Comments Add Comment

भोलि सरकारले पूर्णता पाउँछः प्रचण्ड, कांग्रेस अझै अनिर्णित

संसदीय दलको बैठक राखेर देउवा सिंगापुर जाने

Prachanda_2

६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सरकारले पूर्णता पाउने बताएका छन् । तर, सत्ता साझेदार नेपाली कांग्रेसले आन्तरिक विवादका कारण अझैसम्म मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई दिन सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग गरेको भेटका क्रममा मंगलबार सरकारले पूर्णता पाउने बताएका हुन् । तर, कांग्रेस नेताहरु भने बुधबार अगाडि मन्त्री सिफारिसको सम्भावना कम रहेको बताउँछन् ।

सरकार गठन भएको तीन साता पुगिसक्दा पनि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकिरहेको छैन । ९ महिनाका लागि प्रधानमन्त्री बनेका प्रचण्डको कार्यकाल अब ८ महिना एक हप्तामात्रै बाँकी छ । करिब एक महिना हुन लाग्दासम्म सरकारले पूर्णता नपाई अल्मलिएको स्थिति छ ।

तर, नेपाली कांग्रेसभित्रको अलमल र विवादका कारण सरकारले पूर्णता पाउन नसकेको माओवादी नेताहरु बताउँछन् ।

कांग्रेस अझै अनिर्णित

सुरुमा नेविसंघको अधिवेशनका कारण मन्त्रीहरुको नाम दिन नसकेको बताएको कांग्रेसले करिब दुई साता भातृ संगठनको विवादमै आफूलाई अल्मल्यायो ।

नेविसंघको विवाद समाधान हुनासाथ कांग्रेस नेताहरु जिल्ला सभापतिहरुको दुई दिने भेलामा अल्मलिएका छन् । स्थानीय निकायको संरचनाबारे छलफल गर्न आयोजित सभापतिहरुको भेला सोमबार सकिएको छ । स्थानीय निकायबारे छलफलकै क्रममा मंगलबार संसदीय दलको बैठक बोलाइएको छ ।

तर, नेविसंघ र सभापतिहरुको भेलालाई कारण देखाइए पनि कांग्रेसले समयमै मन्त्रीको नाम दिन नसक्नुमा पार्टीभित्रको आन्तरिक विवाद नै मुख्य रहेको नेताहरु बताउँछन् । त्यसमाथि सरकारमा पार्टीको नेतृत्व गरेका उउप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वयंम देशबाहिर छन् ।

उनी भोलि मात्र नेपाल आइपुग्नेछन् । र, बुधबार पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जानु अघि मन्त्री टुंगो लगाउने तयारी छ ।

१३ मन्त्रालय पाएको प्रमुख सत्ता साझेदार कांग्रेसले सरकारमा विमलेन्द्र निधि र रमेश लेखकलाई मात्रै पठाएको छ । परराष्ट्र मन्त्रीमा शेखर कोइरालाको नाम चर्चामा आए पनि देउवाले आरजू राणालाई बनाउन खोजेका थिए ।

तर, माओवादीले आफूले परारष्ट्र मन्त्रालय नपाए डा. शेखरलाई पठाउन भनेको छ । र, विकल्पमा प्रकाशशरण महतको नाम पनि चर्चामा छ ।

उता अर्का नेता अर्जुन नरसिंह केसी स्वास्थ्य र रक्षा मन्त्रालय अस्वीकार गरेर बसेका छन् । उनलाई शिक्षा मन्त्रालय मन्त्रालय दिएर पठाउने तयारी छ । जसका कारण माओवादीबाट मन्त्री बनेका धनीराम पौडेल अहिलेसम्म जिम्मेवारी नपाएर विनाविभागीय मन्त्री बनिरहेका छन् ।

कांग्रेसभित्रका प्रतिपक्षी नेता रामचन्द्र पौडेलले मागेजति मन्त्रालय नपाए संस्थापन पक्षलाई नसघाउने चेतावनी दिइरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवा भने पौडेल समूहलाई ४/५ मन्त्रालय दिने योजनामा छन् ।

एक मन्त्री पाउने भएको कृष्णप्रसाद सिटौला समूहले पनि मन्त्रीको नाम टुंगो लगाएको छैन । यो समूहबाट भीमसेनदास प्रधानको नाम सिफारिस हुने प्रवल सम्भावना छ ।

गच्छदारलाई ‘ट्रेजेडी’, साना दल के गर्लान् ?

प्रधानमन्त्रीले मंगलबार सरकार विस्तार हुने बताए पनि साना दलबाट कोको मन्त्री बन्दैछन् भन्ने टुंगो लागेको छैन ।  माओवादीले विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकलाई दुईवटा मन्त्री दिने वचन दिएको छ । तर, पार्टी अध्यक्ष विजयकमाुर गच्छदारले भने उपप्रधानसहित दुई मन्त्रालय पाउनुपर्ने माग गर्दै आएका छन् ।

उप्रधानममन्त्रीसहितको जिम्मेवारी पाएमा आफैं सरकारमा सहभागी हुने गच्छदारको रुची छ । यही कारणले गर्दा उनको पार्टीले दुई मन्त्री छनोट गर्न सकेको छैन ।

सत्ता साझेदारमध्येको नेकपा संयुक्त र राप्रपाले सरकारमा सहभागिता जनाइसकेको छ । त्यसैगरी एक सीटे दलहरुका तर्फबाट प्रेमबहादुर सिंहले पनि प्रचण्डसँग मन्त्रालय माग गरिरहेका छन् । त्यस्तै परिवार दलका तर्फबाट एकनाथ ढकालले पनि मन्त्री हुने इच्छा देखाएको माओवादी स्रोत बताउँछ ।

सरकारलाई समर्थन गर्ने साना दलहरुलाई दुईवटासम्म मन्त्रालय दिन सकिने कांग्रेस र माओवादीले रणनीति बनाएको एक माओवादी नेताले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment