Comments Add Comment

प्रधानमन्त्रीज्यू, अब एउटा घोषणा गरिदिनुहोस् प्लिज !

अरुण तेस्रो अब हामी आफैँले यसरी बनाउने

नौ सय मेगावाटको अरुण ३ तथा अरुण उपत्यकामा निर्माण गर्न सकिने अन्य विभिन्न जलविद्युत आयोजनाहरु हालको पूर्वाञ्चल तथा भविष्यको १ नं. प्रदेशका आर्थिक क्रान्तिका मेरुदण्ड हुन् । अर्थात् सेतो सुन ।

विगत २३ वर्षअघि हाम्रो एउटा सानो अभियानकारी समूहले गरेको सफल अभियानः अरुण-३ को निर्माण नेपालले नेपालकै लागि गर्नुपर्दछ तथा विश्व बैँकलगायतका अन्तर्राष्ट्रिय दातृनिकाय र सरकारहरूले दिएको ऋण तथा अनुदानको पनि सही सदुपयोग हुनुपर्दछ भन्ने थियो । तर, यस देशलाई आज यस अधोगतिमा पुर्‍याउने त्यसबेलाका ‘खलनायक’हरु डा. रामशरण महत, पशुपति शमसेर, डा. प्रकाशचन्द्र लोहनी, सूर्यनाथ उपाध्याय, डा. विनायक भद्रा, अजितनारायणसिंह थापा र डा. जनकलाल कर्माचार्यहरूका कारण यो सम्भव भएन । अरुण-३ खारेजीमा पर्‍यो ।

Gopal-Chintanत्यसपछि पनि हाम्रो अभियान जारी रहृयो । तर, ०६५ सालमा आएर नेपाली काङ्ग्रेस र नेकपा एमालेको सरकारले बिनासोच अरुण ३ भारतीय सरकारी कम्पनी, सतलज जलविद्युत निगमलाई केही मेगावाट बिजुली र केही रोयल्टी पाउने शर्तमा कौडीको मूल्यमा सुम्पिदिए ।

भित्रभित्र के कति रकमको चलखेल के कसरी भयो, त्यो त छानविनको विषय हो । यसमा पछि आएर प्रचण्ड र डा. बाबुराम भट्टराईसमेतको समर्थन रहृयो । यसरी जनयुद्धको जगमा प्रधानमन्त्री बनेका यी दुई “क्रान्तिकारी” कम्युनिष्टहरुको योगदान, बलिदान र राष्ट्रियता पनि बालुवामा पानी हाले बराबर भयो । १० वर्षे जनयुद्धमा खेलिएको रगतको होली दाहालको झोली र भट्टराईको नयाँ करिश्मा चोलीमा सिद्धियो ।

अब के गर्ने त ? अबको कुरा सिधा छ । हामीले बल्लतल्ल देशका लागि केही सुनौला सपना देख्ने प्रधानमन्त्री केपी शर्मा ओली पाएका छौँ । उनकै पालामा केही होलाको जस्तो पनि छ । उनी आँटिला पनि देखिएका छन् ।

प्रधानमन्त्रीज्यू, तपाइँले बोलिदिए पुग्छ, हामी लड्न तयार छौँ । हामीलाई दलाल र डाक्टर बुद्धिजीवीभन्दा पनि धेरै नपढेकै सही तर यस्तै र अझै बढी आँटिला एवं इमान्दार नेताहरु चाहिएको छ । प्रधानमन्त्री ओलीले आजै र अहिल्यै घोषणा गरी दिनुपर्‍यो कि अरुण ३ (र, साथमा माथिल्लो कर्णाली र उपल्लो मर्स्याङ्दी पनिं) अब नेपालीले आफैँ बनाउने छन् । काठमाडौँ-निजगढ दूतमार्ग सरकार आफैँले बनाउने घोषणा गरेझैँ अरुण ३ पूर्वाञ्चल अर्थात् १ नं. प्रदेशका जनताले आफैँ बनाउने छन् । यताकाले मस्र्याङ्गदी र उताकाले माथिल्लो कर्णाली बनाउनेछन् ।

र, सक्नुहुन्छ भने बिनापूर्वाग्रह भनिदिनुहोस् (किनकि म आफूँ मालेको संस्थापक कार्यकर्ता हो तर एमाले होइन) कि “यसको नेतृत्व आफ्नो सम्पूर्ण जिन्दगी नेपाल र भारतबीच भएका असमान सन्धि सम्झौताहरुको खारेजीका लागि बिताएको, जलस्रोतसँग सम्बन्धित सन्धि सम्झौताहरुका बारेमा विद्यावारिधि गरेको एउटा प्राध्यापक तथा सफलतापूर्वक अरुण ३ अभियान हाँकेको र अरुण ३ खारेज भएवापत खाँदबारीमा नेकपा एमालेका नेता र कार्यकर्ताहरूबाट गोदाइ खाएको पूर्वाञ्चलकै आठराईको हृवाकु गाउँमा जन्मेको प्रधानमन्त्रीको छिमेकी ठिटो डा. गोपाल चिन्तनले गर्नेछ” भनेर !

प्रधानमन्त्री ओलीले यस देशका लागि नगरी नहुने एउटा महान काम हो यो । अरुण-३ लगायतका यी आयोजनाहरु आफैँले आफ्नै लागि बनाइयो भने नेपाल छिट्टै नै जलविद्युतमा आत्मनिर्भर हुनेछ । भारत र अरब मुलुकहरुमाथिको नेपालको परनिर्भरताको अन्त्य हुनेछ । भारतीय दादागिरी र नवउपनिवेशवादको जरा काटिनेछ र नेपालमा आर्थिक क्रान्ति हुनेछ । तपाई प्रधानमन्त्रीको सँधै जयजयकार हुनेछ । तपाईका लागि काँध थाप्नेहरूको लावालस्कर हुनेछ ।

गर्नुहुन्छ यति हिम्मत हाम्रा लागि ? पूर्वाञ्चलका लागि ? १ नं. प्रदेशका लागि ? यस राष्ट्रका लागि ? यो हो छिट्टै र सजिलै पूरा हुने तपाईको एउटा सपना

प्रधानमन्त्रीज्यू, तपाईले यस राष्ट्रलाई यति गुण लगाइदिनुभयो भने म पनि आजैदेखि तपाईको पछाडि लाग्नेछु । तपाईलाई अन्तिम घडीसम्म साथ दिनेछु । म काठमाडौँ र पोखराको हुँदोखाँदो बुर्जुवा जागिर, वकालत, कमाइधमाइ र उपभोक्तावादी सुखसुविधा सबैथोक छोडेर विनापारिश्रमिक अरुण र बरुणमा पाइने दुईछाक ढिँडो र सागका भारमा अरुण नदीका खोंचमा झम्पल र गैँती चलाएर काम गर्नेछु । अरुण ३ आयोजना तोकिएको समय र लागतमा मेरै नेतृत्वमा निर्माण गरेर देखाइदिनेछु ।

गर्नुहुन्छ यति हिम्मत हाम्रा लागि ? पूर्वाञ्चलका लागि ? १ नं. प्रदेशका लागि ? यस राष्ट्रका लागि ? यो हो छिट्टै र सजिलै पूरा हुने तपाईको एउटा सपना । छन् कोही भने फोन हान्न लगाउनुहोस् मलाई । म आजै र अहिल्यै विस्तृत योजनासहित हाजिर हुनेछु ।

अनि यसका लागि के हामी पूर्वेलीहरु तयार छैनौँ ? पैसा त छ नि हामीसँगै । विज्ञहरु पनि छन् हामीसँगै । काम गर्ने प्राविधिक र मजदुरहरू पनि छन् हामीसँगै । रोडा, ढुङ्गा र माटोको त समस्यै भएन । बिजुलीको बजारको कुरा गर्ने हो भने पूर्वाञ्चलले मात्र दशौँ हजार मेगावाट बिजुली खपत गर्न सक्छ/गर्नुपर्दछ । किन गर्नुपर्‍यो निर्यात ? बिजुली बढी भएर बेच्नै परेछ भने त्यही जोगबनी र सिलगुढी कटाउँला नि । किन चाहियो दिल्ली !
अन्त्यमा,

पूर्व हो घाम झुल्कने, पूर्व हो उज्यालो पस्कने !
हामी पूर्वेली छँदाछँदै सतलज र दिल्लीसँग सरकार किन लस्कने !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment