२९ असार, ताप्लेजुङ । पहिरोका कारण ताप्लेजुङको तमोर नदी थुनिएर बनेको ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निश्कर्ष निकालेको छ ।
नदी ठुला ठुला चट्टानले छेकेको र फुरुम्बु तर्फको भाग कटान गरेर बगिरहेकाले यहि अवस्थामा ताल फुटेर तमोर नदी किनारका बस्तीमा क्षति गर्ने सम्भावना नरहेको अध्ययन टोलीले निश्कर्ष निकालेको ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले बताए ।
उनका अनुसार टोली संयोजक एवम् जिल्ला भू-संरक्षण कार्यालय ताप्लेजुङका प्रमुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतम क्षेत्रमा चट्टानी भाग रहेकोले यहि अवस्थामा ताल फुट्ने खतरा नरहेको बताएका छन् ।
अध्ययन टोली ताल फुटेर हुने जोखिमको तात्कालिक अवस्था अध्ययन गर्न बुधवार विहान ताल बनेको स्थलमा पुगेको थियो । ताल बनेको स्थलको सावादिन गाविस तर्फको पुरै भाग र फुरुम्बु गाविस तर्फको पनि धेरै भाग चट्टानले घेरिएकोले ताल फुट्दैन भन्ने निचोडमा पुगेर फर्किएको टोली सदस्य गणेश अधिकारीले बताए ।
अधिकारीले तटिय क्षेत्रका बासिन्दाले आत्तिई हाल्नुपर्ने अवस्था नरहेको समेत बताए ।
तालको अध्यायन गर्न सदरमुकामबाट प्राविधिक टोलि गएको जानकारी पाएपछि तालको अवस्था र यसबाट हुने सम्भावित जोखिम बुझ्न बुधबार दोभान र हान्द्रुङका १० घर परिवार समेत त्यहाँ पुगेका थिए ।
पहिले जमेको पानी बाहेक अब जम्मा हुने अबस्था नरहेको र आए जति पानी निकास हुन सक्ने पाइएको छ । अध्ययन टोलीमा ईञ्जिनियर ,प्राविधिक, रेडक्रसकर्मी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी वलका प्राविधिक अधिकृत सामेल रहेका थिए ।
अध्ययन टोलीले तल्लो क्षेत्रका स्थानीयबासीलाई नआतिन तर, सचेत भने रहन आग्रह गरेको छ । ‘नदी किनारका वस्ती सँधै जोखिममा रहन्छन् । त्यसैले तालको कारण मात्र नभई सँधै सचेत रहनुपर्छ’ ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।
अध्ययन टोलीले भौगोलिक विकटताको कारण तालको पानीलाई तत्कालै बगाउने अवस्था नरहेको समेत बताएको छ । बिस्फोट गराएर पानी नदीमा बगाउने अवस्था नरहेको टोलीको निष्कर्ष छ ।
यसअघि तालको लम्बाई ६ सय मिटर रहेको अनुमान गरिएपनि अध्ययन टोलीलेसाढे तीनसय मिटर मात्र भएको बताएको छ । टोली संयोजक कुवँरले १ सय २० मिटर चौडाई र १५ मिटर गहिराईका आधारमा तालमा अनुमानित ६ लाख ३० हजार घन मिटर पानी जम्मा भएको हुन सक्ने बताए ।
तालको अवस्थाबारे सूचना दिन नेपाली सेना र नेपाल प्रहरीको टोली केहि दिन सोहि स्थानमा रहनेछन् ।
प्रतिक्रिया 4