
१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा लैजानका लागि नयाँ कम्युनिष्ट घोषणापत्र आवश्यक परेको बताएका छन् । नेपाली राजनीति र वाम आन्दोलनमा विचलन आएकाले नयाँ कम्युनिष्ट घोषणापत्र आवश्यक रहेको प्रचण्डले बताए ।
माओवादी निकट विद्यार्थी संगठनहरुको राष्ट्रिय एकता भेलालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनमा नयाँ दिशामा लैजानका लागि कम्युनिष्ट घोषणापत्र नयाँ जन्मिनुपर्दछ ।’
अहिलेको राजनीतिक परिस्थिति, राजनीतिक घटनाक्रम र हरेक समुदायका हक अधिकार सुनिश्चित गर्नका लागि कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले सन्चालन गर्न नयाँ घोषणापत्र आवश्यक रहेको प्रचण्डको धारणा छ ।
बदलिएको राजनीतिक परिस्थितिपछि संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माणलगायतका जिम्मेवारी पूरा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको भन्दै प्रचण्डले त्यो जिम्मेवारी पूरा गर्नका लागि विद्यार्थी संगठनहरुको सहयोग आवश्यक रहेको बताए ।
विद्यार्थी संगठनहरुलाई कुनै राजनीतिक पार्टीको जस्तो नभई विद्यार्थीहरुको भावनाअनुसार अगाडि बढ्न प्रचण्डले सुझाव दिए । उनले विद्यार्थीको नेतृत्व समयमा परिवर्तन हुनु आवश्यक रहेको पनि बताए । ‘विद्यार्थी नेतृत्व यदि समयमै परिवर्तन हुन सकेन भने विद्यार्थीमा जाम हुन्छ । त्यसले पार्टी नेतृत्वमा पनि असर गर्छ,’ प्रचण्डले भने ।
कार्यक्रममा प्रचण्ड, बादल, मातृका यादव, मणि थापा लगायत माओवादीका विद्यार्थी संगठनहरुको एकता घोषणा गरिएको छ । यसअघि ति माओवादी पार्टीहरुको एकता भए पनि विद्यार्थी संगठनहरुको एकता भएको थिएन ।
[sam_list] एकता भेलाले नरेन्द्र न्यौपानेको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
एकता घोषणा कार्यक्रममा अखिल क्रान्तिकारीका तत्कालीन अध्यक्ष रमेश मल्लले नरेन्द्र न्यौपानेलाई नेतृत्व हस्तान्तरण गरे । महाधिवेशन आयोजक समितिको सहसंयोजकमा खुसीराम चौधरी र यज्ञराज खरेल चयन भएका छन् ।
न्यौपानेलाई नेतृत्व हस्तान्तरण गर्दै मल्लले आयोजक समितिलाई ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी दिइएको जानकारी गराए । मल्लले विद्यार्थी आन्दोलनमा नयाँ अध्यायको शुरुवात भएको पनि बताए ।
प्रतिक्रिया 4