+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रिय पुस्तक : ‘आमाको सपना’ को ऐतिहासिक उँचाइ

विप्लव ढकाल विप्लव ढकाल
२०७३ भदौ १८ गते १०:०६

biplab dhakal (2)मेरो प्रिय विधा कुन हो भन्दा मलाई उत्तर दिन सजिलो छ, कविता । किनभने समग्र यात्रा गरेको विधा भएकाले कविता मेरो विश्वास हो । विश्वासको बाटोमा एकदम खुशीसाथ हिँडिरहेको यात्री हुँ म ।

मेरो प्रिय विधा कविता भएकाले प्रिय किताब पनि कविताकै हुन्छ । मैले पढेका किताबहरुमध्ये प्रिय किताब कुन हो भनेर सम्झिँदै जाँदा गोपालप्रसाद रिमालको कवितासंग्रह ‘आमाको सपना’ सर्वाधिक प्रिय पाएँ । नेपाली साहित्यमा सबैभन्दा पहिले गद्य कविता लेख्ने रिमालको किताब हो यो ।

नेपाली कविताको लामो कालयात्रामा यस किताबले एउटा नयाँ बहसको थालनी गरेको छ । गद्य कविता आज पछिल्लो समयको मूलधारमा रहेको विधा हो । हामी त्यही बाटोमा हिँडिरहेका छौं र त्यो बाटोको जग यही किताब हो । पहिलो पाइला कहाँनेर छ भनेर खोज्दै जाने क्रममा हामी रिमालमा पुग्छौं ।

रिमाल नेपाली कविताका अग्रदूत हुन् । आफू हिँडिरहेको बाटोको इतिहासको जग भएकाले यो किताब मलाई मन पर्छ । यस किताबले नेपाली समाजमा, खासगरी नेपाली कविता लेखनको संस्कृतिमा एउटा मूल्यलाई स्थापित गरेको छ । अर्थात् सरलता नै शक्ति हो । जटिल बन्नु सरल छ, तर सरल बन्नु कठिन छ । सरल ढंगले आम जनताको भाषामा आफ्नो समयसँग शक्तिशालि संवाद गर्ने किताब हो ‘आमाको सपना’ । त्यसैले यो किताबप्रति मेरो अन्तरहृदयदेखि नै सम्मान छ ।

रिमालले स्थापना गरेको कविताको मूल्य-मान्यता भूपी शेरचन हुँदै आजसम्मका कविहरुले जुन धागोमा लिएर हिँडिरहेका छन्, आधुनिक नेपाली कविताको मूल बाटो त्यही हो । आज पनि जति कविताहरु चर्चित छन् र पाठकको स्वीकृति प्राप्त गरेका छन्, ती सरल कविताहरु नै हुन् । पाठकको हृदयसम्म संवाद गर्न सक्ने कविताहरु टिकेका छन् । आफ्नो समयसँग संवाद गर्न नसक्ने कविताहरू बिस्तारै किनारा लागेका छन् ।

Viplav Dhakalमलाई यो किताब मन पर्नुको अर्को कारण यसले नेपालीहरुलाई सपना देख्न सिकाएको छ । हामीले देखिरहेको सपनालाई शक्ति प्रदान गर्न र मूल रुपमा सपना देख्न यसले प्रेरित गरेको हो । चेतनाको यात्रामा रहेका हामीले सपना देख्न बिर्सियौं भने हाम्रो यात्रा दिग्भ्रमित हुन्छ । यो किताबले आफ्नो सपना खोज्न र सपनाको गोरेटोलाई पछ्याउन सिकाउँछ । यसका साथै यथास्थिति र जडताको विरुद्धमा संघर्ष गर्न र तमाम निरंकुशताहरूका विरुद्ध लड्न यस किताबले साहस प्रदान गरेको छ ।

सयौं वर्षदेखि छन्दको कठोर पिंजडामा जकडिएको थियो नेपाली कविता । एक किसिमको पद्दतिवादमा हिँडिरहेको थियो । त्यो लामो परम्परालाई पहिलो चोटि ‘आमाको सपना’ ले नयाँ र शक्तिशालि प्रश्न स्थापित गर्‍यो । यसले कवितामा नयाँ र स्वतन्त्र लयको खोजी गर्‍यो ।

हरेक किताबसँग समय जोडिएको हुन्छ । ‘आमाको सपना’ किताब यस्तो समयमा आयो, एकातिर देवकोटाका महाकाव्य र खण्डकाव्यहरुको सगरमाथा निर्माण भइसकेको थियो । अर्कोतिर, बालकृष्ण समका पद्य नाटकहरुको चाङ लागिसकेको थियो । यस्तै, अमूर्त र जटिल किसिमका कविता लेख्ने कविहरूका कारण नेपाली कविता छटपटाउँदै पनि थियो । त्यस्तो समयमा ०१९ सालमा यो किताब आउँदा यसले नेपाली कविताको इतिहासमा सर्वाधिक महत्वपूर्ण मूल्य स्थापित गर्‍यो ।

रिमालले जुन समयमा गद्य कविताको अभ्यास गरे, त्यो समय गद्य कविताको लागि अत्यन्तै प्रतिकूल थियो । समाजले, पाठकहरुले, आफ्ना समकालीन र अग्रज कविहरुले त्यतिबेला गद्य कवितालाई स्वीकार गरेका थिएनन् । तर, पछि सिंगो इतिहासले स्वीकार गर्न बाध्य भयो ।

संग्रहका २८ वटा कवितामध्ये सबै कविता एउटै स्तरका नभए पनि केही कविता यति शक्तिशालि छन्, जसले युग बदल्ने सामर्थ्य राखे । आधुनिक नेपाली कविताको मूल जमिन र जरा ‘आमाको सपना’ कविताकृतिमा गाँसिएको छ । रिमालका कविताले स्थापना गरेको मूल्यलाई बिस्तारै फुलाउँदै, फलाउँदै र हुर्काउँदै नयाँ उँचाइमा पुर्‍याउने काम पछिल्लो पुस्ताका कविहरूले गरिरहेका छन् । त्यसैले हामीले इतिहास, जमिन र जरालाई बिर्सनु हुँदैन ।

गद्य कविता लेखनको आज जुन प्रवाह छ, यो प्रवाहलाई इज्जतसाथ हुर्काउने र बढाउने क्रममा यो किताबको ऐतिहासिक भूमिका रहेको छ । जसरी अंग्रेजी साहित्यमा वाल्ट ह्विटमनको ‘लिभ्स अफ ग्रास (घाँसका पातहरु) का माध्यमबाट गद्य कविताको इतिहास र कालयात्रा व्यवस्थित ढंगबाट प्रारम्भ भएको छ, नेपालीमा पनि रिमालको ‘आमाको सपना’ को भूमिका पनि त्यस्तै छ ।

एसएलसी दिएपछिको खाली समयमा मैले अत्यन्तै धेरै किताब पढेँ । त्यसै क्रममा ०३९ सालतिर पढेको हुँ यो संग्रह । त्यो समय देशमा निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाको छायामुनि नेपाली चेतना थिचिएको थियो । बिस्तारै त्यसको विरुद्धमा जनमत उठिरहेको थियो । विचारको नयाँ कोरियोग्राफी निर्माण भइरहेको थियो । त्यस समयमा यस संग्रहका कविताहरू पढ्दा यसले मलाई कविता लेख्न र कविता विधामा यात्रारत रहन अमिट छाप छोडेको थियो ।

पछिल्लो समय म मूलतः कविताको कोरियोग्राफीबारे सूक्ष्म अध्ययन गर्दै छु । यो मेरो अहिले चलिरहेको विद्यावारिधिको विषय हो । कविताको कोरियोग्राफीको केस स्टडीका लागि मैले सबभन्दा बढी प्रयोग गरेका कविताहरू रिमालका कविता नै हुन् । त्यसैले पनि यी कविताहरूलाई मैले अहिले पनि नजिकबाट हेरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?