Comments Add Comment

कनकमणि दीक्षितलाई तत्काल कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

पाटनढोकाको जग्गा जफत गर्ने भूमिसुधारको निर्णय

Kanakmani-Dixit

२० साउन, काठमाडौं । सर्वोच्च अदालतले बरिष्ठ पत्रकार कनकमणि दीक्षित र उनको परिवारमाथि तत्काल कुनै प्रकारको कारवाही, छानविन वा धरपकड जस्ता कार्य अघि नबढाउन आदेश दिएको छ ।

दीक्षित परिवारका नाममा रहेको भनिएको हदबन्दी भन्दा बढी जग्गा जमिन भूमिसुधार कार्यालय ललितपुरले जफत गर्ने प्रक्रिया अघि बढाएका बेला अदालतले उनीमाथि कुनै कारवाही नगर्न आदेश दिएको हो ।

नवनियुक्त न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले दीक्षितको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशको छलफलबाट टुंगो नलाग्दासम्म कुनै कारवाही अघि नबढाउन निर्देशन दिएको हो । अदालतले एक साताभित्र दुबै पक्षलाई छलफलका लागि झिकाउने आदेशसमेत दिएको छ ।

त्यसअघि दीक्षितलाई बोलाउने, धरपकड गर्ने, वयान गराउने, थुनामा राख्ने समेतका कुनै पनि कार्य नगर्न तथा नगराउन अदालतले विपक्षीलाई आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जेठ १६ को पत्रका आधारमा भूमिसुधार तथा व्यवस्थाप मन्त्रालयले दीक्षितको जाग्गाबारे छानविन थालेको थियो ।

त्यस्तै राजश्व अनुसन्धान विभागले पनि उनीमाथि छानविन गरी हाजिर हुन आउन सूचना प्रकाशित गरेको थियो । त्यसका बिरुद्ध दीक्षित अदालतमा गएका थिए ।

यसैबीच जिल्ला भूमिसुधार कार्यालय ललितपुरले दीक्षित परिवारले हदबन्दी भन्दा बढी जग्गा जमीन लुकाएर राखेको भन्दै जफत गर्ने प्रक्रिया अघि बढाएको छ । दीक्षित परिवारको पाटनढोकामा रहेको १८ रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको हो ।

भूमिसुधार ऐन २०२१ संशोधित व्यवस्थाअनुरुप भूमिसुधार अधिकारी शान्तिराज प्रसार्इंको इजलासले सो निर्णय गरेको जिल्ला भूमिसुधार कार्यालयले जनाएको छ । ऐन अनुसार काठमाडौं उपत्यकामा ३० रोपनीभन्दा बढी जग्गा राख्न पाइँदैन ।

यो निर्णय आउनुअघि नै दीक्षित अदालत गइसकेका थिए ।

अब जग्गा सरकारको नाममा ल्याउने फैसलाविरुद्ध पनि दीक्षित अदालतमा पुनरावेदन गर्न जान सक्छन् । दीक्षितले भने अख्तियार प्रमुख लोकमानसिंह कार्कीको आदेशमा यी सबै घटनाक्रम भइरहेको बताएका छन् ।

Kanak mani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment