८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका संसदमा विश्वास-अविश्वासको बहस भइरहेको छ । यही क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीको कार्यशैलीमाथि कडा टिप्पणी गरेका छन् ।
ओलीले आत्मकेन्द्रित भएर काम गरेको भन्दै शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । शनिबार एमाले नेता नेपालले पनि आफ्नो पार्टी र सरकार संस्थागत रुपमा नचलेको बताए । सरकार गुटका आधारमा सञ्चालन भएको भन्दै प्रचण्डले लगाएको आरोपलाई एमाले नेता नेपालले नै पुष्टि गरिदिएका छन् ।
‘मेरो चिन्ता यो देशलाई जोगाउने कसरी भन्ने हो । यो देशलाई डुब्नबाट बचाउने, किनार लगाइदिने मान्छे चाहिएको छ । त्यस्तो मान्छे चाहियो ।’ नेता नेपालले संसदमा भने- ‘देशका बारेमा सोच्ने मैले कोही देखिराखेको छैन । यहाँ पार्टी पनि मैले देखिराखेको छैन । अघिल्ला वक्ताले भन्नुभो कि ‘एमाले बाहेक’ । मेरो भन्नुहुन्छ भने त एमाले पनि छैन । एमाले भैदिएको भए त म एमालेमै थिएँ, फरक हुन्थ्यो नि । एमाले पनि छैन त्यस्तो । गुट छ त्यहाँ, गुट छ ।’
सरकार र पार्टी सञ्चालनबारे असन्तुष्टि जनाउँदै एमाले नेता नेपालले शनिबार व्यवस्थापिकामा भने- ‘कुनै पनि चिज संस्थागत ढंगले चल्दैन । देश पनि चल्दैन संस्थागत ढंगले, सरकार पनि चल्दैन संस्थागत ढंगले, पार्टी पनि चल्दैन संस्थागत ढंगले ।’
अब प्रत्येक नेताहरुले आत्मसमीक्षा गरेर आफूभित्र रहेका कमी कमजोरीहरु सुधार्दै अगाडि बढ्ने संकल्प गर्नुपर्ने नेता नेपालले बताए । उनले भने- ‘यो संकल्प गर्न सक्यौं भनेमात्रै देश उँभो लाग्न सक्छ । नत्र कसैले फोटो झुण्ड्याउन सक्छन्, दोस्रोपटक, तेस्रोपटक… ।’
एमाले नेता नेपालले माओवादीको आलोचना गर्दै भने- ‘मैले यो अविश्वासको प्रस्तावभन्दा पहिले माओवादी केन्द्रबाट यो सरकार छाड्ने, समर्थन फिर्ता लिने कुरा सुनें, यो दुर्भाग्यपूर्ण हो । अहिलेको यो सरकार गठबन्धनको सरकार थियो, यो अन्तिम संक्रमणकालमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता थियो ।….सुशील कोइराला प्रधानमन्त्री हुँदा पहिलो र दोस्रो पार्टीसँगै सरकारमा बसेका हुन् ।’
‘विगतमा पनि एमालेको सरकार थियो’
केपी ओली नेतृत्वको सरकारको प्रशंसा बढी भएकोमा नेता नेपालले चित्त दुखाए । आफूले प्रधानमन्त्री हुँदा गरेका कामहरुको लिखित सूची नै हातमा देखाउँदै संसदको रोष्टममा उभिएका नेता नेपालले भने- ‘यो सरकारको प्रशंसा गर्दाखेरि विगतमा त्यस्तो कुनै सरकारै थिएन भन्ने जसरी व्याख्या भयो । अनि मलाई पनि घोच्यो । प्रधानमन्त्री भएर २१ महिनासम्म बसेको छु । अन्तरराष्ट्रिय सम्बन्ध मैले पनि सञ्चालन गरेको छु । राष्ट्रिय नीति मैले पनि लिएको छु । २२ वटा पार्टीलाई समेटेर अन्तिम समयसम्म लिएरै गएको छु ।’
तर, त्यसबेला आफ्नो नेतृत्वको सरकारविरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको नभई भित्रैबाट ढालिएको पूर्वप्रधानमन्त्री नेपालले गुनासो सुनाए । उनले विगत सम्झँदै भने- ‘प्रतिपक्षको त धर्मै थियो तानतुन गरेर मलाई ढाल्ने । तर, दुर्भाग्य, प्रतिपक्षले पनि मलाई ढालेको हैन, म आफैं ढलें । म आफैंभित्र ढालिएँ । यो देशको, हामीभित्रको बिडम्बना हो । यस्तो विडम्बनाले हामी डोरिनुहुँदैन । मैले गरेको कामका बारेमा फेहरिस्थ पढौं कि भन्ने लागेको थियो । किनभने विगतको चर्चै गर्दैनन् ।’
ओली सरकारलाई देवत्वकरण गरिएकोप्रति सार्वजनिकरुपमै असन्तुष्टि पोख्दै नेता नेपालले संसदमा भने- ‘म सुन्छु विगतमा यो एमालेको कुनै सरकार थियो थिएन Û हुँदाहुँदा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाखेरि भारतसँगको सम्बन्धको बारेमा म परराष्ट्रमन्त्री भएर त्यहाँ त्यत्रो मनमोहनजीको एडभान्स टीम भएर खेलेको भूमिकाको कोही चर्चै गर्दैनन् बाबा । म आफैं प्रधानमन्त्री भएर देशका निम्ति गरेका एक से एक फेहरिस्थ मसँग छ । अनि नेकपा एमालेको त यस्तो सरकारै बनेको थिएन भन्दाखेरि कस्तो-कस्तो लाग्छ ।’
प्रचण्डप्रति खुशी
शान्ति प्रक्रियामा भूमिका खेलेको भन्दै प्रभण्डले शुक्रबार संसदमा आफ्नो नाम लिएको मा नेता नेपालले खुशी व्यक्त गरे । उनले प्रचण्डप्रति खुशी व्यक्त गर्दै भने- ‘माननीय प्रचण्डले हिजो यहाँ भन्दाखेरि मलाई खुशी लाग्यो । मेरो पनि नाम लिनुभयो शन्ति प्रक्रियामा मेरो भूमिकाका बारेमा ।’
एमाले नेता नेपालले प्रधानमन्त्री पदको भन्दा पनि व्यक्तिका कामको प्रशंसा गरिनु राम्रो भएको बताए । उनले भने- ‘मान्छेलाई के चाहिन्छ र ? म सम्भिmइरहेको छु, मनमोहन अधिकारीजीले भन्नुभएको कुरा, मलाई प्रधानमन्त्री भएर कसैले सम्झेकोमा त्यति गौरब लाग्दैन, जति मलाई एउटा असल मानिस भनिदिए सन्तोष लाग्छ । गौरब महसुस हुन्छ । मान्छेलाई उसले गरेको भूमिकाको चर्चा गर्दाखेरि उसलाई खुशी लाग्छ ।’
अरुलाई चित्त दुख्ने गरी बोल्न नहुने नेता नेपालले सुझाव दिए । उनले भने ‘सबैको स्वाभिमान हुन्छ, सबैको मानसम्मान गर्नुपर्छ । हामीले यस्तो कुरा बोलौं, अरुलाई घोचोस् हैन कि उसलाई पनि मीठो लागोस् । हिजो माननीय सुवास नेम्वाङजीले कति मीठो पाराले कुराहरु गर्नुभयो ।’
यद्यपि एमाले नेता नेपालले सुवास नेम्वाङको प्रशंसा गर्दागर्दै पनि संवैधानिक संकट निम्त्याउन नहुने सुझाव समेत दिए । नेता नेपालले भने- ‘हुन त मीठो भन्दाभन्दै पनि कतिपयलाई घोच्यो होला । त्यो आफ्नो ठाउँमा छ । तर, यहाँको समस्या हामीले पोलिटिकल्ली नै डिल गर्नुपर्छ । हामीले यो संविधानको रक्षा गर्ने हो । यो संविधानको कार्यान्वयन गर्ने हो । अब हाम्रो ध्यान संवैधानिक संकट सिर्जना गर्नेमा जानुहुँदैन ।’
‘गम्भीर षडयन्त्र हुँदैछ’
शुक्रबार व्यवस्थापिका संसदमा बोल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली संघीयता र गणतन्त्रविरोधी भएको आरोप लगाएका थिए । गणतन्त्र विरोधीहरुसँग प्रधानमन्त्रीको प्रेमभाव बढेको प्रचण्डको आरोप थियो । प्रचण्डले यसो भनेको भोलिपल्ट माधव नेपालले पनि संविधानका उपलब्धिहरु संकटमा पार्ने गम्भीर षडयन्त्र भइरहेको भन्दै सबैलाई गम्भीर हुन आग्रह गरेका छन् ।
‘संविधानका बारेमा हामी गम्भीर भएनौं भने, संविधानको कार्यान्वयन गर्ने कुरामा गम्भीर भएनौं भने संविधान बमोजिम देशलाई अघि बढाउने कुरा गरेनौं भने हामी सबै त्यसको मारमा पर्छौं’ एमाले नेता नेपालले संसदमा भने- ‘यहाँ गम्भीर षडयन्त्र भैरहेको मैले सुनिरहेको छु कि यो देशमा संवैधानिक संकट निम्त्याउने । माघ ७ गतेसम्म संविधान लागू नहुने वातावरण बनाउने । त्यसपछिको मार तपाईहामी सबैले खानुपर्छ ।’
नेपालले थपे- ‘हामी त भुक्तभोगी, नेकपा माओवादी त भर्खर आउनुभएको छ, हामी त भुक्तभोगी हौं, त्योबेलामा हामी पार्टीबाट पार्टीकै अवस्थामा पुगिसकेका हौं । त्यत्रो वर्षसम्म लड्नुपर्यो फेरि हामीले । ०५८/०५९ पछि लड्दै-लड्दै यस्तो लडाइँ लड्नुपर्यो जहाँ एउटा वंश, राजतन्त्रको अन्त्य भयो । त्यो स्थिति दोहोरिनुहुँदैन । अनेक पक्षले फेरि संविधानले दिएका उपलब्धिहरु उल्टाउने सोच बनाइरहेका छन् । यो अवस्था नबनोस् भन्नेबारेमा हामी सजग हुनुपर्छ ।’
शुक्रबार संसदमा बोल्दा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नयाँ सरकार गठनबारे संवैधानिक जटिलता रहेको तर्क गरेका थिए । त्यसैको जवाफमा एमाले नेता नेपालले अहिलेको समस्यालाई ‘पोलिटिकल्ली नै डिल’ गर्नुपर्ने र ‘संवैधानिक संकट सिर्जना गर्नेमा जान नहुने’ बताएका हुन् ।
माओवादीले हतारो गर्यो
एमाले नेता नेपालले अविश्वासको प्रस्ताव ल्याउन माओवादीले हतारो गरेको बताए । उनले भने- ‘मेरो स्पष्ट भनाइ के छ भने माओवादी केन्द्रले हतार गर्यो ।…. हतार गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने काम भयो, आर्थिक विधेयक पास गरेर गरे हुन्थ्यो । देशै संकटमा पर्यो । अन्योलता उत्पन्न भयो ।’
माओवादीले हतार नगरेको भए राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने नेता नेपालले दाबी गरे । उनले भने- ‘म पनि यसमा संलग्न छु । केमा संलग्न छु भने मिलाएर लाने कुरामा । मिलाएर लाने कुरामा वातावरण बन्न-बन्न खोजिरहेकै थियो । र, बन्थ्यो पनि । नेपाली कांग्रेसले पनि आत्तिनुपर्ने केही जरुरी थिएन । त्यो पनि समेटिने स्थिति बन्थ्यो, बनाउनुपर्दथ्यो । तर, हतार गरेर समर्थन फिर्ता लिने काम भयो ।’
सबैलाई समेट्ने चिन्ता
संविधान ल्याउन एमालेले सकारात्मक भूमिका खेलेको नेता नेपालले स्मरण गरे । ‘तर, केही समूहको चित्त बुझेको थिएन, उनीहरुलाई समेटेर लैजानुपर्ने आवश्यकता थियो, तर हामी कहाँनेर चुक्यौं ?’ उनले भने- ‘राष्ट्रियता र सार्वभौमसत्ताको सवालमा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका सवालमा नेपालीहरुले कसैका सामु शीर झुकाउन हुँदैन । तर, हामीले सबैलाई विश्वासमा लिएर जाने कसरी ? गम्भीर चिन्ताको विषय हो यो ।’
एमाले नेता नेपालले हिमाल, पहाड र तराई मधेस सबैलाई समेट्नुपर्ने बताए ।
प्रतिक्रिया 4