Comments Add Comment

यसरी घट्दैछन् विदेशिने नेपाली महिला कामदार

Women foregin employee

२० साउन, काठमाडौं । विदेशिने नेपाली महिला कामदारको संख्या लगातार घट्दो दरमा देखिएको छ । बितेको आर्थिक वर्षमा पनि वैधानिक रुपमा कामका लागि विदेशिने महिलाको संख्या घटेको छ ।

आर्थिक वर्ष २०७१/७२ को तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा १३ प्रतिशतले कमी आएको हो । योभन्दा अघिल्लो आथिर्क वर्ष २०७०/७१ विदेशिने महिला कामदारको संख्या २४ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा २२ हजार २८ जना महिलाले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्विकृति लिएका थिए । तर, गत आर्थिक वर्ष २०७२/७३मा यो संख्या झण्डै ३ हजारले घटेर १९ हजार ३ सय ७ मा ओर्लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष २०७०/७१ मा भने २८ हजार ९ सय ६६ जना महिलाले श्रम स्विकृति पाएका थिए ।

समग्रमा वैदेशिक रोजगारीमा जानेहरु घट्दा महिलको संख्यमा पनि प्रभाव परेको सरकारी अधिकारीहरु बताउँछन् । त्यस्तै सरकारले घरेलु महिला कामदार लैजान केही समय बन्द गरेकाले पनि संख्या घटेको वैदेशिक रोजगार अनुमान विभागको बुझाइ छ ।

आकर्षणमा युएई

गत आर्थिक वर्षमा सबैभन्दा धेरै महिला खाडी मुलुक युएई गएका छन् । एक वर्षको अवधिमा युएई जाने महिला कामदारको संख्या ८ हजार १ सय ५२ छ । अघिल्लो आर्थिक वर्षमा ७ हजार ५ सय ९४ महिला युएइ पुगेकोमा बितेको वर्ष यो संख्या अझ बढेको छ ।

विशेष गरी सुरक्षका मामिलामा अन्य देश भन्दा राम्रो भएपछि धेरै महिलाले युएई रोजेका छन् । यस्तै मनोरञ्नात्मक क्षेत्र कामादरका जानेहरुको संख्या पनि बढ्दै गएकाले युएईमा नेपाली महिलाको संख्या बढ्दै गएको छ ।

मलेसियामा ‘विकर्षण’

महिला कामदारको लागि दोस्रो आकर्षक गन्तब्य मलेसिया कायमै छ । तर त्यहाँ जानेको संख्यामा भने भारी गिरावाट आएको छ ।  एक वर्षमा मलेसिया जान १ हजार ६ सय २४ महिलाले स्वीकृति लिएका छन् । यो भन्दा अघिल्लो वर्ष पाँच हजार ८ सय ९९ जना महिला मलेसिया गएका थिए । समग्रमा मलेसियाको श्रम बजारमा जाने नेपालीको संख्या घट्दा महिला कामदार जाने क्रम पनि प्रभावित भएको छ ।

मलेसियामा यो वर्ष छाएको आर्थिक मन्दी, विदेशिक कामदार नलिने निर्णय, अवैधानिक कामदार माथिको धरपकड, मुद्राको अबमूल्यन लगायतका कारण धेरै नेपाली कामदारले मलेसिया रोजेनन् ।

त्यसै कारण नेपालीको पहिलो श्रम गन्तब्य रहेको मलेसिया तेस्रो स्थानमा झरेको छ । यसको असर मलेसिया पुग्ने नेपाली महिला कामारको संख्यामा पनि देखिएको छ ।

साउदी र कतारमा कति ?

महिला कामदार जाने तस्रो गन्तब्यका रुपमा साउदी अरेबिया छ । एकवर्षका बीचमा १५ सय ७१ महिला कामदार साउदीमा श्रम स्वीकृति लिएर पुगेका छन् । बितेको वर्ष कतारमा जाने महिला कामदारको संख्या १५ सय ४१ छ ।

एकवर्षका बीचमा कतार, कुवेत, ओमान, लेबनान, इजरायल, दक्षिण कोरिया, जापान लगायतका मुलकमा जाने महिला पनि उल्लेख्य छन् । ओमानमा ८ सय १६, कुवेतमा ७ सय ६३, दक्षिण कोरियामा ५ सय ७७, बहराइनमा ३ सय २२, लेबनानमा १ सय १६, इजरायलमा १ सय ८ र अन्य देशमा जान ३६ सय १९ जना महिलाले श्रम स्वीकृति पाएको विभागले जनाएको छ ।

अधिकांश घरेलु कामदार

नेपालबाट बाहरिने अधिकांश महिलाहरु घरेलु कामदारका रुपमा विदेश जाने गरेका वैदेशिक रोजगार विभागले जनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरु खाडी मुलुक जान इच्छुक देखिने गरेका छन् ।

परिवारको आर्थिक अवस्था सुधार गर्ने भन्दै बाहिरिने महिलाको संख्या उच्च छ ।

घरेलु कामदारका रुपमा खाडी मुलुक पुग्ने महिलाले सामान्यतया महिनाको २० देखि ३० हजार रुपैयाँ कमाउँछन् । पछिल्लो समयमा औद्योगिक कामदारका रुपमा जाने महिलाको संख्या बढ्दो छ । सरकारले गत वर्ष महिला कामदारलाई विदशे पठाउन केही समय बन्द गरेको थियो ।

तर, श्रम स्वीकृति नै नलिइ अवैधानिक रुपमा बाहिरिने क्रम बढेपछि सरकारले नयाँ निर्देशिका बनाएर महिला कामदारलाई विदेशिन अनुमति दिएको थियो ।

सुरक्षामा सरकारको चासो

नयाँ निर्देशिका अनुसार अब घरेलु कामदारका रुपमा जानेलाई न्युनतम् मासिक ३ सय डलर बराबरको पारिश्रमिक दिनैपर्ने व्यवस्था गरिएको छ । यसअघि महिला घरेलु कामदारको तलव तलब कम्तिमा २ सय ५० डलर मात्रै थियो ।

सरकारले मलेसियासहितका खाडी मुलुका घरेलु कामदार पठाउँदा म्यानपावरहरुलाई पूर्ण जिम्मेवार बनाउने व्यवस्था ननि निर्देशिकामार्फत गरेको छ ।

घरेलु कामदारका रुपमा गएका नेपाली विदेशबाट शोषणमा परेर फर्किनुपरेमा क्षतिपूर्ति र उद्धार खर्च म्यानपावरबाटै भराउने व्यवस्था निर्देशिकामा गरिएको छ । यो व्यवस्थाले म्यानपावरले विदेशबाट रिक्रुटमेन्ट कम्पनीबाट जथाभावी  डिमान्ड ल्याएर कामदारलाई फसाउने क्रम बन्द हुने श्रम तथा रोजगार मन्त्रालयको अपेक्षा छ ।

यस्तै विदेशमा नेपाली कामदार माग गर्ने रिक्रुटमेन्ट कम्पनीले सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा १० हजार डलर धरौटी राख्नुपर्ने व्यवस्था कायमै राखिएको छ । अब ती कम्पनीले एक नेपाली घरेलु कामदार बराबर एक हजार डलर धरौटी पनि राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । यस्तै घरेलु महिला कामदारलाई ‘प्राइभेट रुम’ दिनुपर्ने, फोन बोक्न दिनुपर्ने लगायतका शर्तहरु पनि सरकारले निर्देशिकामा उल्लेख गरेको छ ।

अलपत्र पर्ने बढ्दै

पछिल्लो समयमा घरेलु कामदारका रुपमा जाने धेरै महिलाहरु विभिन्न कारण अलपत्र पर्ने क्रम बढ्दै गएको छ । विशेषगरी कामदार महिलाहरु रोजगारदाताहरुको शारीरिक तथा मानसिक शोषण तथा हिंसामा पर्ने गरेका छन् । पछिल्लो समयमा समस्यमा परेका महिला कामदारको उद्धारमा सरकारले पनि प्राथमिकता दिएको छ ।

यसैलाई ध्यानमा राखेर सरकारले विदेशमा अलपत्र कामदारको उद्धारका ‘र्‍यापिड रेस्पोन्स टिम’ स्थापना गरेको हो । टिमलाई अहिले विशेष गरेर महिला कामदारको उद्धार लाग्न जिम्मेवारी दिइएको छ । मन्त्रालयमै स्थापना गरिएको टीमले विदेशमा अलपत्र महिला कामदारको उद्धारका लागि तुरुन्त पहल गर्नेछ ।

टिमले विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । यसमा महिलालाई प्राथमिकतामा राखेर काम गरिँदैछ ।

टिमलाई विदेशमा अलपत्र महिला कामदारको गुनासो सुन्ने र महिला विदेश जानुअघि नै कम्पनीको वातावरण कस्तो छ भनेर बुझ्ने मुख्य जिम्मेवारी दिइएको छ ।

यो टिममा विदाको दिन बाहेक कार्यालय समयमा विदेशमा उद्धारको प्रतिक्षामा रहेका महिलाहरुले ९७७०१-४२११८८९ मा फोन गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment