Comments Add Comment

नेविसंघको विवादः देउवा कार्यकालको पहिलो धब्बा

बहुगुटे कांग्रेसको यस्तो ताल, हुँदैछ अब कांग्रेसको बेहाल

nebisang1आधुनिक मानव सभ्यतालाई गिज्याउने हुम्लातिरको बहुपति प्रथा एकादेशको कथाझैं भैसक्दा देशमा आफूलाई मात्रै लोकतन्त्रको एकल मसिहा ठान्ने कांग्रेस बहुगुटको ताण्डव प्रदर्शनमा कीर्तिमानका गाथा थपिरहेको छ ।

बहुगुटे कांग्रेसको आफ्नै ताल छ । जता हेर्‍यो उतै विवादै विवाद, यही नै हो यसको ताजा हाल । दुई सातासम्म पार्टी कोटाका मन्त्री चयन गरेर मन्त्रिमण्डललाई पूर्णता दिन नसक्नु र आफनो छात्र संघ नेविसंघको नवौं महाधिवेशन उद्घाटनको साता बित्दासम्म बन्द सत्र सुरु गर्न नसक्नु यसका काफी उदाहरण हुन् ।

अधिवेशन उदघाटनको छैठौं दिन आइतवार आफ्नै केन्द्रीय कार्यालय प्राङगणमा दर्जनौं विद्यार्थी प्रहरीको लाठीबाट निर्घात पिटिनु र त्यसमा किशोर चौधरी जस्ता निर्दोष पत्रकार घुन पिसिएझैं घायल बन्नु कांग्रेसको आफैंलाई लोकतान्त्रिक मठाधीश ठान्ने दावाको गिल्ला हो ।

स्वघोषित प्रजातान्त्रिक संस्कारको स्खलन र समाजवादी वैचारिक  मुखुण्डोको उदांगो रुप हो । अनि भीडतन्त्रमा रुपान्तरित भैसकेको दलको र विध्ाार्थी संघको उच्चतम नमूना पनि हो यो प्रकरण ।

महाधिवेशन छात्र संघको अनि नांगो रस्साकस्सी । देखाउनेलाई भन्दा हेर्नेलाई लाज भनेको यही हो । भाले भीडन्त कांग्रेसका गुट, उपगुट र महागुटहरुको । अनि ती छात्र गुटहरुलाई प्रत्यक्ष नेतृत्व सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलाहरुकै हुनु भनेको यो नेविसंघको महाधिवेशन कांग्रेसकै मिनी महाधिवेशनको प्रतीक हो । र, यो पार्टीकै मिनी महाधिवेशन यदि हो भने यो पार्टी अस्ति भर्खर फागुन सप्तान्तको १३ औं महाधिवेशनको सफलतापछि संस्थागत पार्टी हैन, नेतागत, गुटगत र फुटपरस्त हुदै, झागिँदै गएको कांगे्रसको सोलो डोलो स्पष्ट थप उदाहरण पनि  हो ।

अहा ! विद्यार्थीको महाधिवेशनमा कुनै मुद्दा छैन । कुनै पनि शिक्षा सरोकारका मुद्दाहरु छैनन्, किन ? के नेपालको शिक्षामा कुनै समस्या नै छैन ? अनि नेविसंघले कुनै बहस नै गनुपर्दैन महाधिवेशनजस्तो पवित्र कुम्भ मेलामा ?

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्ने योभन्दा उपल्लो स्तरको टीठलाग्दो नमूना के पेश गर्न सक्छ र कांग्रेसी छात्र संघ नेविसंघले ? यस अर्थमा यो महाधिवेशनमा कुरीकुरी गर्नुबाहेक केही अपेक्षा कसैले राख्नु भनेको गोरु ब्याउने अपेक्षाजस्तै अप्राकृतिक र असान्दर्भिक हुनेमा शायद कसैको बिमति नहोला कम्तिमा अब ।

संघर्षपूर्ण जुझारु इतिहासको ब्याजमा वर्तमानको लथालिङ्ग दादागिरी र मनपरी नेविसंघमा सदर हुँदै जाने र माउ पार्टी कांग्रेस त्यसको अनुमोदन गर्दै संरक्षक बन्ने जुन शैली, संस्कार र व्यवहार योपटक पनि पुनरावृत्त भएको छ, यो भनेको कांग्रेस कहिल्यै नसुसध्रने कुकुरको पुच्छर प्रवृत्तिको पर्याय हो भन्ने पछिल्लो पुष्टि हो । यसरी एउटा दल सधै गुटहरुको क्लबमा साघुरिँदै जाँदा ऊ राष्ट्रको बहुआयामिक चुनौतिको निडर लिडर बन्न सक्दैन भन्ने यो पुष्टयाइँ पनि हो ।

नेविसंघको जारी महाधिवेशन इतिहासको रक्षा हुन त सकेन, सकेन, भविष्यका लागि पनि बिरुप नजिर बन्यो । यही हो शरम र विफलताको पराकाष्ठ । यसबाट अब टीका लाएर वा मतदानको नाट्य प्रदर्शनबाट छानिने नयाँ नेतृत्व समग्र प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको हैन, एक खासगुटे कांग्रेसको पल्लाभारी शिवाय केही हुनेछैन भन्ने प्रमाण बनिसकेको छ सातासम्मको बन्दसत्र विवादको खुल्ला तमाशा ।

खाँटी कांग्रेसजनले निधार खुम्च्याएर चिन्ता हैन, चिन्तन गर्नुपर्ने चुरो कुरो यहीँनेर छ । एउटा विद्यार्थी अब नेविसंघ मात्रै हुनै नसक्ने जुन नजिर सुरु भो, यही हो नेविसंघको आरालो लागेको हरिणको चालको ताजा परिचय

नौ वर्षमा बल्ल उदघाटित महाधिवेशनको यो हदसम्मको बेथितिपूर्ण चरम विवादमा सम्पूर्ण दोष उही माउ पार्टीको हो । किनभने नेविसंघको महाधिवेशन आयोजक नै माउपार्टी हुने बडो महान विचित्र परम्परा रहेछ । पार्टीले डा. प्रकाशशरण महतको नेतृत्वमा गठन गरेको महाधिवेशन निर्देशक समितिको पंगु पहिचान र परिचय स्थापित गर्न यहाँभन्दा ज्यादा मेहनेत शायद आवश्यक छैन । यस अर्थमा यो विफलता र विवाद समग्र पार्टीकै हो । किन होइन र ?

निसन्देह कुनै पनि एक जीवन्त संस्थामा र त्यसमाथि पनि तरुण विद्यार्थीहरुको गतिशील संस्थामा विवाद र बहस हुनु अति सामान्य हो । तर, त्यो विश्व स्वीकृत प्रजातान्त्रिक अभ्यासभन्दा निकै माथि देखियो, पोखियो र छरपस्ट भयो । योपटक नेविसंघको आकृतिमा कांग्रेसको गुटैगुटको बहुगुटेे राजनीति देखियो । त्यो प्रतिनिधि चयनको आवरणमा, उदघाटनको विषवमनमा, प्रहरीको लाठीमा, सडकको नारावाजीमा वा जिन्दावाद मूर्दावादसहित सभापतिको घर घेराउमा जसरी छताछुल्ल भएको छ, त्यसले  कांग्रेस आफ्नै भारले थिचिँदै र पुरिँदै गएको प्रमाणित गर्दै छ ।

खाँटी कांग्रेसजनले निधार खुम्च्याएर चिन्ता हैन, चिन्तन गर्नुपर्ने चुरो कुरो यहीँनेर छ । एउटा विद्यार्थी अब नेविसंघ मात्रै हुनै नसक्ने जुन नजिर सुरु भो, यही हो नेविसंघको आरालो लागेको हरिणको चालको ताजा परिचय ।

आफ्नो सभापतित्वको पहिलो इनिङमै भातृसंस्थाहरुको निर्वाचित नेतृत्व चयनमा बाजी मार्न खोज्ने सभापति शेरबहादुर देउवाको असल मनसायमा शंका नगर्दा नगर्दै पनि आफैं पूर्वसभापति रहेको नेविसंघमा यसपटक जुन अकल्पनीय बिग्रह र विवादको तमासे बन्न विवश छन, पार्टी सभापति देउवा, यो उनको कार्यकालको पहिलो धब्बा बनिसक्यो ।

शायद सबक हो, अन्य भातृसंगठनको महाधिवेशनको श्रृंखलाका लागि पनि ।

सूर्य खड्का
सूर्य खड्का

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघको वर्तमान तमासामा पार्टीभित्र सफल प्रमुख प्रतिपक्षको भुमिका त देखाएकै प्रमाणित गरिरहेका छन घटनाक्रमले, तर यसो गर्दा वरिष्ठ नेता पौडेलको पनि लल्लौरो प्रवृत्ति थप खुइलिएको छ । उनले सभापति देउवालाई भातृ संगठनको महाधिवेशन गर्न नसक्ने अक्षम सावित गराउन खोज्दा आफ्नै समूहको सुरुवाल समेत खुस्केको र पार्टीको साख र गरिमा चैट हुँदै गएको भेउ नपाएर जग हसाइँको नायकमा आफ्नो गुटलाई उभ्याएका छन् ।

नेता कृष्ण सिटौलाले उदाउँदो आफ्नो गुट पन्किने मौका बनाए यो नेविसंघ महाधिवेशनलाई । उनले पनि आफ्नो गुटलाई बढाउँदा उनको कद र आयतन खुम्चिएको शायद भेऊ पाइरहेका छैनन् वा भेउ नपाएको अभिनय गर्दा पार्टी र संगठनको तेजोवध गर्न सघाइरहेका छन् । अरु-अरु गुटैगुटको महाभारतले उनीहरुको बजार बढ्या निष्कर्ष भएरै त होला, विवादको आगोमा घिऊ थप्दै गएका छन् ।

यही ताजा धरातलीय यथार्थमा केन्द्रित हुने हो भने सनातनी कांग्रेसले जप्दै आएको लोकतन्त्र यो विवादको ताजा आलोकमा जननायक विपीको लोकभजन मात्रै हो । नेतृत्व चयनको प्रजातान्त्रिक संस्कार  आफ्ना आसेपासे हनुमानहरुलाई तथास्तु गर्न नपाउँदाको प्रसव वेदनाको प्रकटीकरण मात्रै हो ।

खासमा मृत्युपथमा पार्टी, पद्दति र थिति लाग्दा पनि पदलोलुपतामा मरिहत्ते गर्ने यो कांग्रेस चालाले अनि पार्टी र देश कता लैजाला ? यक्ष प्रश्न यही हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment