Comments Add Comment

आउँदो असोजभित्र ‘पेन प्याकेज’ लागू हुने

२१ साउन, काठमाडौं । सरकारले पाइलट प्रोजेक्टको रुपमा नेपालमै पहिलो पटक सुरु गर्न लागेको पेन प्याकेज (प्याकेज अफ एसेन्सियल नन् कम्युनिकेवल डिजिज) आउँदो असोज अगावै देशका दुई जिल्लामा सुरु गरिने भएको छ ।

Health-Checkupजम्मा ५० लाख रुपैयाँ बजेटमा कैलाली र इलामबाट सुरु गरिन लागेको यस प्याकेजका लागि आगामी १५ दिनभित्रै एक टोली सर्वेक्षणका लागि त्यसतर्फ जाने स्वास्थ्य सेवा विभाग, प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा, नसर्ने रोग तथा सामाजिक सुरक्षा शाखाले जनाएको छ ।

नेपालमा क्यान्सर, मुटु रोग, मिर्गौला सम्बन्धी समस्या लगायतका नसर्ने रोगको समस्या ६० प्रतिशतभन्दा बढी जनतामा देखिएको छ । जबकी नेपालमा भएको स्वास्थ्यसित सम्बन्धित प्रायः सबै कार्यक्रम सरुवा रोगसित मात्र सम्बन्धित रहँदै आएको छ ।

‘नेपालमै पहिलोपटक लागु हुन लागेको नसर्ने रोगसित सम्बन्धित यो प्याकेज निर्माणका लागि महाशाखाले विशेषज्ञ राखेर नीति तर्जुमा गर्ने काम गरिसकेको छ’, नसर्ने रोग तथा सामाजिक सुरक्षा शाखा प्रमुख अच्युत लामिछानले भने, ‘अब तत्कालै ती जिल्लाको गई यो कार्यक्रम अन्तर्गत के-के दिइनेछ र के-के दिनुपर्ने छ भनेर सर्वेक्षण गर्नेछौं ।’

सर्वेक्षण हुनासाथ कार्य नीति तय गरी यसलाई कैलाली र इलाममा लागु गरिनेछ । साथै त्यही कार्यक्रमको आधारमा आगामी बजेटमार्फत चैतबाट यो कार्यक्रमलाई अघि बढाई अवस्थाअनुसार कार्यक्रमहरु तय गर्दै लगिने शाखाको योजना छ ।

शाखाका अनुसार नेपालमा नसर्ने रोगको समस्या ६० प्रतिशत जनतामा देखिएपछि नेपाल सरकारले विश्व स्वास्थ्य संगठनसित मिलेर दुईवटा जिल्लामा पाइलटिङको रुपमा पेन प्याकेज सुरु गरेको हो ।

यो प्याकेज अन्तर्गत हेल्थ पोष्ट लेभलसम्मले उच्च रक्तचाप भएका व्यक्तिको रगत परिक्षण गर्ने तथा मुटु रोगबाट बचाउने कामदेखि लिएर पुरानो किसिमका फोक्सोको रोग, जुन मुटुसित सम्बन्धित हुन्छ, ती सबैको उपचार सेवा, रोगको पहिचान गर्ने सेवाहरु अघि बढाउदै आएको छ ।

यो प्याकेजलाई शाखाले स्वास्थ्य बीमा कार्यक्रमसित जोडेर लगेको छ । वीमा योजना हाल बागलुङ, कैलाली र इलाममा सञ्चालित छ ।

‘स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गतकै यो प्याकेज सञ्चालन गरेको भएपनि कम बजेटका कारण यो प्याकेजलाई हामीले अहिले बागलुङ्ग लैजान सकेनौ’, शाखा प्रमुख लामिछाने भने, ‘पछि कार्यक्रमकोे अवस्था हेरी यस कार्यक्रमलाई अन्य जिल्लाहरुमा विस्तार गर्दै लैजाने छौ’ ।

यस कार्यक्रमलाई आगामी वर्षहरुमा क्रमशः १०-१५ गर्दै पाँच वर्षमा ४० वटा भन्दा बढी जिल्लाहरुमा लागु गरिने शाखाको योजना छ ।

शाखाले नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोग्राम अन्तर्गत पाँच वर्ष भित्रमा स्वास्थ्यको बजेट बढाउँदै नसर्ने रोग निवारणका लागि विभिन्न जिल्लामा यस सम्बन्धी कार्यक्रम गर्दै लग्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment