जाजरकोट, २८ असार । यहाँका अधिकांश गाविसमा गएको बजेटबाट कामै नगरी रकम भुक्तानी लिने गरेको खुलासा भएको छ । गाविसमा गएको बजेटबाट निर्माण हुने भनिएका भौतिक संरचना, सडक, खानेपानी योजना आदिको योजना निर्माण नै नगरी रकम भुक्तानी गरिएको हो ।
जिल्लाका डाँडागाउँ, लहँ, नायकवाडा, रोकायगाउँ, रग्दा, भगवती, खगेनकोटलगायतका दर्जन गाविसमा यी काम नभएरै रकम भुक्तानी भएका छन् ।
खगेनकोटको वडा नं ७ गरालामा खानेपानीको योजना निर्माण नभएरै भुक्तानी भएको छ । त्यस्तै, डाँडागाउँ गाविसमा काम शतप्रतिशत काम नभए पनि भुक्तानी दिने काम भएको डाँडागाउँ गाविसका कार्यालय सहायक गगन रानाले बताए ।
अधिकांश योजना निर्माण कार्य जारी रहेपनि रकम फिर्ता हुन नदिन गाविसमा कागज मिलाएर रकम भुक्तानी लिने काम भएको एक उपभोक्ताले बताएका छन् ।
गाविसमा निर्माण हुने योजनाको अनुगमन नहुने भएका कारण कामै नगरी रकम लिन सजिलो भएको जानकार बताउँछन् ।
अधिकांश योजना निर्माण नगरी सदरमुकाम आएर नक्कली बिल बनाई रकम भुक्तानी लिने गरिएको पाइएको छ । नेपालगन्जका ठूला व्यापारीको नक्कली भ्याट बिल सदरमुकामका कम्प्युटरमा निर्माण गरी यहाँका उपभोक्ताले जिविस र गाविसबाट रकम भुक्तानी लिने गरेको पाइएको छ ।
यो कार्यले एकातिर भ्याट छली भएको छ भने अर्कोतिर व्यापार नै नभएका नक्कली बिल बनाई रकम कुम्ल्याउने काम भएको छ ।
प्रतिक्रिया 4