Comments Add Comment

निर्यात घटेको घट्यै, वर्षदिनमा ७ खर्बको व्यापार घाटा

Trade
११ भदौ, काठमाडौं । मुलुकमा निर्यातजन्य उत्पादन बढ्न नसक्दा नेपालको व्यापार घाटा वर्षेनी चुलिँदै गएको छ । गत आर्थिक वर्ष २०७२/०७३ मा नेपालले बैदेशिक व्यापार ७ खर्ब ३ अर्ब ४८ करोड रुपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार गत आर्थिक वर्षको समष्टिगत आर्थिक सूचकांकहरु समेटिएको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा गत वर्ष कूल व्यापार घाटा २ प्रतिशतले बढेको उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष १७.८ प्रतिशतले घटेर कुल वस्तु निर्यात ७० अर्ब १२ करोडमा सीमित भएको छ । मधेस आन्दोलन र सीमा क्षेत्रमा भएको भारतीय अवारोधका कारण विदेशीसँग व्यापार गर्न कठिन भएको थियो भने मुलुकको उत्पादन पनि बढ्न सकेन । त्यसो त अघिल्लो वर्ष पनि निर्यात ७.३ प्रतिशतले घटेको थियो ।

गत वर्षमा भारततर्फ २९.३ प्रतिशत र चीनतर्फ २४.६ प्रतिशतले गिरावट आएको निर्यात अन्य मुलुकतर्फ भने ६.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा समीक्षा वर्षमा मुख्यतया ऊनी गलैँचा, अलैंची, पश्मिना, तयारी पोशाक, पिना लगायतका वस्तुहरुको निर्यात बढेको छ भने जिङ्क शीट, जि.आई.पाइप, पोलिष्टर यार्न, लत्ताकपडा, जुस लगायतका वस्तुहरूको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, पेट्रोलियम पदार्थको आयात उच्च दरले घटेकोले कुल वस्तु आयात ०.१ प्रतिशतले घटेर ७ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ८.४ प्रतिशतले बढेको थियो । पेट्रोलियम पदार्थ बाहेकको आयात भने ६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, चीनबाट भएको आयात १५.५ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.९ प्रतिशत र १.२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा मुख्यतया यातायातका साधन तथा पार्टपुर्जा, सुन, औषधि, रासायनिक मल, दुरसञ्चारका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, चाँदी, एम.एस.विलेट, सुपारी, कच्चा पाम तेल लगायतका वस्तुहरूको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र सुख्खा वन्दरगाह भन्सारबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

‘आयाततर्फ वीरगञ्ज भन्सार नाकाबाटको आयातमा ठूलो कटौति भएको छ भने वीरगञ्ज सुख्खा बन्दरगाह, भैरहवा, कृष्णनगर र कैलाली भन्सार नाकाबाटको आयातमा उच्च वृद्धि भएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment