Comments Add Comment

प्रचण्डसँग भिड्न वामदेवको शर्तः दलको नेता देऊ

संसदीय दलको नेता बनाउने सहमति भएकै होः पराजुली

१६ साउन, काठमाडौं । कांग्रेस माओवादी ‘उम्मेदवार’ प्रचण्डसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने कि उम्मेवार नै नदिने भन्ने टुंगो नलाग्दा एमालेभित्र सम्भावित दुई प्रत्याशीका रुपमा वामदेव गौतम र सुवास नेम्वाङ चर्चामा छन् ।

Bamdev Gautamपार्टीमा वामदेव बरिष्ठ उपाध्यक्ष हुन् भने नेम्वाङ संसदीय दलका उपनेता । यसैबीच गौतम पक्षले प्रधानमन्त्रीमा प्रचण्डसँग वामदेवलाई प्रतिस्पर्धामा उतार्ने हो भने पहिले संसदीय दलको नेता बनाउन लबिङ गर्ने भएको छ ।

दलको नेता बनाउन ओली तयार भए प्रधानमन्त्रीमा गौतमले प्रतिस्पर्धा गर्ने गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीले अनलाइनखबरलाई बताए ।

तर, यस्तो सम्भावना नरहेको एमाले नेताहरुले बताउँछन् । दलको नेता बनाउने यसअघिको भद्र सहमति अनुसार ओलीलाई गौतमलाई हस्तान्तरण गर्दा त्यसले दोस्रो पुस्ताका नेतालाई भोलि अघि बढ्न सजिलो हुने उनले बताए । पराजुलीले भने, ‘अहिलेसम्म गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बन्नुस भनेर पार्टीले भनेको छैन, यदि अध्यक्षबाट त्यस्तो कुरा आयो भने पहिले दलको नेता बनाउनुस् भन्छौं ।’

गौतमले झलनाथ खनालको साथ छाडेर ओलीलाई सघाउनुअघि पार्टी अध्यक्षमा ओलीले जितेपछि दलको नेता गौतमलाई बनाउने सहमति भएको पराजुलीले बताए । ‘महाधिवेशनमा वामदेव गौतमलाई नेता मान्ने दुई सय चारजना प्रतिनिधि थियौं, ओलीले ५६ मतले जित्नुभयो यसबाटै बुझ्नुस वामदेवलाई दलको नेता दिनुपर्छ कि पर्दैन भन्ने कुरा’ पराजुलीले भने ।

संसदीय दलको नेता वामदेवलाई बनाउने अनौपचारिक सहमति नेताहरुबीच महाधिवेशनभन्दा अघि नै भएको स्थायी कमिटी सदस्य किरण गुरुङले पनि बताएका छन् ।

गौतम आफैंले भने यसबारेमा बोल्न चाहेका छैनन् । तर, अहिले ओलीले दलको नेता दिने सम्भावना नदेखिएको उनले आफू निकटस्थहरुलाई बताएका छन् ।

दलको नेता ओलीले चाहँदैमा दिने भन्दा पनि चुनावबाट आउनुपर्ने भएकाले पनि दलको नेताको चुनाव हुने कुनै कारण नरहेको ओली निकट नेताहरु बताउँछन् ।

पछिल्लो समय वामदेव गौतम र ओलीको दूरी केही टाढिए पनि गौतम ओली समूहमै रहेको दावी उनीहरुको छ । एक सय ८२ सदस्यीय एमाले केन्द्रीय कमिटीमा गौतम निकट २२ जना केन्द्रीय सदस्य रहेको पराजुलीले दाबी गरे ।

एमालेका चार शीर्षनेतामध्ये ओली, माधव नेपाल र झलनाथ खनाल पार्टी प्रमुख तथा सरकार प्रमुख भइसकेकाले अब पालो वामदेवको भएको दावी उनी निकटहरुको छ । गौतमलाई दलको नेता बनाउँदा वेटिङ प्रधानमन्त्री हुने भएकाले पनि यो विषयले एमालेमा औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्रीको उम्मेवार उठाउँदा सुवास नेम्वाङलाई नै खडा गर्ने सम्भावना बढी रहेको एमाले स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment