Comments Add Comment

साझा प्रकाशनमा थन्किएका पुस्तक सांसदले किनिदिए

DR-Paudel

३ साउन, भरतपुर । साझा प्रकाशन बचाउ अभियान अन्तर्गत एक सांसदले साझा प्रकाशनमा थन्किएका पुस्तकहरु आफूले किनेर सामुदायीक विद्यालयहरुलाई वितरण गरेका छन् ।

साझा प्रकाशनका १० करोड मूल्य बराबरका पुस्तक थन्किएर बसेका बेला सांसद धनीराम (डिआर) पौडेलले पुस्तक खरिद गरेर विद्यालयहरुलाई निःशुल्क वितरण गरेका हुन् । पौडेल नेकपा माओवादी केन्द्रका सांसद हुन् ।

पौडेलले चितवन क्षेत्र नम्बर ५ का १८ माध्यमिक विद्यालयहरुलाई ७५ वटा पुस्तकका दरले वितरण गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकमबाट पुस्तक किनेर सामुदायिक विद्यालयहरुलाई वितरण गरेको उनले जानकारी दिए ।

‘कार्यक्रमको दुई लाख रुपैयाँ बजेट पुस्तकमा बिनियोजन गरेर सोही रकमबाट खरिद गरेका पुस्तक एक कार्यक्रमका बीच सबै विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गरियो,’ उनले भने ।

पुस्तक वितरण कार्यक्रममा उनले अनुदान दिएर मात्रै नभएर पुस्तक खरिद गरिदिएर पनि साझालाई बचाउन सकिने बताए । उनले बिभिन्न व्यक्तित्वहरुका जीबनी, संस्मरण, उपन्यास, कथा, कविता लगायतका पुस्तकहरु खरिद गरेर वितरण गरेका थिए । साझाको आग्रह अनुरुप आफूले मात्रै पुस्तक खरिद गरेर विद्यालयहरुमा वितरण गरेको दावी उनले गरे ।

कार्यक्रममा चितवनका सहायक जिल्ला शिक्षा अधिकारी भूमिलाल सुवेदी, जिल्ला विकास समिति चितवनका योजना अधिकृत प्रकाश पौडेल, दिव्यनगर उच्च माविका प्राचार्य तुलसी घिमिरे, नारायण आचार्य लगायतले साझा प्रकाशनका उपयोगी भएर पनि थन्किएका पुस्तक खरिद गरेर साझा बचाउन सहयोग गरेकामा खुसी व्यक्त गरे ।

उनीहरुले विद्यालय र पुस्तकालयलाई पुस्तकहरु उपलब्ध गराएर विद्यार्थी र शिक्षकहरुलाई पठन संस्कृतिको विकास गर्न पौडेलले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment