+
+

सभामुखलाई प्रधानमन्त्रीको प्रश्न- म अल्पमतमा परेको कसरी थाहा भो ?

ओनसरीको जवाफः तपाई मेरो अविभावक समान हो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ४ गते १६:५५

oli and gharti४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई आफ्नै निवासमा बोलाएर संसदमा मतदान नै नभई सरकार कसरी अल्पमतमा पर्‍यो भन्ने प्रश्न गरेका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएर अविश्वास वा राजिनामाको विकल्प रोज्न चुनौति दिएको भोलिपल्टै ओलीले सभामुखलाई बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजे बोलाइएकी सभामुख ओनसरीलाई प्रधानमन्त्री ओलीले वर्षमान पुनको सल्लाहमा होइन, संसदको नियमावली र यसअघिका प्रचलित मान्यताअनुरुप संसदको कारवाही अघि बढाउन सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ । ‘हिजो अस्ति वर्षमानजीले अब हामी एमालेका चंगुलबाट मुक्त भयौं भन्नुभएछ, त्यसो हो भने म पनि अब सबैखाले चंगुलबाट मुक्त भएको छु, जे पर्छ व्यहोर्ने गरी जाउँ’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

एमाले बैठकमा ढिलाइ

प्रधानमन्त्रीले सभामुखलाई बोलाएर छलफल गर्नुअघि नै एमाले स्थायी कमिटी बैठकका लागि पार्टी नेताहरु बालुवाटार पुगिसकेका थिए । सभामुखसँगको छलफल लम्बिएका कारण बैठक शुरु हुन ढिला भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले सभामुखलाई प्रधानमन्त्री ओलीले सभामुखको मर्यादा, निष्पक्षता र गरिमा कायम राख्न राम्रोसँग सुझाव दिएको बताए । ‘तपाई माओवादी केन्द्रको नेता होइन सभामुख हुनुहुन्छ, तपाईले आफ्नो भूमिका र मर्यादा कायम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ’ ओलीको भनाइ उधृत गर्दै श्रेष्ठले भने ।

सरकारले संसदलाई बिजेनेश दिने हो भन्दै ओलीले संसदको कार्यसूचीमा प्रवेश गरिसकेको बजेट आश्रति विधेयकलाई छलफल गराउन नचाहेकोमा सभामुखसँग जानकारी मागेको उनले बताए । ‘सरकारले संसदलाई बिजनेश दिन्छ,पास फेल हुने भनेको सांसदहरुले निर्णय गर्ने हो’ ओलीको भनाइ थियो ।

उनले अविश्वास प्रस्ताव दर्ता हुँनासाथ सभामुखले सरकार अल्पमतमा परेको भन्नु आपत्तिजनक रहेको बताएका थिए ।’संसदमा टेस्ट नभई सरकार कसरी अल्पमतमा पर्‍यो,यो कुरा तपाईले कसरी थाहा पाउनुभयो ?’ ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले लामो सहकार्यको लागि राष्ट्रपति,प्रधानमन्त्री र सभामुखको निर्वाचन भएको स्मरणसमेत गराएको एमाले नेता श्रेष्ठले बताए । ‘सभामुखको भूमिका विवादमा नपरोस भन्नेमा उहाँले सचेत गराउनुभयो’ श्रेष्ठले भने ।

जवाफमा सभामुख घर्तीले आफूले दलहरुबीच सहमतिकै आधारमा संसदको कारवाही सञ्चालन गरेको बताएकी थिइन् । सहमति नभएको अवस्थामा नियमावली र विगतको अभ्यासका आधारमा अघि बढ्ने उनले जवाफ दिइन् ।

सभामुख घर्तीले ओलीलाई ‘तपाई मेरो अभिभावक र राजनीतिक गुरु समान हो, म सकेसम्म सबैको सहमतिमै चल्न चाहान्छु भनेर जवाफ दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यसैबीच सभामुख घर्तीले आजै प्रमुख दलका शीर्ष नेतासँग अविश्वास प्रस्तावमाथिको छलफल र आर्थिक विधेयकका सन्दर्भमा सहमतिको प्रयास गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?