार क्षेत्र बनाएर २० र तोरीपानी आधार क्षेत्र बनाएर ४२ वटा कम्पनीले उडान भर्ने अनुमति लिएका छन् ।

यो पनि पढ्नुस्

बन्द हुने भो पोखराको प्याराग्लाइडिङ १ विकल्प कहाँ खोज्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment