Comments Add Comment

कालोधनलाई सेतो बनाउन सेयर बजारको प्रयोग

१५ असार काठमाडौं । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने, ‘पछि केही असजिलो पर्ने पो हो कि ? त्यसकै तनावमा छु ।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले  बताए ।

Bullलगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन । ठूला व्यापारिक घराना, विदेशमा लगानी गर्दै आएका नेपाली, सेयर बजारका स्थापित खेलाडी र सरकारी कर्मचारीले यसरी ठूलो परिमाणमा सेयर खरिदमा रकम परिचालन गर्ने गरेका अाजको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

उनीहरूले आफ्ना विश्वासका ब्रोकरलाई नगद भुक्तानी गर्ने गरेको सरोकारवाला बताउँछन् । ब्रोकरहरूका अनुसार त्यसरी आउने अधिकांश रकमको स्रोत खुल्दैन ।

नगदमा हुने भुक्तानीको ठूलो हिस्सा करछली वा भ्रष्टाचारबाट आर्जित रकम हुन सक्छ । ‘यही बाटोबाट सम्पत्ति शुद्धीकरण गर्न सेयर बजारको प्रयोग गर्ने प्रवृत्ति अहिले बढेको छ,’ अर्का एक ब्रोकर भन्छन्, ‘पछिल्ला महिना सेयर बजार बढाउन यस्तो पैसाले पनि भूमिका खेलेको छ ।’

अवैध व्यापार, करछली, भ्रष्टाचार र बिचौलियाका कामदेखि अन्य गैरकानुनी कार्यबाट कमाएको अनधिकृत सम्पत्ति आर्जन गर्ने व्यक्तिले आफ्ना विश्वासका सेयर ब्रोकरलाई नगद ल्याएर दिन्छन् ।

ब्रोकरले त्यो रकमबाट १० लाख रुपैयाँको सीमा ननाघ्ने गरी सेयर किन्दै जान्छन् । किनभने, १० लाखभन्दा बढी रकमको कारोबार गर्दा स्रोत खुलाउनुपर्छ । त्यस्तो कारोबारको जानकारी राष्ट्र बैंकअन्तर्गतको वित्तीय सूचना इकाइलाई दिनुपर्छ । त्यसो हुँदा ब्रोकरले एक करोड रुपैयाँको सेयर किन्न हप्तौँ लगाउँछन्।

ब्रोकरले प्राप्त नगद आफ्नो कम्पनीको खातामा जम्मा गर्छन् र अर्को ब्रोकरलाई चेकमै भुक्तानी दिन्छन् । जब त्यसरी किनिएको सेयर बेचिन्छ, नगद ब्रोकरलाई दिने लगानीकर्ताले एसी पेई (खातामा भुक्तानी हुने) चेक पाउँछ । त्यो चेक लगानीकर्ताको बैंक खातामा जम्मा गर्दा सम्पत्तिको स्रोत देखिने मात्रै होइन, कर तिरेर ‘सेतो धन’ भइसक्छ ।

सुरुमा सेयर किन्दा पैसा कहाँबाट आयो भनेर राज्यले खोजी गर्न नसक्दा यसरी कालो धन सेतो भइरहेको विज्ञहरूले बताएका छन् । पहिल्यैदेखि हुन्थ्यो यसरी सेयर बजारमार्फत सम्पत्ति शुद्धीकरण गर्ने क्रम गणतन्त्र स्थापनापछि बढ्न थालेको थियो ।

‘त्यतिवेला पनि घरजग्गा र सेयरमा ठूलो पैसा आएको थियो,’ ब्रोकरहरूले भने, ‘अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको देखिन्छ ।’ उनीहरूका अनुसार यसरी बजारमा भित्रिने पैसाको आकार पहिलो ‘लाख’मा थियो, अहिले ‘करोड’मा पुगेको छ ।

 केही ब्रोकरका अनुसार अहिले भारतीय व्यवसायीले पनि नेपाली सेयर बजारमा लगानी बढाएका छन् । भारतमा सम्पत्तिको स्रोतमा बढी कडाइ हुन थालेपछि उनीहरूले नेपाली बजारमा लगानी गर्न थालेको ब्रोकरहरूको भनाइ छ । ‘भारतीयले नेपालका खासगरी मारवाडी समुदायलाई विश्वासमा लिएर उनीहरूमार्फत नै सेयर बजारमा लगानी गरिरहेका छन्,’ एक ब्रोकरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment