Comments Add Comment

डेरी टेक्नोलोजीः अवसर धेरै, पढ्ने थोरै

प्राविधिक शिक्षाः एसएलसी गरेकादेखि प्लस टु सकेका लागि

dairy-techonology
५ साउन, काठमाडौं । तपाईंलाई नेपालमै पढाइ हुने डेरी टेक्नोलोजीबारे थाहा छ ? यो कस्तो विषय हो र यसको स्कोप कस्तो छ ? भन्नेबारे अधिकांश विद्यार्थी र अभिभावक जानकार नभएको पाइएको छ । त्यसैकारण ११ वर्ष अघि ४ जना विद्यार्थीबाट सुरु भएको डेरी टेक्नोलोजीको अध्ययनमा अझै पनि ठूलो संख्यामा विद्यार्थीहरु आकर्षित हुन सकेका छैनन् ।

पढेर जागिर पाइँदैन र केही गर्न सकिँदैन भन्ने आम मान्यतालाई चुनौति दिन सक्ने यो कोर्समा विद्यार्थीको आकर्षण कम किन भन्ने अझै गौण छ ।

तर, यो विषय लिएर पढ्नेहरुले प्राविधिक शिक्षा लिनेहरु प्रायः बेरोजगार बसेको पाइँदैन । नेपालमा यो कोर्स अझै पनि नयाँ जस्तै बनेको छ । विस्तारै यसमा आकर्षण भने बढ्दैछ । तर, तोकिएको कोटामा पनि विद्यार्थी नपाउँदा यसको अध्यापनमा संलग्न प्राविधिक शैक्षिक संस्थाहरु भने समस्यामा छन् ।

के हो डेरी टेक्नोलोजी ?

दूधबाट उत्पादन हुने खाद्य पदार्थबारे गहिरो ज्ञान दिने विषय नै डेरी टेक्नोलोजी हो । त्यस्ता पदार्थको स्वस्थकर उत्पादन, बजारको माग अध्ययन र उत्पादित परिकारले जनस्वास्थ्यमा पर्ने प्रभावबारे थाहा पाउन पनि डेरी टेक्नोलोजीको अध्ययन आवश्यक छ । विषेशगरी स्वस्थकर दूग्धजन्य पदार्थको उत्पादन, गुणस्तर नियन्त्रण र बजार व्यवस्थापनमा यो विषय केन्द्रित हुन्छ ।

यस्तै दूधबाट विभिन्न दूग्धजन्य पदार्थलाई तयार गर्न यसले पोख्त बनाउँछ । खाद्यान्नको सुरक्षाका लागि यसले प्राविधिक ज्ञान प्रदान गर्छ । अहिले नेपालमा डेरी टेक्नोलोजी अध्ययन गरेका ठूलो जनशक्ति डेरी उद्योगमा कार्यरत छन् ।

रोजगारीको सम्भावना

स्वदेशी जनशक्तिको अभावका कारण नेपाली डेरी उद्योगमा भारतीय प्राविधिकले काम गरिरहेका छन् । नेपालमा फस्टाउँदै गरेको डेरी उद्योगसँगै यस्ता जनशक्तिको माग पनि अझै बढ्ने पक्कापक्की छ ।

डेरी टेक्नोलोजी बहुउपयोगी र रोजगारमूलक शिक्षा भएको काठमाडौंको बानेश्वरमा रहेको कलेज आफ एप्लाइड फुड एण्ड डेरी टेक्नोलोजी  (क्याफोड्याट)की प्राध्यापक सुदर्शना नकर्मी बताउँछिन् ।

नेपालमा यसको अध्यापन सुरु भएको लामो समय भइसक्दा पनि धेरै विद्यार्थीको यो विषयमा रोजाइमा नपर्नु अनौठो भएको उनको भनाइ छ । ‘मैले यही संस्थाबाट डेरी टेक्नोलोजी पढेर आज यहीँ अध्यापन गराउँदैछु । मेरो सिनियरदेखि सहपाठीहरु आज कोही पनि बेरोजगार छैनन्’ उनी भन्छिन् ।

उनले अघि भनिन्, ‘स्कोप देखेर कोही थप अध्ययनका लागि विदेश जानुभयो, कोही विभिन्न उद्योग र संस्थाहरुमा क्वाली कन्ट्रोलरका रुपमा काम गर्नुहुन्छ भने कोही आफ्नै बिजनेश सुरु गरेर स्वरोजगार बन्नुभएको छ ।’

उनले भने जस्तै पछिल्लो समयमा डेरी टेक्नोलोजी स्वरोजगार उत्पादन गर्ने शिक्षा बनिहरेको छ । हेटौंमा प्रकाश देबकोटार लवराज देबकोटाले डेरी एण्ड फुड टेक्नोलोजीका अध्ययन गरेर हेटौंडामा पहिलोपटक फ्रोजन मासुको विक्री सुरु गर्न डिलाइट मीट सप सुरु गरे । उनले हेटौंडामा फ्रोजन मासुको स्वस्थताबारे बुझाउन निकै संघर्ष गर्नुपरेपनि अहिले उनीहरुले स्थापना गरेको पसलले गजबको ब्यापार गरिरहेको छ ।

नेपालमा कृषि नै प्रमुख पेशा भएको नेपालमा डेरी शिक्षाको आवश्यकता छ । नेपालमा दूध पिउनेको संख्या ठूलो छ भने दूग्धजन्य पदार्थको बजार निकै फराकिलो हुँदैछ ।

कोटा जति पनि छैनन् विद्यार्थी
अहिले डेरी टेक्नोलोजी अध्ययन गर्ने विद्यार्थी पर्याप्त छैनन् । क्याफोड्याटमा डिप्लोमा लागि वर्षमा ४० सिट हुन्छ । तर, मुस्किलले १६ जना विद्यार्थी मात्रै यो पढ्छन् । ब्याचलर तहमा पनि पढ्नेको संख्या ठूलो छैन । यसबाट पनि यो विषयमा विद्यार्थीहरु अनविज्ञ रहेको पुष्टी हुन्छ ।

पछिल्लो समय डेरी व्यवसाय फस्टाउँदै गएकाले नयाँ तरिका र प्रविधिबाट काम गर्न चाहानेहरुका लागि यो महत्वपूर्ण हुने प्राध्यापक नकर्मी बताउँछिन् ।

dairy-techonology-2
अहिले दुग्ध पदार्थको प्रशोधन तथा गुणस्तर व्यवस्थापनका लागि यो शिक्षा अनिवार्य छ । पछिल्लो समयमा व्यवसायिक दूग्ध उत्पादनका लागि पशुपालनको क्रम बढ्दै गएकाले यसमा रोजगारी र स्वरोजगारीको सम्भावना र अवसरहरु पनि बढ्दो छ ।

क्याफोड्याटले डिप्लोमामा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर स्नातक तहमा डेरी टेक्नोलोजीको अध्यापन गरिरहेको छ । यो चारवर्षे कोर्स हो । सिटीइभीटी अन्तरगतको डिप्लोमा कोर्स भने तीन वर्षे हो ।

विभिन्न संस्थाहरुमा यसको अध्ययन भइरहेको छ । तर, सबै संस्थाले कोटाअनुसार पनि विद्यार्थी नहुँदा समस्या भोगिरहेका छन् ।

खर्च कति लाग्छ ?

क्याफोड्याटमा स्नातक तहको चारवर्षे कोर्स अध्ययन गर्न ४ लाख २५ हजार र डिप्लोमाका लागि ३ लाख २५ हजार शुल्क लाग्छ । डिप्लोका् लागि सीटीइभीटीले नै शुल्क तोक्छ ।

अन्य विषयको तुलनामा यो विषयमा शुल्क महंगो पनि छैन । डिप्लोमा तहमा अध्ययन गर्नेले ३ महिना विभिन्न डेरी उद्योगमै गएर अभ्यास गर्न पाउँछन् भने ब्याचलर तहकाले ४५ दिन प्रयोगात्मक अभ्यासका लागि उद्योगहरुमा काम सिक्छन् । यसबाट विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञानको पनि अभाव नहुने प्राध्यापक नकर्मी बताउँछिन् ।

कसले पढ्न पाउँछन् ?

एसएलसी उत्तीर्ण गरेपछि डिप्लोमा तहको डेरी टेक्नोलोजी विषयकोे अध्ययन गर्न पाइन्छ । यसका लागि गणित, अंग्रजी र विज्ञानमा एक ग्रेड अनिवार्य छ । अन्य विषयमा डी र इ ग्रेड आएपनि प्रवेश परीक्षा दिन पाइन्छ ।

साथै विद्यार्थीले सीटीइभीटीबाट लिइने परीक्षा उत्तीर्ण गर्न भने आवश्यक छ । डिप्लोमा तहको अध्ययन ३ वर्षको हुन्छ र यसलाई ६ सेमेष्टरमा विभाजन गरिएको छ ।

त्यस्तै, स्नातक तह अध्ययनका लागि विज्ञान विषय लिएर प्लस-टू उत्तीर्ण गरेको हुनुपर्छ । साथै, फूड एण्ड डेरी टेक्नोलोजीमा डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीले पनि स्नातक तहमा उक्त कोर्स अध्ययन गर्न पाउँछन् । एक पटक तपाईंले पनि यसबारे सोच्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment